स्वामी विवेकानन्दको १५९ औँ जन्मजयन्ती मनाइँदै

स्वामी विवेकानन्दको १५९ औँ जन्मजयन्ती मनाइँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २२, २०७७

काठमाडौँ । समुद्रपारि जाने पहिलो सन्यासी स्वामी विवेकानन्दको १५९ औँ जन्मजयन्ती आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

प्रत्येक वर्ष माघकृष्ण सप्तमीका दिन स्वामी विवेकानन्द जयन्ती मनाइन्छ । सन् १८६३ जनवरी १२ तारिख अर्थात् माघ कृष्ण सप्तमीका दिन उहाँको जन्म भएको थियो । वैदिक सनातन धर्मलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्ने आद्य शङ्कराचार्यपछि विवेकानन्द नै पहिलो व्यक्ति बन्नुभएको रामकृष्ण आश्रम नेपालका अध्यक्ष स्वामी एकार्थनन्द पुरी बताउनुहुन्छ । 
 
सन् १८९३ मा अमेरिकामा भएको विश्व धर्म महासभामा भाग लिन कुनै संस्थाको प्रतिनिधि हुनुपर्ने व्यवस्था थियो । कुनै संस्थाको प्रतिनिधि विना अमेरिका पुग्नुभएका विवेकानन्दले विश्वकोशको उपनामले परिचित हार्वर्ड विश्वविद्यालयका प्रा हेनरी राइटलाई भेट्नुभयो । पहिलो भेटमै राइट विवेकानन्दको विद्वत्ताबाट प्रभावित हुनुभयो । 

राइटले विवेकानन्दलाई विश्व धर्म महासभाको प्रतिनिधि बन्न अनुरोध गर्नुभयो । विवेकानन्दसँग परिचय माग्नु भनेको सूर्यलाई उदाउने अधिकार कसले दियो भनी सोध्नुजस्तै हुने राइटको भनाइ थियो । राइटले महासभाका प्रमुख मानिसलाई पत्र लेखी हाम्रा देशका सबै विद्वान्लाई एकैतिर राख्दा पनि विवेकान्दको विद्वत्ता भारी हुने पत्र महासभाका प्रमुखलाई लेखेपछि उहाँले भाग लिन पाउनुभएको थियो । 

विवेकानन्दले सन् १८९३ सेप्टेम्बर ११ तारिखमा पहिलो दिनको महासभालाई सम्बोधन गर्नुभयो । त्यसैबाट विश्वभरबाट जम्मा भएका करिब सात हजार मानिस विवेकानन्दसँग आकर्षित भए । विवेकानन्दले त्यसबेला ‘सिस्टर्स एण्ड ब्रदर्स’ शब्दको उच्चारण गर्ने बित्तिकै दुईदेखि तीन मिनेटसम्म ताली गुञ्जायमान भएको थियो । 

उहाँले “हामी सहिष्णुताका कुरामात्र गदैनौँ, विश्वका सबै धर्मलाई साँचो भनी स्वीकार गछौँ, म यस्तो धर्मको अनुयायी हुनुमा गर्व गर्छु जसले धेरै धर्मका शरणार्थीलाई भारतवर्षले शरण दिएको छ, त्यो सबै धर्मको जननी हो” भन्नुभयो । यसै प्रवचनबाट उहाँको ख्याति विश्वव्यापीरुपमा फैलिएको थियो । उहाँले वैदिक सनातन धर्मलाई विश्वव्यापीरुपमा फैल्याउन पु¥याउनुभएको योगदानको स्मरण गर्दै भारतवर्षका विभिन्न स्थानलगायत विश्वभर नै स्वामी विवेकानन्द जयन्ती मनाइँदै छ ।

स्वामी विवेकानन्दका गुरु रामकृष्णको नामबाट नेपालमा विसं २०६८ मा स्थापना भएको रामकृष्ण आश्रम नेपालले आज ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा प्रवचन एवं उहाँको योगदानका विषयमा चर्चा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।