बिन लादेनको जगजगी : 'अमेरिका बसुन्जेल कालो टोपी पनि नलगाउनुस्, दारी पनि नपाल्नुस् है' !

फर्कलान् र ती दिनहरु

बिन लादेनको  जगजगी : 'अमेरिका बसुन्जेल कालो टोपी पनि नलगाउनुस्, दारी पनि नपाल्नुस् है' !

हरिविनोद अधिकारी  |  साहित्य  |  माघ २४, २०७७

मेरा पुराना यादहरुलाई मैले कुनै क्रमबद्धरुपमा लेखेको हुँदै होइन । तर यसको क्रम भनेको मेरा मनमा आउने विभिन्न भावना, विचार र परम्परागत या अपरम्परागत धारणाहरुलाई लिपिबद्ध गरिएको मात्र हो । ती दिनहरु अब कहिल्यै फर्कँदैनन् जुन दिनहरु बालापनमा बिते, यौवनावस्थामा बिताइए र अहिले प्रौढावस्था या बृद्धावस्थामा बिताइएका दिनहरु पनि सामान्यतः योजनाबद्धरुपमा चलिरहेका हुँदैनन्, छैनन् ।

केही मानिसहरुले जीवन र जगतलाई बडो धैर्यताका साथ र संयमित तरिकाले सन्तुलन गरेर चलाएको जस्तो लाग्छ हामीलाई तर उनीहरुसँग बुझेमा उनीहरुको पनि धारणा असङ्गत तरिकाले  जीवन चलेको र सोचेजस्तो हुँदो रहेनछ जीवन भनेको सुन्न पाइन्छ । नजिकैबाट नियाल्ने हो भने त्यस्तै देख्न पाइन्छ । करोडौँ रुपैञा बैँकमा राखेर अथाह खर्च गरेर जीवन चलाउने व्यक्ति या परिवारसँग बुझ्दा त्यहाँ पनि केही गुनासो छ आफैँसँग या आफन्तसँग ।

भनिन्छ, हाम्रो जीवनलाई रसिलो वा बेरसिलो सम्झने मापदण्ड भनेको भौतिक सम्पत्ति हो र कति सामान वा पशुहरु छन्, कतिओटा घर छन् या कार वा गाडीहरु छन् भनेर आँकलन गर्ने हो । सायद ! ती पनि त्यति सुखी या खुसी छैनन् जत्ति हामीले बाहिरबाट अनुमान गरेका हुन्छौँ । त्यहाँ पनि पारिवारिक जीवनमा केही अपुग या कमी हुन्छ र त उनीहरुमा तृष्णा अझ बढी जागेको हुन्छ । सायद ! त्यही तृष्णाको वारेमा हामीलाई जानकारी दिन र कसका लागि सार संग्रह भनेर बुझाउन रत्नाकर डाकुबाट बदलिएर ऋषि बाल्मीकि बनेको उदाहरण दिइने गरिन्छ । त्यही सार संग्रह र लोभको अर्को पाटो राजा नहुषको घमण्ड र ऋषिहरुले दिएको श्रापले स्वर्गको सत्ता समालेको राजालाई सर्प भएर पृथ्वीको कुनै कुनामा गुमनाम जीवन बाँच्न बाध्य पारिएको कथा सुनाइन्छ । बारम्बार बारम्बार जीवन र जगतका वारेमा नयाँ नयाँ सिद्धान्त प्रतिपादन भएका छन् पूर्वीय दर्शनमा र अन्तमा त्यसले यो जीवनभन्दा ठुलो केही छैन , त्यसैले यसलाई सफल बनाउनका लागि प्रेरणा दिइएको छ । 

मैले यसै प्रसङ्गमा अघिल्लो  सम्झनामा केही पश्चिमा वैज्ञानिकहरुका कतै कतै भनिएका कुराहरुको सङ्कलनका रुपमा पूर्वीय सभ्यताका केही सूत्रहरु सलिल ज्ञवालीजीको सहयोगमा पस्कने जमर्को गरेको थिएँ । नेपालका पूर्वीय सभ्यता, पूर्वीय परम्परा र सँस्कृतिका वारेमा नेपालीमा कलम चलाउने विद्वानहरु हुनुहुन्छ । तर हाम्रो सभ्यताका वारेमा किन हामी पश्चिमा विद्वानहरुको भनाइ राखेर आफ्नो परम्परा महत्वपूर्ण थियो भनेर प्रमाणित गर्न खोज्छौँ ? किनभने पश्चिमाहरुले  भौतिक समृद्धि कायम गरेर सूचना प्रविधिको विकास गरे अनि एकैपटक आफ्ना विचार लाखौँ, करोडौँमा सम्प्रेषण गर्ने क्षमता राखेकाले हुनुपर्छ । 

उनीहरुका विचारलाई मनन गर्ने र आन्तरिकीकरण गर्नेहरुको संख्या यसकारणले बढेको पाइन्छ कि उनीहरु जेजस्तो शिक्षा प्राप्त गर्छन्, त्यसलाई जीवन र जगतसँग सम्मिलित गर्छन् । वास्तवमा यो  परम्परा त पूर्वको हो जसको अझै पनि कसैले होइन पनि भन्न सकेको छैन र गलत भनेर प्रमाणित गर्न सकेको छैन । हामीले समाजमा व्याप्त अन्धविश्वासका पछिल्तिर पनि के के कारणहरु थिए होलान् भन्ने कुराको खोइ र अनुसन्धान गरेको ? पश्चिमा वैज्ञानिक या मनोविद् या समाजशास्त्री आएर हाम्रो धामी झाँक्री परम्परामा अनुसन्धान गर्छ र उसले दिएका प्रमाणका आधारमा हामी त्यो कस्तो व्यवस्था थियो र त्यसले हाम्रो समाजमा पारेको प्रभावले केके परम्परामा सकारात्मक या नकारात्मक असर पारेको छ भनरे मूल्याङ्कन गरेका हुन्छौँ । मात्र उदाहरणका लागि हो । त्यतिमात्र होइन, नेपालको भूमिमा पाइने प्रशस्त प्रमाण, कतिपयका घरमा कुहिएर बसेका प्रमाणहरुको अनुसन्धान गरेर सप्रमाण देखाउनु भन्दा नेपालको इतिहासका लागि पनि, नेपालको भाषाका वारेमा पनि, नेपाली वाङ्मयमा पूर्वीय सभ्यताको प्रभावका वारेमा पनि हामी तिनै पश्चिमा विद्वानको लेखाइलाई आधार बनाएर प्रमाण दिन थाल्छौँ । 

अनि बिस्तारै डराउँदै भनी- हजुरले अमेरिका बसुन्जेल कालो टोपी पनि नलगाउनुस्, दारी पनि नपाल्नुस् है । म राम्रो टोप ल्याइदिन्छु र दारी काट्ने राम्रो सजिलो मेसिन ल्याइदिन्छु । कुरोको संवेदनशीलता मैले नबुझ्ने कुरै थिएन र हुन्छ भनेँ । त्यसपछि दिनैपिच्छे दारी काट्ने मेरो दैनिकी बन्यो र सजिलो टोपको व्यवस्था पनि भयो । मैले त्यो भन्दा पहिले त्यसरी टोप लगाएर सार्वजनिकरुपमा हिँडेकै थिइँन । तर बहिनीको आग्रह मानेँ र त्यो टोपी पनि जी आर ईको परीक्षामा लगाउन दिएनन् । कडा हुँदो रहेछ परीक्षा, मोजा पनि फुकालेर हेरेको देखेँ, अनि मैले तत्कालै मोजा फुकालेर राखेँ जुत्तामा । घडी पनि फुकाल्न लगायो । अर्थात् सम्भावित चोरीप्रति सजग देखेँ ।

पूर्वीय सभ्यताले संसारलाई दुई भागमा बाँडेको छ-भौतिक सम्पन्नता र आध्यात्मिक सम्पन्नता या सन्तुष्टि । भौतिकता भनेको जड हो । देह त भौतिक सामग्रीको स्वरुप हो । देहमा आत्मा हुँदैन भने त्यो जडमात्र हुन्छ । देहात्मवादी चिन्तनको जरुरत छ भन्नेहरुको विचारमा भौतिक जगत साधन हो , त्यसलाई सदुपयोग गर्ने चेतना त आत्मामा मात्र हुन्छ । आजको भौतिक सम्पन्नताका कारक त प्रविधि हो जसलाई आत्माले मात्र सदुपयोग गर्न सक्छ भनिन्छ । आत्माले भौतिक र प्रविधिको कसरी सदुपयोग गर्ने भन्ने चेतनाको विकास गर्छ । 

पूर्वीय सभ्यता भनेको नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, जापान, वर्मा, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स , कम्पुचिया, चीन, भियतनाम, कोरिया आदिमा चलेका सनातन सभ्यता नै हो । पूर्वीय सभ्यतालाई आजका सम्पूर्ण सभ्यताको आदर्श स्वरुपका रुपमा यसकारणले लिइएको हो कि यसको जगमा वेद छ ।  अपौरुषेय वेद । हजारौँ वर्षदेखि जीवनका सवै कुराहरुको उत्तर दिएर रहेको र आगामी दिनका लागि पनि उत्तर लिएर बसेको वेद तथा उपनिषद, पुराण अर्थात् श्रुति स्मृतिको  भण्डार छ । के छैन र ? आकाशका ग्रहहरुको वारेमा बोल्छ र ती अकाट्य छन् । पृथ्वीका वारेमा बोल्छ र पृथ्वीलाई आमाको संज्ञा दिने श्रुति र स्मृतिको जोडा अझैसम्म कुनै ग्रन्थ फेला परेको छैन । समयको सीमा लगाइएको भनेको इसा पूर्व र इसा पछि भन्ने हो जसको स्वाभाविक गणना मात्र २हजार वर्षको उमेर देखिन्छ ।

हद्द हुँदा जति पुराना सभ्यताहरु छन्, प्राप्त मानवीय उपलब्धिहरु छन् र अप्रमाणित नै सही तर्कका आधार र जीवन जगतका आधारभूत कुराहरु छन्, ती सबैलाई बढीमा इसापूर्व ५ हजार, १०हजार वर्ष भनेर विना प्रमाण अनुमान गरिन्छ र त्यही नै प्रमाणका रुपमा पेस गरिन्छ । अरु त अरु नेपाली साहित्य र इतिहासका कुरा गर्दासमेत तिनै पश्चिमाहरुको आधारमा हामीले प्रमाणित गर्नु पर्ने अवस्था किन आयो होला । त्यस्तो किन पनि आयो होला, वा त्यस्तो  किन रे भयो भने ती अनुसन्धाताहरुसँग त्यहाँभन्दा परसम्म जाने काल्पनिक सीमा नै छैन जस्तो कि कुवाको भ्यागुतासँग बाहिरको गोरुको भुँडीको गोलाई र लम्बाईको अनुमान छैन । दन्त्य कथामा त त्यो भ्यागुतो गोरुको भुँडीको अनुमान गर्दै भुँडी फुलाउँदा फुलाउँदै मरेको छ तर आज त्यस्तो छैन , उसैको अनुमानका भरमा हामीले थाहा पाएका कुराहरु पनि उसैको लहै लहैमा लागेर प्रमाणित गर्नु छ । यसैका लागि सलिलजीलाई धन्यवाद दिनै पर्छ जसले ती पश्चिमा वैज्ञानिकहरुको  पूर्वीय सभ्यताप्रतिको सम्मान सूत्रबद्ध नै किन नहोस्, सप्रमाण केलाई दिनुभयो । 

आज जसलाई हामी पूर्वीय सभ्यता र परम्परा भनेर गौरव गर्दछौँ, ती सबै आर्य मुनिहरुको सद्प्रयाश र मिहिनेतको फल हो । प्राणीमात्रको जीवनलाई यसरी अर्थ्याए- आहार, निद्रा, भय मैथुनका चक्रले चलाउँछ । यी एकअर्कासँग अभिन्न छन् र पनि फरक छन् । खानु पर्छ । आराम चाहिन्छ इन्द्रियहरुलाई र स्वप्नलोमा विचरण गर्नुपर्छ । डर छ र त जीवन छ । अनुशासन छ । प्राणीमात्रमा एउटा वंशाणुगत डर हुन्छ, व्यक्त र अव्यक्त डर नै जीवनको चक्रको एउटा आधार हो । मैथुन पुनरुत्पादनको आधार हो । यी तत्वहरु एकअर्कासँगको विभिन्नता हुँदाहुँदै पनि प्राणीमात्रको अपरिहार्यताको नमुना हो जसलाई पूर्वीय सभ्यताले अर्थ्यायो र कार्यान्वयनमा ल्यायो र भन्यो-प्राणीमात्रमा यो चक्र अपरिहार्य हुन्छ है । 

कसरी आकाशका ग्रह र ताराको अनुसन्धान गरे होलान् ? कसरी प्रत्येक विरुवा र प्राणीको वारेमा उनीहरुको क्षमताको पहिचान गरे होलान् ? पृथ्वीको क्षमता र वहन कार्य कुशलताका वारेमा कसरी पत्ता लगाए होलान् ? धेरै नेपालीका घरमा अहिले स्वस्थानी ब्रत कथा चलेको छ , त्यसमा ब्रह्माण्डका वारेमा सात टापु,  सात समुद्र, ८४लाख योनिका प्राणी र कति लोकहरु छन् भनेर ठोकेरै भनिएको छ । त्यो कल्पना हो वा वास्तविकता हो कसरी भन्ने ? तर त्यो  किन भनेको भने ब्रह्माण्डको वारेमा जानकारी दिने उपाय हो धार्मिक ग्रन्थ र धर्मका वारेमा भन्दा ।

हाम्रा घरमा सामान्यतया पढिने दसैँमा चण्डी, आवश्यकता अनुसार श्रीमद्भगवत गीता र स्वस्थानीका कथामा पाइने ज्ञान नै पूर्वीय सभ्यताका द्योतक हुन् । पूर्वीय सभ्यताले सत्यको खोजीमा हजारौँ वर्ष  व्यतीत गरेको छ र  सत्यको खोजीमा अरु हजारौँ वर्ष लाग्नेछ । सत्यं वदः अर्थात् सत्य बोल भनेर अचम्भको मन्त्र जप्ने हाम्रा पुर्खाले दिएको मार्ग दर्शनले अझै कतिसम्म मानवीय संवेदनालाई झकझोरी रहने हो, थाहा छैन । संसारमा सबैभन्दा ठुलो तपस्या नै सत्य बोल्ने काम हो । अहिलेसम्म पनि त्यसका लागि प्रयासमात्र सम्भव भएको छ ।

भारतका राष्ट्रपिता मोहनदास करमचन्द गान्धीले जीवनभर सत्यको खोजी गर्नुभयो । उहाँले सत्यको खोजीभन्दा ठुलो  तपस्या केही रहेनछ भन्ने सत्यको पक्षमा बोल्दाबोल्दै, या भनौँ सत्यको खोजी गर्दागर्दै आफैँ नाथुराम गोड्सेको तीनओटा गोली खाएर मर्नुपर्‍यो । उहाँ आफूलाई महाभारतको श्रीमद्भगवत गीताको उपासक मान्नुहुन्थ्यो र पूर्वीय सभ्यताको कट्टर पक्षपाती हुुनुहुन्थ्यो । पूर्वीय सभ्यता अहिले कस्तो जादुको भाँडो भयो भने सबै कुराको अचुक ओखती भएको कुनै विरुवा भनेजस्तै सबै जीवन र जगतका सबै प्रश्नका उत्तरहरु त्यहीँ खोज्दा पाइने विश्वास गर्न थालिएको छ । जति जति यो सभ्यता लोप भएको मानिन्छ, त्यति त्यति त्यो सभ्यताको खोजी हुन थालेको छ । पक्कै पनि यो सभ्यताको पुरानैरुपमा, पुरानै गुरुकुलीय अवस्था र चतुर्वर्णको रुपमा पुनस्र्थापना नहोला तर त्यसको नयाँ र परिष्कृत रुपका वारेमा संसार प्रतीक्षारत देखिन्छ । अरु सभ्यतामा ज्ञानको कमी देखिन्छ तर पूर्वीय सभ्यतामा ज्ञान र विज्ञानको अनौठो मिलन पाइन्छ भनेर मान्नेहरु पश्चिमाहरु नै हुन् । 

पूर्वीय सभ्यता भनेको जीवनको एउटा महत्वपूर्ण अवस्थालाई पूर्णाकार दिने संस्कार हो भनिन्छ । यसपटक यसको चर्चा यत्ति नै । आगामी आलेखमा अझ बढी अनुभवको सँगालो प्रस्तुत गर्ने वाचा सहित । 

यसभन्दा पहिले मैले संयुक्त राज्य अमेरिकाको भ्रमणको कुरा गरेको थियो जस्तो लाग्छ । त्यो समयमा लाग्थ्यो, साँच्चै म अमेरिकामा नै छु र ? एउटा कल्पनाको संसारमा म कसरी कसरी आएँ भन्ने लाग्थ्यो । हुन त मेरी सानी बहिनी जगदम्बा अमेरिकाको पश्चिमी राज्य वासिङ्टन स्टेटको ठुलो सहर सियाटलमै थिई । प्यारी बहिनी , मैले एस एल सी दिने साल जन्मिएकी हो । ऊ पनि संयुक्त राष्ट्रसंघको गैर सरकारी संस्थासम्बन्धी सेमिनारमा भाग लिन गएकी थिई । मेरो जस्तो तोकिएको तीन महिनाको भिसा नभएर पाँच वर्षकै भिसा भएकाले उतै आफ्नो उच्च शिक्षाको अध्ययनलाई निरन्तरता दिँदै आफ्नो भाग्य खोज्न थाली । सुरुमा नेब्रास्कामा थिई र पछि अरु सम्भावनाको खोजीमा सियाटल पुगेकी थिई । त्यहीबिचमा बहिनीको बिहे कोविद बाबुसँग उहीँ भयो, भान्जी र भानिज जन्मिए । मेरा भानिज जन्मेको केही दिनमा नै हाम्रो पिताजीको स्वर्गारोहण भएको थियो ।

मेरी बहिनी,  एकातिर दूरदेशमा सुत्केरी भएकी थिई, अर्कोतिर घरको मूल छानो आकाशका रुपमा मानिनु हुने आदरणीय पिताजीको मृत्यु । हिन्दू संस्कार अनुसार पिताजीको काम नसिद्धिँदासम्म नामाकरण गर्न नहुने चलन । आमाको स्वास्थ्य खराब । भाइ श्रीबत्स प्रहरीको सहायक निरीक्षक पदमा हुनाले बाको काममा घरमा जान माओबादीको डरले जान नसकेर काठमाडौँमा नै काममा बस्नु परेको अवस्था । त्यो दूरदेशमा पनि उसलाई , सुत्केरी हुँदा पनि न त खाने टुङ्गो भयो, न त आमाको पिर,दाजु भाइहरुको दुःखमा सामेल हुन पाउने अवस्था थियो । सुत्केरी थिई सियाटलमा तर उसको विह्वलताको चीत्कारले हामी फोनमा झन विह्वल हुन्थ्यौँ नेपालमा । फोनमा रुन्थ्यौँ र म सम्झाउँथेँ, तेरो त म छु नि दाजु, मेरो पो को छ र ? तर त्यो खासमा भन्ने कुरो मात्र थियो, पिताजीको विछोड भनेको शब्दमा व्यक्त गर्न नसकिने रहेछ, मातासँगको विछोड भनेको शब्दमा कहाँ लेखेर साध्य हुने रहेछ र ? त्यस्ती सानी बहिनीसँग भेट्न सियाटल नजाने त कुरै भएन तर त्यहाँको यातायातको टिकट काट्ने तरिकासँग म किन पनि परिचित थिइँन भने सबै कुरा त अनलाइन नै हुने रहेछ । 

सन् २००७को नोभेम्बरमा ऊ श्रद्धेय ज्वाईँ कोविद दाहाल, भान्जी आर्या र भानिज आश्विनसँगै सियाटलमा बस्ने भएकाले मैले त्यहाँसम्म अमेरिका हेर्नेक्रममा पनि जानु थियो । उहाँहरु ह्युस्टनमा हुनुहुन्थ्यो माता पितासमेत भाइ प्रबुद्धबाबुको घरमा । प्रबुद्ध बाबु आफ्नो ससुराली नर्थ क्यारोलाइना आउने भएको रहेछ, उहाँसँग मेरो भेट नर्थ क्यारोलाइना विमानस्थलमा भयो जहाँ प्रबुद्धबाबुकी श्रीमती, मेरी बहिनी सन्ध्या पनि थिइन् । माता, पिता, प्रबुद्धबाबु र सन्ध्याहरुलाई छोडेर हामी त्यहाँबाट भोलिपल्टै डालास सहरतिर लाग्यौँ मोटरमा । टेक्सासका सडक पनि कति ठुला, बाटामा सिकारका लागि गठित जङ्गल आरक्ष रहेछ । त्यहाँको चलन कस्तो रहेछ भने सिकार गर्न चाहनेले के मार्ने हो, त्यसको रकम तिरेर सिकार गर्न जानु पर्ने रे ! जुन  नम्बरको जनाबर मार्ने हो , त्यो मात्र सिकार गर्न पाइने रे । अर्को जनावर मार्न पाइँदैन रे । त्यो जङ्गल छिचोलेर डालस सहर पुगियो र होटेर म्यारियटमा बसियो । यसवारेमा मैले अघिकै कुनै प्रसङ्गमा लेखेको जस्तो लाग्छ । 

मेरो एउटै उद्देश्य थियो, अमेरिकाका विश्व विद्यालयहरु हेर्ने र पाएसम्म विद्यावारिधिका लागि भर्ना हुने । सियाटलमा बसेर कर्नेल, अस्टिन र युनिभर्सिटी अव वासिङ्टन , सियाटलका लागि जी आर इ परीक्षाको तयारी गर्न थालेँ । केही हप्ता तयारी गरेर जाँच दिइयो । प्राप्ताङ्क त सन्तोषजनक नै थियो तर विद्यावारिधि तहका लागि सायद त्यो सन्तोषजनक भएन कि या छात्रवृत्ति न पाएकाले गर्दा भर्ना हुन सकिएन । मेरी बहिनी चाहन्थी उसको दाजु, गुरु, अभिभावक भनेको म सँगै बसेर अध्ययन गर्नुहोस् तर मेरो स्थायी शिक्षण पेसा , तीन महिनाको मात्र भिसा भएकाले नेपाल आउनु जरुरी थियो किनभने तोकिएको भिसासम्ममात्र नेपाल सरकारको विदा मैले पाउने थिएँ । 

म जब सियाटल पुगेँ बहिनी, ज्वाईँ, भान्जा भान्जीसँगै । अब सुरु हुन्थ्यो एकाकीपन । ज्वाईँसाहेब र बहिनी आफ्ना आफ्ना काममा जाने, भान्जा बेग्लै स्कुल थियो, भान्जीको बेग्लै स्कुल थियो । म दिउँसभर एक्लै तर मेरो साथी भनेको जी आर ई को तयारीका लागि पढ्नु पर्ने अंग्रेजी र गणित । साँच्चै मलाई त्यो बेलामा थाहा भयो , मैले जानेको अंग्रेजी त केही पनि होइन रहेछ । मेरो विचारमा हामीले जानेको अंग्रेजीको स्तर एकदम प्राथमिक तहको पनि अझ तलको रहेछ । झन्डै ५हप्ताको तयारीमा, छोटो अवधिको तयारीमा जाँच दिएँ । अनलाइन परीक्षा भए पनि मेरो त टोपीसमेत बाहिर राख्न लगायो । 

टोपी भन्दा अर्को कुरा पनि सम्झिएँ, म सानै देखि कालो भादगाउँले टोपी लगाउने र पछि युवावस्थादेखि नै दारी पाल्ने सोख राखेँ । सोख पनि हुनसक्थ्यो वा काठमाडौँका जाडोमा गलबन्दीको काम पनि हुनसक्थ्यो वा एउटा पहिचान पनि हुनसक्थ्यो । वा दारी काट्ने झन्झटबाट केही हप्ताको शान्ति पनि हुनसक्थ्यो तर म दारी पाल्थेँ र अहिले पनि सेतै दारी पाल्न मलाई मज्जा नै लाग्छ । त्यो बेलामा काला दारी थिए, रहर लाग्दा नै भन्नुपर्‍यो । कालो टोपी, काला दारी, ककेसियन अनुहार, हामी नेपाली, इरानी, इराकी , भारतीय, पाकिस्तानी, ल्याटिन अमेरिकनहरुको ककेसियन अनुहार उस्तै पनि हुने । त्यो बेलामा ओसामा बिन लादेनको आतङ्कवादको जगजगी अमेरिकामा । आतङ्ककारीलाई क्वान्टानामो टापुमा लगेर राखेको सुनिन्थ्यो । शंकाका पक्राउ पर्ने व्यक्तिको सायदै  कुनै ट्रायल हुन्थ्यो । पक्राउ गरेपछि अदालतबाहेक कसैले केही गर्न सक्दैनथ्यो तर त्यस्ता आतंककारीको शंकामा पक्राउ गरेकालाई छुट्न मुस्किल थियो । अमेरिकी गुप्तचरहरुले सम्भावित आतंककारीको खोजी गर्नु स्वाभाविक थियो ।

पूर्वीय गोलार्द्धको ककेसियन, काला दारी अनि मुसलमानले लाउने जस्तो कालो टोपी लगाउन व्यक्तिलाई शंका गर्नु स्वाभाविकै हुन्थ्यो तर ......। मलाई सानी बहिनीले बिस्तारै भनी- ठुल्दाजु, एउटा कुरा भन्छु है नरिसाउनुस् ल ! म अत्यन्तै माया गर्छु र पनि मसँग किन किन त्यसै अनुशासित छन् मेरा भाइ बहिनी, भनेको मान्छन् पनि अनि अदब पनि धेरै राख्छन् । उसले जे पनि भन्न सक्थी किनभने सानी बहिनी हो, कान्छी बहिनी हो र सँगै एउटै छानामा बसेर, एउटै भान्सामा खाएर मेरा छोराछोरी र ऊ सँगै हुर्किएकी हो । अहिले पनि मेरालागि बहिनी, भाइ र छोराछोरीमा मायामा कुनै अन्तर पाउँदिन, पाउँदैनन् पनि । अनि बिस्तारै डराउँदै भनी- हजुरले अमेरिका बसुन्जेल कालो टोपी पनि नलगाउनुस्, दारी पनि नपाल्नुस् है । म राम्रो टोप ल्याइदिन्छु र दारी काट्ने राम्रो सजिलो मेसिन ल्याइदिन्छु । कुरोको संवेदनशीलता मैले नबुझ्ने कुरै थिएन र हुन्छ भनेँ । त्यसपछि दिनैपिच्छे दारी काट्ने मेरो दैनिकी बन्यो र सजिलो टोपको व्यवस्था पनि भयो । मैले त्यो भन्दा पहिले त्यसरी टोप लगाएर सार्वजनिकरुपमा हिँडेकै थिइँन । तर बहिनीको आग्रह मानेँ र त्यो टोपी पनि जी आर ईको परीक्षामा लगाउन दिएनन् । कडा हुँदो रहेछ परीक्षा, मोजा पनि फुकालेर हेरेको देखेँ, अनि मैले तत्कालै मोजा फुकालेर राखेँ जुत्तामा । घडी पनि फुकाल्न लगायो । अर्थात् सम्भावित चोरीप्रति सजग देखेँ । सामान्यताय त्यस्ता परीक्षा विश्व विद्यालय आफैँले लिने होइन रहेछ, कम्पनीमार्फत् लिएर त्यसको अङ्कप्रति विश्वसनीयता देखाइँदो रहेछ । चाहे त्यो आइ इ एल टी एस होस् या टोफलको नै किन नहोस् । स्याट होस् कि म्याट होस् , स्तरीय परीक्षाका लागि विश्वसनीय सँस्था रहेछन् । 

मेरा लागि अमेरिका नयाँ मुलुक नै थियो । नयाँ सभ्यताको मुलुक । हाइब्रिड सभ्यताको थालनी भएको मुलुक स्थापनकालदेखि नै । झन अहिले संसारका मानिसहरु भाग्य जमाउन या अजमाउन अमेरिका पुग्छन् । अहिले मेरै परिवारका पनि काहिँलो भाइ श्रीबत्स, बुहारी सुनीता, भतिजो शेखर सियाटलमै छन् । अरु नातेदारहरुको के साध्य । मेरो प्यारो भाइ जीवदग्नि पनि अहिले उतै छ । धेरै छन् ।

मेरी प्यारी चेली तथा छोरी नीलम कार्की निहारिका पनि उतै छिन् । अहिले नर्थ क्यारोलाइनामा छिन् । नेपाली साहित्यमा उनको नाम अब अमिट रहनेछ । उनको साहित्यको विधा पहिले कविता थियो, पछि कथा भयो र अहिले उपन्यासमा राम्रो छ । नेपाली साहित्यले अरु धेरै उनीबाट पाउनु छ । मदन पुरस्कार प्राप्त गरेको कृति सत्य जीवनीमा आधारित उपन्यास योगमायाले र वहुचर्चित उपन्यास चीरहरणले उनलाई नेपाली वाङ्मयमा अमर बनाएको छ । भर्खरै भन्दैथिइन्, गुरु मैले त वहुपति भन्ने उपन्यास ल्याउँदैछु । वास्तवमा नीलमको यो लेखाइका पछिल्तिरको उर्जा भनेको अत्यन्त पीडाबाट निस्केको कमल हो उनको साहित्य । आदरणीय प्रेरणादायी पिताजी र माया गर्ने दाजुको एकैपटक सडक दुर्घटनामा भएको निधनको त्यो अकल्पनीय पीडालाई उनले शोकलाई शक्तिमा बदलिन् र यो नश्वर शरीरको भन्दा आगामी बाटोको चिन्ताले साहित्य सृजनाको मुहान खोलिन् । क्याबात , नेपाली छोरी नीलम जो मेरी विद्यार्थी पनि भइन्, मैले कुनै बेलामा विश्व विद्यालयका स्नातक र स्नातकोत्तर कक्षामा प्राध्यापन गर्नका लागि प्रेरित गरेँ र एउटै क्याम्पसका साथी पनि भयौँ । अझ ज्वाईँसाहेब डाक्टर भाष्कर कुँवर हुनुहुन्छ आँखामा राखे पनि नबिझाउने भने जस्तै । 

नेपाल फर्कनेक्रममा सियाटलबाट जब फर्केर म न्युयोर्क आएँ, त्यो बेलामा मेरी चेलीको अतिथि भएर चारदिनसम्म बसेँ र झन उनलाई मैले नजिकबाट चिन्ने मौका पाएँ जसमा उनको आदरणीय जनप्रतिको निष्छल माया र गुरुहरुप्रतिको आदरभावको एउटा नमुना उनलाई पाएँ । शान्त तर पीडालाई पचाएर शोकलाई शक्तिमा बदल्ने कोसिसमा हरदम प्रयासरत । क्रमशः