कार्यान्वयनमा आएन सीमानाका खुलाउने निर्णय

कार्यान्वयनमा आएन सीमानाका खुलाउने निर्णय

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २०, २०७७

कञ्चनपुर । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष चैतदेखि नेपाल–भारत सीमानाकामा गरेको कडाइ सरकारले खुलाउने निर्णय गरे पनि कार्यान्वयनमा आइसकेको छैन । मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिममा रहेका नेपाल–भारतमा सीमानाका खुला गरे पनि यात्रुलाई भने स्थानीय प्रशासनले सहजरुपमा आवागमन गर्न नदिएको गुनासो छ ।

कञ्चनपुरसित जोडिएको गड्डाचौकी नाका र डोकेबजार नाकाबाट भारतमा मजदूरीका लागि जाने नेपालीलाई प्रक्रिया पूरा गरेर जान दिइए पनि यात्रा भने सहज नभएको भनाइ छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सीमानाका निर्वाधरुपमा खुला नरहेको उहाँले जानकारी दिनुभयो ।

'मन्त्रिपरिषद्ले गरेको निर्णयका विषयमा हामीले बोल्न मिल्दैन', उहाँले भन्नुभयो, 'औषधोपचारलगायत अत्यावश्यक कामका लागि हामीले सिफारिस गरेका आधारमा भारत आउने÷जाने भइरहेको छ ।'

उहाँले नाका सञ्चालन भएका विषयमा प्रशासन कार्यालयले सूचनासमेत जारी नगरेको बताउनुभयो । भारत जाने नेपालीलाई भारतीय पक्षबाट पनि यहाँका नाकामा रोकतोक छैन । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले नाका खुलाउने विषयमा भारतीय पक्षसित पनि समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

'मन्त्रिपरिषद्को निर्णयले यहाँ झन् अलमल जस्तो भयो', अध्यक्ष मल्लले भन्नुभयो, 'नेपाली पक्षले मात्रै खुलाएर भएन भारतीय पक्षसित पनि समन्वय गरेर नाका निर्वाधरुपमा सञ्चालन गर्नुपर्छ ।'