नारायणी आयुर्वेद औषधालयमा औषधि अभाव

नारायणी आयुर्वेद औषधालयमा औषधि अभाव

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  माघ २०, २०७७

हेटौँडा । नारायणी आयुर्वेद औषधालयमा औषधिको अभाव भएको छ । पछिल्लो समय रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेदिक औषधि अत्यन्त उपयोगी मानिएको छ । साथै यसको उपचार गराउने बिरामीका सङ्ख्या वृद्धि भए पनि औषधि अभावले स्वास्थ्य सेवा  प्रभावित हुन पुगेको छ ।

औषधालयमा उपचार तथा परामर्श लिनेका सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । आवश्यकता अनुसार सेवाग्राहीलाई औषधि उपलब्ध गराउन नसकिएको औषधालयका प्रमुख डा सृष्टि श्रेष्ठको जानकारी दिनुभयो । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सो औषधालयमा आवश्यक औषधि, जनशक्ति तथा बजेटको समेत अभाव रहेको  उहाँले बताउनुभयो ।

 कोरोनाको जोखिम हुन नदिन तथा उपचारमा समेत आयुर्वेदिक औषधिको प्रयोगमा सर्वसाधारणको औषधालयप्रति आकर्षण बढेको छ ।  विगतका तुलनामा सेवाग्राही बढी आउने गरेका वरिष्ठ आयुर्वेद चिकित्सक श्रेष्ठले जनाकारी दिनुभयो । औषधालयमा चालु आवको साउनदेखि मङ्सिरसम्ममा तीन हजार ७११ जनाले स्वास्थ्योपचार सेवा लिएका छन् भने गत आवको सोही अवधिमा दुई हजार ९९८ ले सेवा लिएका थिए  । कोरोना सङ्क्रमण बढेपछि सात हजार ९९० ले विभिन्न रोगको उपचार गराएका थिए । यसअघि २०७५÷७६ मा करिब सात हजारले उपचार गराएका थिए ।

औषधालयमा बालबालिकादेखि वृद्धवृद्धा उपचारका लागि आउने गरेका छन् । अहिले दैनिक ६० भन्दा बढी व्यक्ति उपचार सेवा लिन आउने गरेका प्रमुख श्रेष्ठले बताउनुभयो । औषधालयले निःशुल्करूपमा ज्येष्ठ नागरिक, स्तनपायी , गाउँघर क्लिनिक  र निःशुल्क औषधि लगायत स्वास्थ्य समस्या निराधार कार्यक्रम सञ्चालन गरिरहेको छ ।  

बहिरङ्ग , फिजियोथेरापी , शिरोधार, पञ्चकर्म  र योग  पनि निःशुल्करूपमा औषधालयमा सञ्चालित छ । योगाभ्यास सेवा बिहान दैनिक शुरु गरे पनि  सेवा लिने न्यून रहेको संलग्न चिकित्सक बताउनुहुन्छ । चालु आवमा औषधालयको कार्यालय सञ्चालनलयायत औषधि खरिदका लागि रु २३ लाख रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “औषधि खरिदको बजेट कम छ, पु¥याउनमा समस्या रहेको छ । ” यसैगरी सो औषधालयबाट कोरोना सङ्क्रमण तथा उपचार परामर्श र शारीरिक क्षमता वृद्धिका लागि आयुर्वेद विभागले पठाएको निर्देशनअनुसार काम भएको छ । क्वारेन्टिनमा उपचार र परामर्श सेवा, शङ्कास्पद बिरामीलाई अश्वगङ्धाचूर्ण, गुर्जेचूर्ण, मधुचूर्ण र चिथोप्लाजीचूर्ण औषधि र आवश्यक परामर्श समेत दिइएको छ । 

विसं २०३४ बाट मकवानपुर जिल्लाको हेटौँडामा सञ्चालनमा रहेको औषधालय विसं २०३८ मा आफ्नै भवन निर्माण गरी हेटौँडा–२ मा व्यवस्थितरूपमा सञ्चालनमा रहेको छ । यसअघि पर्साको रानीगञ्जमा औषधालय सञ्चालनमा थियो । पछि विसं २०३४ मा हेटौँडामा सारिएको थियो । हाल औषधालय वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको छ । औषधालयअन्तर्गत हेटौँडा उपमहानगरपालिका र राक्सिराग गाउँपालिकामा आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ । हेटाँैडाको हटिया र चुरियामाई तथा राक्सिरागको काकंडामा आयुर्वेद औषधालय रहेको  बताइएको छ । त्यहाँ पनि औषधि समस्या रहेको छ ।