भूपदास राजभण्डारी : जुटमिलकाे कामदारदेखि अन्तर्राष्ट्रिय परामर्शदातासम्म

भूपदास राजभण्डारी : जुटमिलकाे कामदारदेखि अन्तर्राष्ट्रिय परामर्शदातासम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  माघ २३, २०७७

मूलतः एउटा किसान परिवारको सामान्य मानिस आफ्नो लगन, मेहनत र जुझारुपनले बनेको नाम हो भूपदास राजभण्डारी ।  ऐंसेलुखर्कको सामान्य स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेर एसियाकै उत्कृष्ट शैक्षिक स्थल मानिने एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)मा छात्रवृत्ति प्राप्त गरी विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गर्दै उहाँले आफ्नो योग्यताको परिचय दिनुभएको छ । 

कुनै पनि परिचय र व्यक्तित्व सजिलै निर्माण हुँदैनन् र त्यसका लागि लगन, धैर्य र मेहनत पनि उत्तिकै आवश्यक पर्छ भन्ने ज्वलन्त उदाहरण हो यो आलेख । 

पारिवारिक अवस्था 

पहिले उहाँको गाविस सोलुखुम्बुमा पर्दथ्यो । पछि २०३२ सालमा भने उहाँको गाविस खोटाङ जिल्लामा पर्न गयो । उहाँको गाविस भने ऐंसेलुखर्क ।  उहाँको आमाबुवा मूलतः किसान नै हो । आफ्नो उत्पादनले आफूलाई खान भने पुग्ने । यस अर्थमा उहाँ आफ्नो परिवारलाई मध्यम खालको परिवार भन्न रुचाउनुहुन्छ । 

जन्म र बाल्यकाल 

उहाँको जन्म २०१२ सालमा भएको हो । नागरिकतामा भने केही फरक छ । उहाँको ठुलो परिवार । एक दर्जन सदस्य । नौ जना छोरा । अनि तीन जना छोरी । त्यसमध्ये उहाँ काइँलो  सन्तन । 

सामान्यतः गाउँले परिवेशमा केटाकेटीको बित्ने जस्तै रह्यो उहाँको बचपन पनि । बिहान उठ्यो, घरको आवश्यकता हेरी घाँस, दाउरा लेरायो । अनि खाना खायो त्यसपछि स्कुल । 
अनि स्कुलबाट फर्क्यो । फर्केपछि खेतबारी तिर केही काम छ भने गर्‍यो । नभए पत्कर, स्याउला अनि गाईबस्तु गोठाला, घाँस दाउरा ।  फेरी फुर्सदमा साथीभाइसँग डन्डी बियो, गेम ढलाई अनि एउटा रुखबाट अर्को रुखमा हाम फाल्दै खेल्ने यस्तै खेल खेल्दै बित्यो उहाँको बाल्यकाल । 

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा त्रिभुवन पब्लिक हाइस्कुल ऐंसेलुखर्कमा भएको हो । हाइस्कुल र प्राथमिक स्कुलको भवन बेग्लै थियो । प्राथमिक स्कुलमा पनि बस्नलाई बेन्चहरू थिए । तर, घाम लागेको बेला भने बाहिर चउरमा बसेर पढेको सम्झना छ उहाँलाई । 

स्कुल पढ्दाको एउटा घटना उहाँ अझै पनि सम्झनुहुन्छ । उहाँ दुई कक्षामा हुनुहुन्थ्यो । गाउँघरतिर ठेकी खाली छ भने तातो दूध नै पनि तताएर सिधै ठेकीमा हालिन्छ । तर, ठेकीमा पहिलेकै केही दूध छ भने त्यसमा तातो दूध हालिँदैन । त्यसलाई केही समय ढुग्रोंमा हालेर सेलाइन्छ । अनि त्यसो हुँदा तर माथि आउँछ । 

एक दिन त्यसरी राखेको दूधको तर उहाँले झिकेर खाएको आमाले देख्नुभयो । अनि आमाले पख तँलाई बालाई भन्दिन्छु भनेपछि उहाँ डरले घर नजिकैको जङ्गलमा जानुभयो । र, राति रुखमा चढेर बस्नुभयो । 

घरका मान्छेले बाघले लग्यो वा झाँक्रीले लग्यो कि भनेर खोजे पनि तर, थाहा पाएनन् । अनि भोलिपल्ट स्कुलमा रिजल्ट थियो । उहाँ प्रथम हुनुभयो । बदमासी गरे पनि प्रथम भएका कारण बुवाले केही नगरेको अहिले पनि स्मरण ताजै  छ उहाँको ।

उहाँ दुई कक्षामा हुँदा सम्पूर्ण स्कुलमा प्रथम भएका कारण शैक्षिक सत्रको आधा समय अर्थात् असारमा उहाँलाई तीन कक्षामा लगियो । उहाँ सोही वर्ष तीन कक्षामा समेत प्रथम हुनुभएको उहाँले बताउनुभयो । 

उक्त काम पाँच, छ महिनाको हो । तर, उहाँले उक्त काम एक महिनामा नै सकेर रिपोट तयार गरेर दिनुभयो । त्यसपछि उहाँलाई नियमित काम गर्नका लागि अनुरोध गरियो । र, 'सस्टेनेबल एग्रीकल्चर नेचुरल सोसल म्यानेजमेन्ट हेड'का रुपमा उहाँले काम गर्न सुरु गर्नुभयो । 

कक्षाकोठा अनि कालोपाटि पनि थिए । चक, डस्टरको पनि व्यवस्था थियो । कक्षामा झन्डै बाह्र पन्ध्र जना विद्यार्थी हुन्थे । त्यसमा महिलाहरू झन्डै चार पाँच जना हुन्थे ।  त्यो सङ्ख्या भनेको पनि त्यस बेला धेरै नै हो, उहाँ भन्नुहुन्छ । फि भने ठ्याक्कै याद नभए पनि एक कक्षामा यस्तै एक रुपैयाँबाट सुरु भएको जस्तो लाग्छ, भन्नुहुन्छ उहाँ । अनि दश कक्षामा भने अलि बढेर बाह्र रुपैयाँ भएजस्तो लाग्छ उहाँलाई ।  स्कुलमा त्यस बेला फुटबल खासै थिएन । भलिबल, रिङ, चेस आदि खेलिन्थ्यो, उहाँ भन्नुहुन्छ । 

उहाँ पढ्नमा राम्रो विद्यार्थी । ऐंसेलुखर्कमा रहँदा उहाँ फस्ट नै हुनुहुन्थ्यो । बस्ने पनि फस्ट बेन्चमा नै हो उहाँ ।  उहाँले एसएलसी भने खोटाङकै बुइपाबाट दिनुभएको हो । २०२८ सालमा । त्यस बेला एसएलसीको मोडल चेन्ज भएको थियो । कस्तो प्रश्न आउँछ भन्नेमा स्वयं शिक्षकहरू नै अनभिज्ञ थिए । विद्यार्थी त झन् अनभिज्ञ नहुने कुरै भएन । प्रश्न एकदमै गाह्रो आएको थियो, उहाँ भन्नुहुन्छ । तर पनि उहाँ पहिलो पटकमा नै पास हुनुभयो ।  त्यो बेलामा पहिलो दिन परीक्षा दिएपछि राजा महेन्द्रको देहान्त भएको थियो । अनि फेरी जुठो बारेर पछि मात्र परीक्षा सञ्चालन भएको थियो, उहाँ भन्नुहुन्छ । 

खराब समय 

एसएलसीसँग जोडिएको उहाँको एउटा अलि अप्रिय स्मरण पनि रहेछ । भएछ के भने दिक्तेल सदरमुकाममा पुलिस प्रशासनले त्यहाँको स्थानीयलाई दबाएका कारण एक प्रकारको आन्दोलन नै भयो । अनि पुलिस प्रशासनले विद्यार्थी तथा युवाहरूलाई पक्रिने गर्न थाल्यो । 

उहाँ त्यस्तो विद्यार्थी त होइन तर, उहाँको बुवाले तँलाई पनि समात्छ भनेर यत्तिकै भनिदिएकोमा त्यो उहाँलाई साँच्चै लाग्यो । अनि उहाँ दिक्तेल छोडेर लाग्नुभयो विराटनगरतिर । 
विराटनगर नै भनेर हिँडेको त होइन तर बाटोमा भेटिएका एक हुल ढाक्रे सहित एक जना अगुवा त्यतै जाँदै रहेछन् । अनि उहाँ पनि लहैलहैमा पुग्नुभयो विराटनगर ।  ती अगुवा विराटनगर जुटिलमा जाँदै रहेछन् काम गर्न । अनि उहाँ पनि त्यतै लाग्नुभयो । करिब दश महिना उहाँ त्यतै मजदुरी गरेर बस्नुभयो । त्यस बेला उहाँहरू चार पाँच जना एउटा झुप्रोमा बस्नुहुन्थ्यो । 

अनि मिलले ज्याला बापत हप्ताको सैँतिस रुपैयाँ तथा छ सेर चामल को एउटा पुर्जी दिन्थ्यो । अनि छ सेर चामलको त्यो पुर्जी तथा दश रुपैयाँ दिएपछि छेउको आशा होटेलले हप्ता भरी दुई छाक मासु सहित खाना खान दिन्थ्यो ।  अनि गर्मीमा सुत्ने ठाउँ थिएन । कहिले जुट ओल्छ्याएर सुत्यो । कहिले खुला आकाशमा पिपलको रुख मुनि । त्यस बेला उहाँले सीमापारिका मान्छेको कुटाइ पनि खानु भएको थियो । अहिले पनि शरीरमा केही खतहरू छन् त्यसका । यो घटनालाई उहाँ जीवनको सबैभन्दा खराब समय मान्नुहुन्छ । 

उहाँ त्यहाँ बस्दा बस्दै एसएलसीको रिजल्ट भएको हो । त्यताको बसाइका कारण पढाइमा उहाँको एक वर्ष नोक्सान समेत भयो ।  उहाँ त्यस बेला विराटनगर जाँदा पहिलो पटक गाडी देखेको हो । अनि उहाँ गाडी चढेर जाँदै हुनुहुन्थ्यो विपरीत दिशातिरबाट अर्को गाडी आयो । अब उहाँलाई लाग्यो यी गाडी जुध्छन् । तर, ती नजुधी आफ्नै गन्तव्यमा लाग्दा उहाँलाई बडो अनौठो समेत लागेको रहेछ । 

विराटनगर बस्दाको अर्को रमाइलो प्रसङ्ग छ उहाँको, उहाँले बाटोमा हात दिएर गाडी रोकेको देख्नु भएको थियो । तर, कसरी रोक्ने भन्ने थाहा थिएन ।  उहाँले बिच बाटोमा उभिएर हात दिएर गाडी रोक्नुभयो । गाडी रोकियो पनि । अनि ड्राइभर तल ओर्लिएर उहाँलाई एक झापड हाने ।  उहाँले सोध्नुभयो, मलाई किन कुटेको ? अनि बिच बाटोमा बसेर यसरी गाडी रोक्दा गाडीले किचेर मान्छे मर्दैन भनेर ड्राइभरले उल्टो हपारे । अनि बाटोको छेउमा बसेर हात दिएर रोक्नुपर्छ भनेर सिकाए पनि, यस्ता अनौठा स्मृति छन् उहाँसँग । 

पढ्न धरान

हुन त बुवा आमाले अब एसएलसी दिएपछि अब जागिर खानुपर्छ भनेर उहाँलाई नभनेको होइन, तर, उहाँ आफूलाई पढ्नुपर्छ भन्ने लागेर धरान आएर आइए भर्ना हुनुभयो । महेन्द्र बहुमुखी क्याम्पसमा । यो २०३० सालको कुरा हो । 

मानविकी र व्यवस्थापनका दुई सङ्काय थियो महेन्द्र बहुमुखी क्याम्पसमा त्यो बेला । उहाँले मानविकी पढ्नु भएको हो । जाँच भने नयाँ शिक्षा अन्तर्गत सेमेस्टर प्रणालीमा लिइन्थ्यो । हरेक छ, छ महिनामा । विद्यार्थी करिब एक, डेढ सय थिए होलान्, उहाँ भन्नुहुन्छ । 

बिएमा पनि करिब एक, डेढ सय नै थिए विद्यार्थी उहाँ भन्नुहुन्छ । तर, सेमेस्टर प्रणालीमा धेरै विद्यार्थी उर्तीण भए भन्ने लागेर हो कि किन हो पछि ‘कम्प्रिहेन्सिभ एक्जाम’ भनेर पनि लिए, उहाँ भन्नुहुन्छ । त्यो भने निकै गाह्रो थियो । सय जना विद्यार्थीमा करिब सातजनामात्र उर्तीण भएजस्तो लाग्छ उहाँलाई । उहाँ ती सातमध्येको एक हुनुहुन्थ्यो । 

काठमाडौँ यात्रा 

खासमा त्यस बेला एसएलसी पास गरेदेखि नै बाबुआमाको चाहना भनेको छोराछोरीले जागिर खाओस् भन्ने नै हुन्थ्यो, उहाँ भन्नुहुन्छ । अनि त्यस बेला त खरिदार, सुब्बा भनेको पनि ठुलै मानिन्थ्यो । आर्शिवाद दिँदा पनि खर्दार, सुब्बा भएस् भनेको उहाँ सम्झनुहुन्छ ।  उहाँको भने जागिर खाने सोच अलि थिएन । त्यस कारण बाबुआमालाई एक प्रकारले भन्नुपर्दा ढाँटेर काठमाडौँ आउनुभएको हो उहाँ । 

अब बिए पास गरिसकेपछि यहाँ जागिर पाइँदैन त्यसैले काठमाडौँ जानुपर्छ जागिर भनेर उहाँ काठमाडौँ आउनुभएको थियो ।  धरानबाट राजधानी एक्सप्रेसको गाडी समातेर काठमाडौँ आउनुभएको हो उहाँ । भाडा भने उहाँलाई त्यति याद रहेन । तर, बाइरोडको बाटो अनि सात घुम्तीको भने सम्झना रहेछ । 

उहाँलाई बसले काठमाडौँको सुनधारा ल्याएर झारिदियो । हुन त उहाँको यो नै पहिलो काठमाडौँ आगमन थियो । तर, पनि धरान सहरमा भिजिसकेको हुनाले काठमाडौँ त्यस्तो विशेष भने लागेन उहाँ भन्नुहुन्छ । 

काठमाडौँ आएपछि उहाँको बसाई डिल्लीबजारमा साथीको डेरामा भयो । साथी उहाँ भन्दा स्कुल तथा कलेजमा एक ब्याच अगाडिको । उहाँ पहिले नै काठमाडौँ आइसक्नु भएको थियो । उहाँको ती घनिष्ठ मित्र अरु कोही नभएर अहिलेका चर्चित व्यापारी तथा भाटभटेनी स्टोरका मालिक मीन बहादुर गुरुङ हुनुहुँदो रहेछ । 

पछि किर्तिपुरमा विश्वविद्यालय पढ्नका लागि प्रवेश परीक्षा दिनुभयो । यो २०३४ सालको कुरा हो । त्यसभन्दा अघि कीर्तिपुर जान भने रत्नपार्कबाट साझा बसमा चढेर गएको सम्झनुहुन्छ उहाँ । भाडाको भने त्यति हेक्का रहेन । पचास पैसा होला, उहाँ भन्नुहुन्छ । 

किर्तिपुरमा नाम निस्केपछि भने उहाँ उतै होस्टेलमा बस्न थाल्नुभयो । खाना साँढे दुई रुपैयाँमा क्याफ्टेरियामा राम्रो पाइन्थ्यो, उहाँ भन्नुहुन्छ ।  पहिलो सेमेष्टर सकिएपछि उहाँ एनडिएस अर्थात् नेशनल डेभलपमेण्ट सर्भिसका लागि एक वर्ष सोलुखुम्बु जानुभयो । त्यस बेला एनडिएस मास्टर्स पढ्ने विद्यार्थीका लागि अनिवार्य थियो उहाँ भन्नुहुन्छ । त्यो बेला यसका लागि भत्ता पनि दिने प्रचलन थियो । 

तर, उहाँ पछिका ब्याचले भने एनडिएस जान नपाउने भयो । शायद ! यो राजनैतिक कारण थियो उहाँ भन्नुहुन्छ । तर, त्यो नेपालको सन्दर्भमा भने निकै राम्रो व्यवस्था थियो, उहाँ भन्नुहुन्छ ।  अनि उहाँ फेरी एनडिएसबाट फर्केर आएर होस्टल नै बस्न थाल्नुभयो । २०३७ सालमा उहाँले विश्वविद्यालयबाट राजनीति शास्त्रमा मास्टर्स सकाउनु भयो । 

जनगणना अधिकृत

मास्टर्स सक्दा नसक्दै त्यस बेला २०३८ सालमा जनगणना तथा कृषि गणनाका लागि अधिकृत माग्यो । उहाँ छनौट भएर एक वर्ष मोरङमा काम गर्नुभयो । अनि लगत्तै भएको कृषि गणनाका लागि रोल्पा पनि जानुभयो । 

त्यस बेला तलब भत्ता सबै गरेर चौध,पन्ध्र सय जति बुझियो होला उहाँ भन्नुहुन्छ । त्यो नै उहाँको पहिलो तलब थियो । त्यो भनेको त्यस बेला राम्रै पैसा मानिन्थ्यो उहाँ भन्नुहुन्छ । पहिलो तलबले के गरियो भन्दा पनि पैसा बचाएर लिएर आइयो उहाँ भन्नुहुन्छ । 

अर्को रमाइलो घटना

उहाँ जनगणना अधिकृत भएर मोरङ जाँदा आफू पहिले दुःख पाएर बसेको विराटनगर जुट मिल पनि जानुभयो उहाँ । सँगै काम गर्ने सोलुतिरका साथीहरू अझै जुटको उही काम गर्दै रहेछन् । साथीहरू उही बोरा ओढेरै र जुटको डल्ला पार्दै बसेको देख्दा भने उहाँको मन अमिलियो । साथीहरूले पहिले त चिनेनन् । 

अनि पछि परिचय दिइसकेपछि भने छक्क पर्दै सँगैको साथी केवल दश वर्षको अन्तरालमा पढेर कहाँ पुगिसक्यो हामी भने उस्ताको उस्तै भने ! तर पनि उहाँको प्रगतिमा साथीहरू खुसी नै थिए । 

उ बेला ती साथीहरूसँग उहाँ जोगबनीतिर सेकेन्ड क्लासको टिकट काटेर फिल्म हेर्न जानुहुँदो रहेछ । अनि अहिले अधिकृत भएपछि भने उहाँले ती साथीहरूलाई बोलाएर बल्कोनीको टिकट काटेर सिनेमा देखाउनुभयो । खाना पनि खुवाउनुभयो । यसलाई उहाँ जीवनको एउटा अविस्मरणीय घटनाको रुपमा लिनुहुन्छ । 

सेडाको जागिर

रोल्पाबाट फर्केपछि उहाँले सेडामा रिसर्च एसिस्टेण्टका रुपमा जागिर सुरु गर्नुभयो । अनि त्यसै बेला विश्वविद्यालयले समाजशास्त्र तथा मानवशास्त्रको नयाँ विषयमा पढाई सुरु गर्‍यो । 

उहाँ फेरी भर्ना हुनुभयो विद्यार्थीका रुपमा र होस्टेलमै बस्न थाल्नुभयो । उहाँले समाजशास्त्र पनि राम्रो अङ्क ल्याएर पास गर्नुभयो । पछि उहाँ नियमित नभए पनि पार्टटाइम असिस्टेन्ट लेक्चररका रुपमा काम गर्न थाल्नुभयो किर्तिपुरमा । 

एआइटी 

उहाँलाई लाग्यो अब एउटा अन्तर्राष्ट्रिय डिग्री पनि लिनुपर्छ । यसै सन्दर्भमा प्रयास गर्दा उहाँले एआइटी बैंकक छात्रवृत्ति प्राप्त गर्नुभयो । त्यसमा आउने जाने हवाइभाडा लगायत अन्य सुविधा पनि समावेश थियो । यो छात्रवृत्ति उहाँलाई फिनल्यान्ड सरकारले दिएको थियो । उहाँले दुई वर्ष 'रुरल डेभलपमेण्ट प्लानिङ' विषय अध्ययन गर्नुभयो एआइटीमा । 

एआइटीलाई एसियाकै उत्कृष्ट शिक्षालयका रुपमा समेत लिइन्छ । र, त्यहाँ भनेको एसियाकै उत्कृष्ट विद्यार्थी भेट हुने स्थल समेत हो । भारत, नेपाल, बङ्गलादेश, भुटान, मालदिभ्स, चीन, श्रीलङ्का लगायतका देशहरूबाट छात्रवृत्तिमा त्यहाँ पढ्न आउने गर्छन् ।  नेपालका पनि एसएलसी देखि आइएस्सीका टपरहरु पढ्ने ठाउँका रुपमा लिइन्छ एआइटीलाई । 

नेपालमा भने शिक्षकहरू कक्षाकोठामा आयो अनि लेक्चर दिएर विद्यार्थीलाई पढाउने परम्परा छ । तर, त्यहाँ भने पढ्नका लागि शिक्षकले केही आउट लाइन दिने र त्यसैका आधारमा विद्यार्थीले आफूले बढी मेहनत गरेर पढ्नु पर्ने हुन्छ । पढ्नलाई लाइब्रेरी अनि प्रयोगशाला तथा खेलका लागि आवश्यक सम्पूर्ण सामाग्री त सामान्य नै भए । 

अनि त्यहाँको विशेषता भनेको कुनै एउटा विषयमा फेल भएमा छात्रवृत्ति खारेज । अनि स्वदेश फर्कनुपर्ने । विद्यार्थीको रिजल्ट उसको पिजन होलमा राखिदिने चलन थियो । अनि फेल हुने विद्यार्थीको पिजन होलमा भने फर्कने हवाई टिकट पनि । त्यसैले सबै विद्यार्थीको तनाव भनेको पिजन होलमा त कतै हवाई टिकट राखिएको छैन भन्ने हुन्थ्यो भन्नुहुन्छ उहाँ । 

उहाँ आइटीको पढाई सकेर सन् १९९० मा नेपाल फर्कनु भएको हो । फर्कँदा उहाँले उतैबाट सीभी पनि बनाएर लिएर आउनु भएको थियो । उहाँलाई एआएटीका लागि सेडाका सिनियर अफिसरहरूले सिफारिस पनि गरिदिनु भएको थियो । काम पनि सेडामा गरेका नाताले फर्कने बित्तिकै उहाँले कामका लागि प्रस्ताव समेत गर्नुभएको थियो । 

अन्तर्राष्ट्रिय संस्थाहरूमा काम

उहाँलाई त्यो बेला अब अन्तर्राष्ट्रिय संस्थामा काम गर्नुपर्छ भन्ने एक किसिमको लोभ जागेको थियो । त्यसैले यहाँ रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा उहाँले सीभी बाँड्ने काम पनि गर्नुभयो । सेभ द चिल्ड्रेन, एक्सन एड लगायतका संस्थामा । सबैले राम्रो प्रतिक्रिया नै दिएका थिए, उहाँ भन्नुहुन्छ । 

उहाँको थेसिस त्यस बेला 'एग्रो फरेष्ट्री'मा थियो । विषय पनि नयाँ र जल्दो बल्दो नै थियो । सेभ द चिल्ड्रेन युएसका त्यस बेलाका डाइरेक्टर किथ लेस्लीले उहाँको थेसिस पढ्न दिनका लागि अनुरोध गर्नुभयो । 

अनि सेभ द चिल्ड्रेनले त्यस बेला एग्रो फरेष्ट्रीमा एउटा वर्कसप गर्न लागेको रहेछ । जसका लागि अमेरिकाबाट एक जना विदेशी विज्ञ समेत आउँदै रहेछन् । अनि उहाँलाई भने स्वदेशी विज्ञका रुपमा वर्कसप सञ्चालन गर्नका लागि अनुरोध गर्नुभयो । 

उहाँको कामको सर्त के थियो भने ती विदेशी विज्ञ एक हप्तामा आफ्नो काम सकाएर फर्किन्छन् । तर, उहाँले भने गोर्खामा भएको उक्त कार्यक्रममा सबै अध्ययन गरेर एउटा कम्युनिटी फरेष्ट्रीको योजना निर्माण गर्नुपर्ने रहेछ । 

उक्त काम पाँच, छ महिनाको हो । तर, उहाँले उक्त काम एक महिनामा नै सकेर रिपोट तयार गरेर दिनुभयो । त्यसपछि उहाँलाई नियमित काम गर्नका लागि अनुरोध गरियो । र, 'सस्टेनेबल एग्रीकल्चर एण्ड नेचुरल रिसाेर्स म्यानेजमेन्ट हेड'का रुपमा उहाँले काम गर्न सुरु गर्नुभयो ।   सस्टेनेबल एग्रीकल्चर एण्ड नेचुरल रिर्सोस म्यानेजमेण्ट हेडका रुपमा उहाँले काम गर्न शुरु गर्नुभो । तीनवर्ष उहाँले सेभ द चिल्ड्रेनमा काम गर्नुभयो ।

तीन वर्ष उहाँले सेभ द चिल्ड्रेनमा काम गर्नुभयो । त्यसपछि उहाँ युनाइटेड नेशन्सको कामको सिलसिलामा एक वर्ष कम्वोडिया जानुभयो ।  अनि कम्वोडियाबाट फर्केर एक डेढ वर्ष एजुकेट द चिल्ड्रेन युएसको कन्ट्री रेप्रेजेन्टेटिभको रुपमा काम गर्नुभयो । त्यसपछि अफ्रिकाको गाम्बियामा युएन भोल्युन्टरको रुपमा काम गर्न जानुभयो दुई वर्ष । 

अनि युएनडिपी कम्बोडियामा कोअर्डिनेटरको रुपमा काम गर्नुभयो ।  अर्को एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा उहाँ 'कम्युनिटी डेभलपमेण्ट प्रोग्राम एडभाइजर' का रुपमा अफगानिस्तानमा एक वर्ष काम गर्नुभयो । 

विवाह 

विवाह उहाँले २०४० सालमा गर्नुभएको हो । उहाँ त्यस बेला सेडामा कार्यरत हुनुहुन्थ्यो । उहाँको अर्धाङ्गिनी पनि किर्तिपुरमा शिक्षा शास्त्र पढ्दै हुनुहुन्थ्यो । त्यहीँ चिनजान देख भेट भएको हो, उहाँ भन्नुहुन्छ । प्रेम भएको एक वर्ष पछि नै विवाह भएको हो उहाँ भन्नुहुन्छ । श्रीमती राजभण्डारी पनि चर्चित गायिका हुनुहुन्छ, प्रतिमा राजभण्डारी । 

उहाँको एक छोरा अनि एक छोरी । हाल दुवै जना अमेरिकामा हुनुहुन्छ । छोरी पब्लिक हेल्थमा मास्टर्स गरेर काम गर्दै हुनुहुन्छ । छोरीको पनि विवाह पनि भैसकेको छ । छोरा पनि 'म्यानेजमेन्टमा मास्टर्स' गरेर काम गर्दै हुनुहुन्छ । उहाँको पनि विवाह भैसकेको छ ।

सञ्चार क्षेत्र 

त्यसपछि भने उहाँको संलग्नता सञ्चार क्षेत्रमा पनि रह्यो । यसको कारणमा उहाँ भन्नुहुन्छ, साथीहरूले नयाँ पत्रिकामा ६६ प्रतिशत शेयर लिएर काम गर्न सुरु गर्नुभएको रहेछ । उहाँलाई पनि बोर्डमा बसेर काम गर्न आग्रह गरियो । आफू यो क्षेत्रभन्दा बिलकुल फरक क्षेत्रको भएकोले उहाँले इन्कार गर्नुभयो । 

तर, साथीहरूले केही गर्नु पर्दैन बैठकमा यसो उपस्थित हुने र आफ्ना कुरा अनुभव राख्ने त हो नि भन्नुभयो । उहाँ त्यसपछि तयार हुनुभयो । तर, जो साथीलाई यसको सम्पूर्ण जिम्मेवारी दिएको हो उहाँ अलग भएपछि उहाँले केही समय नयाँ पत्रिकाको अध्यक्षका रुपमा नै काम गर्नुभयो । पछि कृष्णज्वाला देवकोटालाई सम्पूर्ण शेयर तथा जिम्मेवारी दिएर उहाँ नयाँ पत्रिकाबाट अलग हुनुभएको हो । 

फेरी त्यही टिमले टेलिभिजन तथा एफएम सुरु गर्ने भनेर सिटिजन एफएम पनि सुरु भयो । तर, त्यो पनि त्यति सफल हुन सकेन । उहाँ हाल सञ्चार क्षेत्रका यी कर्मबाट भने पूर्ण अलग हुनुहुन्छ । 

सङ्घसंस्थामा संलग्नता

एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टको विगत छ, सात वर्षदेखि उहाँले व्यवस्थापन सम्हाली रहनु भएको छ ।  त्यसदेखि बाहेक ऐंसेलुखर्क समाजको उहाँ सल्लाहकार हुनुहुन्छ हाल । सुरुका चार वर्ष भने उहाँ अध्यक्षका रुपमा पनि रहनु भयो ।  एआइटी एल्मुनाइ एसोसिएसन बैंककको पनि उहाँ सदस्य हुनुहुन्छ ।  

अन्त्यमा 

मान्छे सफल भएपछि समाजमा चिनिने गर्छ । तर, यो सफलताका लागि उसले गरेको दुःख, सङ्घर्ष भने सबैले देखेका हुँदैनन् ।  राजभण्डारीको यो जीवनीबाट यत्ति भन्न सकिन्छ उठ्ने प्रयास गर्दा जस्तोसुकै असफलता र अप्ठ्याराले कहिले पनि छेक्दैन । प्रयास गर्दा अवश्यै उठ्न सकिन्छ ।