निलमकुमार ओझा | दृष्टिकोण | माघ १९, २०७७
ठिकै हो, तर्कको माध्यमबाट कतिपय समस्याको उचित समाधान पहिल्याउन सहायता मिल्छ । भिन्न अनुभव भएका व्यक्ति वा समूहबिच हुने विचार र धारणाको स्वस्थ आदानप्रदानले समस्याग्रस्त विषयवस्तुको विविध कोणबाट विश्लेषण, विवेचना हुने र सर्वोत्तम वैकल्पिक निष्कर्षमा पुग्ने सम्भावना रहन्छ ।
अझ मानिस जस्तो उच्च चेतनशील जीवमा कारण वा तर्कसंगत कार्यको अपेक्षा गर्नु अस्वाभाविक पटक्कै होइन । तर, स्मरणीय के छ भने हाम्रो जस्ता निर्धन एवं संकटग्रस्त मुलुकहरूमा तर्क र कुतर्कका बिच कुनै प्रकारको भेद नै हुँदैन । तर्क र कुतर्क दूध र पानी मिसिए जसरी एक जस्तै भएर दुनियाँलाई छलिरहेका हुन्छन् । अझ सबैजसो सार्वजनिक विषयहरूमा कुतर्ककै हालिमुहाली रहेको हुनाले पूरै समाज ठीक वा बेठीक छुट्याउन नसक्ने, दिग्भ्रमित बन्न पुगेको हुन्छ ।
कुनै विषयवस्तुप्रति आफ्नो धारणा राख्नु राम्रो कुरा हो । सामान्य जनजीवनमा, समाजमा, राज्य वा राजनीति, संविधान वा कानुन, जुनसुकै क्षेत्रमा उत्पन्न हुने विवादमा छलफलका लागि निश्चित आधार आवश्यक हुन्छ । त्यस्ता आधार प्रचलित परम्परा, धर्म, संस्कृति, कानुन आदि हुन सक्छन् । त्यसरी कुनै धरातलमा टेकेर विषय र सन्दर्भको परिधिभित्र रही तथ्यगत तवरले आफ्नो दृष्टिकोण प्रस्तुत गर्नु ‘तर्क’ हो ।
तर्कको व्यवस्थित अभ्यासले सुन्दर र सर्वग्राह्य परिणाम दिन्छ । भलै, पराजित हुने पक्ष निराश नै किन नदेखियोस्, उसको पनि अन्तरमनले निर्णयको सान्दर्भिकतालाई स्वीकार गरिसकेको हुन्छ । तर्क सभ्यताको परिचायक हो भने कुतर्कले असभ्यतालाई मात्र उजागर गर्दैन, त्यस्तो कुतर्ककर्तामा निहित कुनियत, दुर्भावना एवं पाखण्डीपनले उसको पहुँचसम्मको समाजलाई संक्रमित गराइदिन्छ ।
आफूलाई सभ्य बताउँदा गर्व गर्ने मनुष्यले असभ्यताको जड कुतर्कको सहारा लिएर क्षणिक आनन्द उठाउन त सक्ला तर दीर्घकालमा उसको त्यही कुतर्क गर्ने कार्य स्वभावमा परिणत भई दीर्घरोगको रूपमा विकसित हुन जाने र फलतः उक्त व्यक्ति बौद्धिक अपांग बनेर समाज र राष्ट्रलाई नै क्षति पु¥याउन सक्छ ।
पिछडिएको समाजमा तर्क र कुतर्क एक जस्तै देखिने हुनाले साधारण मानिसहरू भ्रमित हुन्छन् ।
‘किन लेन मिचेको ?’
‘हस्पिटल जान हतार थियो ।’
यो संवादमा प्रश्न नै आवश्यक छैन । अनावश्यक प्रश्न गरिएको हुनाले गलत कार्यको बचाउका लागि कुतर्क प्रस्तुत गरियो । उक्त प्रश्नको ठाउँमा ‘तपाईंले ट्राफिक नियम उल्लंघन गर्नुभएको छ, तपाईंको कागजपत्र दिनुहोस् । सम्बन्धित ठाउँमा गएर जरिमाना तिर्नुहोस्’ भनेको भए त्यो विषयमा कुतर्कको स्थान रहँदैनथ्यो । लेन मिच्न नपाउने कानुनी प्रावधानको खिल्ली उडाएबापत कुतर्कको सहाराले मुक्ति प्राप्त गर्ने प्रयासै हुँदैनथ्यो । जो ध्रुव सत्य कुरा हो, त्यस विषयमा छलफल वा वहस गर्नु कुतर्कको सुरुवात गर्नु हो ।
त्यसैगरी ‘किन प्रतिनिधिसभा विघटन गर्नुभयो ?’ भन्ने उचित प्रश्नको जवाफमा प्रधानमन्त्रीले ‘यताको छिद्रबाट हेर्नुस् या उताको प्वालबाट, कालो छर्लङ्ग देखिहाल्नुहुन्छ । मैले असंवैधानिक काम गरेको छैन’ भनेर प्रस्तुत गरेको कुतर्कको सट्टा ‘के संवैधानिक ? यो संविधानले के लछारपाटो लायो ? म दुई तिहाइ मत प्राप्त प्रधानमन्त्रीले विगत तीन वर्षमा के नापेँ ? संघीयताले तोरीलाउरे नेता उत्पादन गर्ने कामबाहेक के गर्यो ?
धर्मनिरपेक्षताले धार्मिक सहिष्णुता खल्बल्याउने र धार्मिक विखण्डन ल्याउनुका अलावा के खालो सार्यो ? सल्लाह गरेँ । यो विधि, पद्धति नै ठीक छैन भन्ने लाग्यो, हान्दिएँ । यो मैले गरेको संवैधानिक ‘कू' नै हो’ भनेको भए त्यो ‘तर्क’ हुने थियो । परिणाम जे भए पनि उनको उचाइ तन्किन्थ्यो । उनी काँतर, पछाडिबाट आक्रमण गर्ने कपटी, देश र जनतालाई झुक्याउन पाखण्डी कुरा गर्ने दुर्बल नेताको रूपमा नभई एक प्रष्ट, साहसी एवं सभ्य नेताको रूपमा इतिहासमा जीवित रहन्थे ।
तर विडम्बना, नेपाली जनमानसमा मात्र नभएर जगतभर आफूले विधिको शासनको खिल्ली उडाएको संदेश प्रवाह गर्न कुतर्कको सहारा लिई नेपाली जनताको आशा, भरोसा र विश्वासमाथि खेलबाड गरेको आरोपको ढाकर बोक्न उनको भाग्यमा लेखेको रहेछ ।
हामी तर्क र कुतर्कको कुरा गर्दै छौँ । हुनत आफूले भनेको, बोलेको तर्क, अरूको, आफ्ना विचारविरोधीको कुतर्क भन्ने अर्थ लाग्न सक्ला । ‘त्यो राजनीतिक कदम हो, प्रधानमन्त्रीले गर्न किन सक्दैन ?’ त्यस्तै, ‘विघटन शब्द त संविधानमा छ त !’ अर्को बोल्छ, ‘लोकतान्त्रिक परम्पराको ज्ञान छैन ?’ यसरी व्यक्त गरिने विचारहरू ताला खोल्न खोज्नतिर लाग्नुभन्दा ‘ढोका बन्द छ ? झ्याल फोरेर पसौँ न त ! ’ वा ‘मलाई उनको उखान मनपर्छ, उनले जे गरे, ठीक गरे !’ यस्ता भयंकर कुतर्कको श्रीगणेश स्वयं देशको अगुवाबाट भएपछि जनताको निराशाको सूचकांकमा गगनचुम्बी वृद्धि हुनुलाई अनौठो मान्नुहुँदैन ।
अझ तर्क र प्रमाणका व्याख्याता पूर्वसम्माननीयहरूले ‘फलानालाई फलानो थोक गर्ने अधिकार फलाना कानुनले दिएको छैन, त्यसैले अदालतले फलानो फैसला गर्नुपर्छ’ भनेर मपाइँत्व प्रकट गर्ने क्रममा सम्मानित न्यायिक निकायको क्षमता र इज्जतको दोहोलो काड्न सडकमा घुँडा टेकेर चर्को स्वर गरेको कुरा सही या गलत जे भए तापनि त्यो कुतर्क हो । किनभने तर्क भनेको त उचित विषयवस्तुमाथि उचित समय र उचित स्थानमा आफ्नो उचित अधिकारको प्रयोग गरेर व्यक्त गरिने विचार हो ।
‘म न्यायाधीश, तिमीहरूको मुद्दा ठाउँको ठाउँ मिलाइदिन्छु’ भन्दै सडक पेटीमा कम्मर कसेर मिलाएको मुद्दा वैध हुँदैन । यसर्थ कुनै पनि विचार स्थापित विधि र प्रक्रिया मिचेर व्यक्त गरिन्छ भने, स्थान एवं समयानुकुल छैन भने, त्यो कुतर्क हो । कुतर्कको खेती गर्नेहरूको मनसाय शुद्ध हुँदैन, तथापि, सामाजिक मनोविज्ञानमा न्याय प्रणालीप्रति पर्न जाने दुष्प्रभावको ख्यालै नगरी पूर्वन्यायमूर्तिहरूलाई सामान्य कुतर्क पस्केबापत कठघारामा उभ्याउनु कुतर्कका विरुद्ध कुतर्कपूर्ण आत्मघाती प्रत्याक्रमण हो भन्ने कुरामा कुनै संदेह छैन ।
यदि जिम्मेवार व्यक्तिहरू नै कुतर्कको खेती गर्नेहरू रहेछन् भने तिनको पदचाप पछ्याउने समाजका सामान्य व्यक्तिहरूलाई पथभ्रष्ट बन्न मार्ग प्रशस्त हुन्छ, जसले सामाजिक भ्रष्टीकरणको पृष्ठपोषण गर्छ ।
तर्क र कुतर्कको भिन्नता छुट्याउन सरल नभए तापनि ‘साह्रै पिसाब लाग्यो, त्यसैले गरिदिएँ’ भन्ने कुतर्क दिएर छिमेकीको घरको भित्तो मुत्नु, ‘हामी बलिया छौँ, हामीलाई अपार जनसमर्थन छ, हेर’ भनेर दूरदराजबाट रातारात भेडाबाख्राझैँ मोटरमा कोचेर मासुभात खान र थोरै ज्याला दिने तुच्छ प्रलोभन दिई झिकाइएका गरिब, दुःखी तथा सीमान्तकृत नेपाली जनतालाई नाङ्गै खुट्टा काठमाडौंका साँघुरा गल्लीमा उफार्नु, आफू त्यही पदमा छँदा सिन्को भाँच्न नसकेकाले, ‘म सक्षम छु, गर्छु, फेरि मलाई नै त्यो पद चाहिन्छ’ भनेर बेसरम डुक्रिनु, ‘हामी कम्युनिस्ट, साम्यवादी हौँ’ भन्दै सरकारी संस्थान र उद्योगहरू टाट पल्टाउन र कन्दनी खुस्केको थाहै नपाउने गरी दत्तचित्त भएर निजीकरणलाई गोडमेल गर्न तल्लिन हुनु र ‘हामी प्रजातान्त्रिक पार्टी, पुरानो पार्टी, गर्ने हामीबाहेक कोही छैन’ भनेर फत्फताउने ‘बढी धोती फटाउने’ जो कोही दलका नेताहरू आफ्नो सिद्धान्त, योजना तथा विकासको स्पष्ट खाका जनसमक्ष प्रस्तुत गरेर भोट माग्नुको सट्टा धमिलो पानीमा माछा मार्न धोतीले मुख छोपेर, ‘हामी जिन्दावाद, अरू मूर्दावाद’ भन्दै सडकमा कुर्लिनु आदि जस्ता कुकृत्यहरू मनोगत एवं कार्यगत कुतर्क प्रवृत्तिका द्योतक हुन् ।
कुतर्क प्रवृत्ति वा संस्कार नै बनिसकेको छ । ‘बाबू, संयोगले यो जीवन प्राप्त गर्यौ, हाम्रो तिमीलाई हुर्काउने, पढाउनेलगायत दायित्व हामीले निर्वाह गर्ने प्रयत्न गर्यौँ । अब तिम्रो दायित्व तिमीले बुझ्न कोसिस गर । इमान्दार बन’ भनेर वास्तविक तर्कसहितको शुभेच्छा प्रकट गर्नुपर्नेमा ‘म तेरो बाउ या आमा, तँलाई जन्माउने, हुर्काउने । कति केके गरिनँ मैले तेरालागि ? तैँले मैले भन्या’ मान्नुपर्छ । मलाई पाल्नुपर्छ’ भन्दै गर्जने बाबुआमाले साँच्चै फलानालाई फलानो उद्देश्यपूर्ति हेतु जन्माउँछु भनी कुनै वस्तु क्रय, बिक्रय वा उत्पादन गरेको झैँ योजनावद्ध तवरले आफ्नो स्वार्थानुकूल उपयोग गर्ने मनसायले सृष्टि गरेको एउटा बजारे वस्तु जस्तो गरी एक स्वतन्त्र जीवनको मालिक, छोरा वा छोरीमाथि अनुचित आधिपत्य लाद्न प्रयुक्त उपर्युक्त प्रकारका कुतर्कहरू सामाजिक परम्परा बनिसकेका छन् । यस्ता कुतर्कले व्यक्तिलाई आफ्नो दायित्व निर्वाह गर्न हतोत्साहित मात्र गर्दैन, उसले वास्तविक दायित्वलाई एउटा अर्थहीन बोझका रूपमा जबर्जस्ती ग्रहण गर्नुपरेको महसुस गर्छ । फलस्वरूप पारिवारिक सम्बन्धमा आत्मीयता र विश्वसनीयता कुतर्कको दुश्चक्रमा फँसेर सदाका लागि बिदा हुन्छन् ।
कुतर्कको स्वभाव हैँजाको जस्तै हुन्छ । समयमै नियन्त्रण गरिएन भने सारा गाउँ वा देशलाई नै आफ्नो पकडमा ल्याउन सक्छ । एक कुतर्कको पक्ष र विपक्षमा सयौँ, हजारौँको संख्यामा बहसका लागि मानिसहरू तँछाडमछाड गर्दै, ठेलाठेल गर्दै सहभागी हुन्छन् ।
अहिले प्रतिनिधिसभा विघटनसम्बन्धी धारा ७६ र धारा ८५ का सन्दर्भमा पस्किइएको ताजा कुतर्कले सयौँको संख्यामा परिपक्वहरू, ज्ञाता एवं विद्वान्हरू, अनुभवी एवं कुशल बौद्धिक खेलाडीहरूलगायत अधिकांश नेपाली जनतालाई सजिलै आफूतिर आकर्षित गरी भ्रमित गर्न सफल भएको उदाहरण देखिएकै छ । स्वभाव र स्वरूप तर्कको जस्तै देखिने हुनाले नै हो, त्यो कुतर्कलाई तर्क या कुतर्क, के हो ? भनेर छुट्याउन दिउँसै लालटिन हातमा बोकेका सयौँ कानुन व्यवसायीहरूले महिनौं दिनसम्म सम्मानित अदालतलाई सहयोग गर्ने कार्य निरन्तर जारी छ ।
यसरी त्यत्रा विद्वान्हरू पनि एक–दुई जनाले मात्र दाबी गरेर मान्न, पत्याउन, छुट्याउन नसकिने प्रकृतिको त्यो कुतर्क र तर्कको भेदलाई सर्वसाधारण मानिसले समरूपी देख्नु स्वाभाविक हो । तथापि, यदि हामी बुझ पचाउँदैनौँ भने, आफैँसँग झूटो कुरा गर्दैनौँ या आफैँलाई छल्दैनौँ भने, सेतोलाई सेतै, कालोलाई कालै भन्ने आँट गर्छौं भने अनि मात्र कुतर्क निस्तेज हुन सक्छ ।
कुतर्क मुङ्ग्रे, मुढेबल भएको भुसतिघ्रे हुने हुनाले कुतर्क र तर्कको प्रतिस्पर्धा भयो भने तर्कलाई पनि कुतर्कले मुर्छित, पराजित गरिदिन्छ । त्यसैले कुतर्कसँग लाप्पा खेल्नुभन्दा त्यसलाई सके निमोठ्नु, नसके सतर्कतापूर्वक बेवास्ता गर्नु बुद्धिमानी हुन्छ । किनभने कुतर्कको ज्वालामा तर्कले घीउ वा थप ऊर्जाको काम गर्ने हुँदा बेवास्ता गरिदिएपछि त्यो आफैँ नास भएर हराउँछ ।
यसर्थ चाहे ठूलो होस् या सामान्य, जुनसुकै समस्यामा पनि कुतर्कको घुसपैठ हुन नदिई उचित आधार र कारणसहितका विचारहरू व्यक्त गर्ने र जायज विचारका आधारमा जायज कार्य गर्ने अभ्यासले कुतर्कको माहामारीबाट जोगिन सघाउ पुग्छ ।
गम्भीरतापूर्वक मनन गरौँ, युगले चुनौती दिँदै भनिसक्यो, ‘बोलेर, लेखेर, बकम्फुस्से गफ चुटेर होइन, काम गरेर देखा । हुती छ भने राम्रो काम गरेर देखा, बाबै !’