अपाङ्गता भएका व्यक्तिलाई रेडियो र सिरक वितरण

अपाङ्गता भएका व्यक्तिलाई रेडियो र सिरक वितरण

लोकसंवाद संवाददाता  |  समाज  |  माघ १९, २०७७

बझाङ । जिल्लाको खप्तडछान्ना गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई रेडियो र सिरक वितरण गरेको छ । 

गाउँपालिकाको कार्यालय घाँटखोलामा आइतबार आयोजित कार्यक्रममा गाउँपालिकाले पालिकाभित्रका ‘क’ वर्गको अपाङ्गता परिचयपत्र पाएका २९ जनालाई प्रतिव्यक्ति एक सेट रेडियो र एक न्यानो सिरक वितरण गरेको हो ।

अपाङ्गता भएका व्यक्तिलाई चिसो मौसममा न्यानो कपडा सिरक र सूचना तथा जानकारीका लागि रेडियो वितरण गरेको थियो । गाउँपालिकाभित्र क, ख, ग, घ वर्गको अपाङ्गता परिचयपत्र पाएका व्यक्ति धेरै भए पनि पहिलो चरणमा शाररीरिकरुपले अशक्त गाउँपालिकाभित्रका ‘क’ वर्गका सबै अपाङ्गता भएकालाई सानो राहत दिएको गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले बताउनुभयो । 

वार्षिक नीति तथा कार्यक्रममा असहाय, गरिब, अशक्तलाई विभिन्न चरणका सहयोग गर्ने कार्यक्रमअन्तर्गत रेडियो र सिरक वितरण गरेको उहाँले बताउनुभयो । 

पालिकाले यसअघि पनि ज्येष्ठ नागरिकलाई चिसोयाममा सिरकसमेत वितरण गरेको थियो भने अपाङ्गता भएका व्यक्तिलाई सीपमूलक तालीमसमेत दिएको थियो । 

गाउँपालिकाले सिरक र रेडियो दिएपछि रेडियो सुनेर ज्ञानविज्ञानका कुरा तथा सूचना समाचार सुन्नेर दिन काट्न सजिलो हुने र सिरकले पनि चिसोयाममा राहत मिलेको खप्तडछान्ना–६ का वीरबहादुर खड्काले बताउनुभयो । उहाँजस्तै अन्य सामग्री पाएका व्यक्ति पनि गाउँपालिकाले दिएको सहयोगप्रति खुशी भएका छन् । अपाङ्गता भएका व्यक्तिको राहत सामग्रीका साथै क्षमता विकास, आयआर्जन र संस्थागत विकासका लागि पालिकाले काम गरिरहेको कर्मचारीले बताएका छन् ।

दुई सयको हाराहारीमा अपाङ्गता भएका व्यक्ति रहेको खप्तडछान्ना गाउँपालिकामा अपाङ्गता सञ्जालसमेत गठन गरी उहाँहरुको हकहित र क्षमता विकासका कामसमेत भइरहेको वडा नम्बर ७ का अध्यक्ष रामबहादुर सिंहले बताउनुभयो ।