रक्तअल्पताको समस्या न्यूनीकरण गर्न आइरन र फोलिक एसिड खुवाइँदै

रक्तअल्पताको समस्या न्यूनीकरण गर्न आइरन र फोलिक एसिड खुवाइँदै

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  माघ २०, २०७७

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउन शुरु गरेको छ । नगरपालिकाले किशोरीमा देखिने रक्तअल्पताको समस्या न्यूनीकरणका लागि आइरन चक्की र फोलिक एसिड खुवाउन थालेको हो ।

टीकापुर नगरपालिकामा विद्यालय र समुदायमा गरी १० हजार किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाइने भएको छ । विद्यालयस्तरमा आइतबारबाट खुवाउन शुरु भएको छ । 

रक्तअल्पताको समस्या हुने भएकाले नेपाल सरकारको स्वास्थ्य तथा पोषण कार्यक्रमअनुसार कैलाली जिल्लाभरी किशोरीलाई आइरन तथा फोलिक एसिड खुवाइने टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो । 'टीकापुर नगरपालिकाभित्रका सामुदायिक र संस्थागत गरी ७४ विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई आइरन तथा फोलिक एसिड चक्की खुवाउन शुरु भएको छ', संयोजक रावलले भन्नुभयो, 'हप्तामा एक दिन हरेक आइतबार आइरन तथा फोलिक एसिड चक्कीलाई १३ हप्ता अर्थात वैशाख १२ गतेसम्म खुवाउने छौँ ।'
    
सबै किशोरी विद्यालयको पहुँचमा नहुन सक्ने भएकाले समुदायमा रहेका किशोरीलाई समेत खुवाइने छ । चक्की खुवाउन विद्यालय तहमा ७४ जना शिक्षक, शिक्षिकालाई तालीम दिएर परिचालन गरिएको छ । समुदायस्तरका किशोरीका लागि १२० महिला स्वास्थ्य स्वयम्सेविकालाई तालीम दिएर परिचालन गरिएको छ ।

तेह्र हप्तासम्म खुवाइसके पश्चात सोही समयको अन्तरमा आउँदो वर्ष साउन, भदौँ महिनादेखि फेरि १३ हप्ता गरी २६ हप्तासम्म उक्त चक्की खुवाइनेछ  ।  टीकापुरका विद्यालयले आइतबारबाट चक्की खुवाउन शुरु गरेका छन् । 'शुरुमा के औषधि होला जस्तो लागेको थियो, पछि शिक्षकले यसको महत्वबारे भन्नुभयो', किशोरी सङ्गीता धामीले भन्नुभयो, 'मेरो कक्षाका सबै किशोरीले खायौँ । स्वास्थ्यसँग जोडिएको औषधि किन नखाने भनेर खायौँ ।'