पत्रकार महासङ्घ हुम्लाको साधारणसभा सम्पन्न

पत्रकार महासङ्घ हुम्लाको साधारणसभा सम्पन्न

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २१, २०७७

हुम्ला । नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाको पाँचौँ साधारणसभा मङ्गलबार सम्पन्न भएको छ । शाखाका वरिष्ठ उपाध्यक्ष मधु बस्नेत शाहीका अध्यक्षतामा भएको सो साधारणसभामा महासङ्घका केन्द्रीय सचिव लक्ष्मी पुन र सामानुपातिक उपाध्यक्ष मिमसिंह नेपालीको उपस्थिति थियो । जयबहादुर रोकायाले हुम्ला शाखाको स्थापना गर्नुभएको थियो ।

सो अवसरमा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले पत्रकारले सहीरूपमा कलम चलाउन नसके झन् विकृति मौलाउने बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकार कसैको पनि पक्षमा नभई सत्य, तथ्य र निष्पक्ष भएर कलम चलाउनुपर्छ । समाजमा ऐनाजस्तो पारदर्शी भएर रहन सक्नुपर्छ ।”

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले समाज परिवर्तनका संवाहक पत्रकार भएका कारण जिम्मेवारीअनुसार कलम चनाउनुपर्ने बताउनुभयो । महासङ्घ सचिव पुनले पत्रकार आफ्नो पेशाप्रति लगाव र समाजप्रति उत्तरदायी हुनुका साथै कलमप्रति इमान्दर हुनुपर्ने बताउनुभयो । 

सभामा वरिष्ठ उपाध्यक्ष शाहीले साङ्गठनिक प्रतिवेदन र  कोषाध्यक्ष सुरेश परियारले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सभाले आफ्नो भवन निर्माणका लागि जग्गा खरिदको पहल गर्ने निर्णय गरेको छ ।