‘कञ्चनजङ्घाको पानी, हाम्रो आम्दानी’ भन्ने नारासहित गाउँपालिकाले खानेपानी उद्योग स्थापना गर्ने

‘कञ्चनजङ्घाको पानी, हाम्रो आम्दानी’ भन्ने नारासहित गाउँपालिकाले खानेपानी उद्योग स्थापना गर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १९, २०७७

ताप्लेजुङ । स्वच्छ खानेपानीको निर्यात गरी आय वृद्धि गर्ने उद्देश्यले ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले खानेपानी उद्योग स्थापना गर्ने भएको छ । 

‘कञ्चनजङ्घाको पानी, हाम्रो आम्दानी’ भन्ने नारासहित सो उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन शुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सो कार्यका लागि तीन सदस्यीय विषय विज्ञ सम्मिलित समिति गठन गरेको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिनुभयो । 

डाक्टर विनोद लेखकको संयोजकत्वमा गठित समितिले आगामी फागुन १७ गतेभित्र नै प्रारम्भिक योजना दिने र सोहीअनुरुप अघि बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । उहाँका अनुसार कञ्चनजङ्घा हिमाल क्षेत्रबाट बहने पानीलाई सदुपयोग गरिने छ । यो कार्यक्रमले कञ्चनजङ्घा हिमाल उद्गमस्थल भएर बग्ने काबेली खोलाको मुहानलगायत स्थानीय पानीका स्रोतको संरक्षण, सदुपयोग र आम्दानीसमेत बढ्ने गाउँपालिकाको विश्वास छ । 

'गाउँपालिकाभित्र पर्ने कञ्चनजङ्घा हिमाल, उक्त हिमाललाई उद्गमस्थल बनाएर बग्ने पानीलगायत यहाँका प्राकृतिक सम्पत्तिको संरक्षण र सदुपयोगका लागि हामीले विभिन्न नारासहित योजना तथा कार्यक्रम बनाएका छाँै, तीमध्ये स्वच्छ खानेपानीको उद्योग स्थापना गर्ने योजना रोजगारी सिर्जना र आन्तरिक आम्दानीका हिसाबले महत्वपूर्ण भएकाले यसमा हामी लागि परेका छौँ', गाउँपालिकाका अध्यक्ष गुरुङले भन्नुभयो । 

यहाँ उत्पादित पानीलाई अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्ने गुणस्तरको बनाउने गाउँपालिकाको सोच छ । यसले आन्तरिक आम्दानीमा वृद्धि हुने साथै स्थानीयस्तरमा रोजगारको सिर्जना हुने गाउँपालिकाले विश्वास लिएको छ । गाउँपालिकाले समृद्ध अर्थतन्त्र निर्माणका लागि स्थानीयस्तरमा नै सर्वाङ्गीण विकासको आधारशीला तयार गर्न ‘सिरिजङ्घाको गौरव, कञ्चनजङ्घा’ भन्ने मूल नाराका साथ चालु आर्थिक वर्षमा पानी उद्योग स्थापनासहितका दश वटा योजना अघि सारेको र क्रमशः कार्यान्वयनको चरणमा रहेको बताइएको छ । 

गाउँपालिकाभित्रका सीमित स्रोत साधनलाई उपयोग गरी नागरिकका असिमित इच्छा, आकांक्षा पूरा गर्न स्थानीय सरकारलाई चुनौती रहेको भन्दै प्राथमिकता निर्धारणसहित विकासका गतिविधिलाई अघि बढाएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । 'गाउँपालिकामा सीमित स्रोतसाधन छन्, नागरिकका अपेक्षा धेरै छन्, स्थानीय सरकार आएपछि शुरुका केही वर्षहरुमा विकट भूगोलमा छरिएर रहेका बस्तीलाई पूर्वाधारका संरचनामार्फत जोड्न बल ग¥यौँ, यसले आर्थिक र सामाजिक विकासका क्षेत्र ओझेलमा थिए, अहिले ती क्षेत्रलाई सम्बोधन गर्न प्रयासरत छौँ', गुरुङले भन्नुभयो ।