घर पाउँदा विश्वास गरेनन् माझी समुदायले

घर पाउँदा विश्वास गरेनन् माझी समुदायले

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २६, २०७७

वाग्मती । 'यो घर हामीलाई नै देको हो र ! मलाई त सपना जस्तै लागेको छ !' रामेछापको खाँडादेवीस्थित सुनकोशी नदी किनारमा लहरै बनाइएका राता घरको नवनिर्मित माझीबस्तीको एक घरको आगनमा बस्नुभएकी २३ वर्षीया कान्छी माझी पक्कीघरमा बस्न पाउने कुराले हर्षविभोर हुनुहुन्थ्यो । 

आफ्नो एक वर्षीय छोरालाई काखमा लिनुभएकी उहाँलाई छोरा भाग्यमानी भएकोले राम्रो घरमा बस्न पाएको होकी जस्तो पनि लागेको छ । पहिला सानो सेउले घरमा बस्दै आएको उहाँको परिवारले वाग्मती प्रदेश सरकार र गाउँपालिकाले निर्माण गरिदिएको दुई कोठा, स्नानघर र शौचालयसहितको पक्की घर पाएको छ ।

 उहाँ जस्तै सोमबहादुर माझी पनि घर पाएकोमा धेरै औधी खुशी देखिहुन्थ्यो । “सरकारलाई धन्यवाद, पहिला हामी अव्यवस्थित रुपमा बस्थ्यौं । जग्गा जमीन पनि थिएन । डुङ्गा चलाउने पुख्र्यौली पेशा पनि पुल बनेदेखिनै लोप भएको थियो । खोलामा माछा पाउन छाडेकाले माछामार्ने व्यवसायले पनि गुजारा चल्दैन थियो । घर बनाउने बारेमा त सोच्नसक्ने अवस्थै थिएन । सरकारले घर बनाइदियो । अब, होम स्टे सञ्चालन गर्न सघाउने भनेको छ । हामी पनि मेहनत गर्छौ, घुम्न आउनेलाई डुङ्गामा सुनकोशी घुमाउछौं, माछाका परिकार खुवाउछौं, लहरे आँपको जुस खुवाउँछौँ” उहाँले भन्नुभयो । 

खाँडादेवी गाउँपालिकासँगको सहलगानीमा  प्रदेश सरकारले निर्माण गरेको माझीबस्ती रामेछाप जिल्लामा परे पनि बिपी मार्गको सिन्धुलीमाडी र धुलिखेलको समदूरीमा पर्छ । धुलिखेल वा सिन्धुलीको माडी बजारबाट बढीमा एक घण्टा ३० मिनेटको मोटर यात्रामा पुगिने मूल्कोटबाट सुनकोशी नदीमा रहेको झोलुङ्गे पुल तरेपछि पाँच मिनेटको पैदलयात्रामा पुगिने माझीबस्तीमा प्रस्तावित मध्यपहाडी लोकमार्गको निर्माणाधीन बाटो भएर हरेक प्रकारका मोटर पु¥याउन सकिन्छ । 

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बस्तीमा रहेका माझी समुदायको आयस्तर वृद्धि हुनेखालका कार्यक्रम तत्काल लागू गरिने बताउनुभयो । शनिबार माझीबस्तीको उद्घाटन गर्दै उहाँले गरीबी निवारण, विकास र समृद्धि प्रदेश सरकारको मुख्यध्येय रहेको धारणा राख्नुभयो । माझी समुदायको कला, संस्कृति र परम्परागत पेशाको संरक्षण र प्रवद्र्धन गर्न सके पर्यटन आकर्षित गर्न सकिने उहाँको भनाइ थियो ।

उहाँले प्रदेश सरकारले घरविहीन हरेक नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रामेछापको खाँडादेवी गाउँपालिका–३ डफ्काको माझी गाउँमा  प्रदेशको भूमि व्यवस्था, कृिष तथा सहकारी मन्त्रालय र खाँडादेवीको संयुक्त लगानीमा एकीकृत नमूनाबस्ती तयार भएको हो । 

एकीकृत बस्तीमा ४२  घर, सामुदायिक भवन, खेलमैदानलगायतका संरचना तयार भएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको रु एक करोड ५० लाख  र गाउँपालिकाको ७५ लाख  गरी जम्मा दुई करोड २५ लाखको लागतमा बस्ती निर्माण भएको  खाँडादेवीका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो ।