शाकाहारी र नरभक्षी आन्दोलनमा बन्धक मुलुक : स्वार्थका लागि पहिला चाटाचाट अहिले काटाकाट !?

लोकसंवाद टिप्पणी

शाकाहारी र नरभक्षी आन्दोलनमा बन्धक मुलुक : स्वार्थका लागि पहिला चाटाचाट अहिले काटाकाट !?

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ २५, २०७७

नेपाली जनता यस्तो देशका नागरिक हुन  जुन देशमा सरकार नै जनसभा गरेर नै  'शक्ति प्रर्दशन' गर्ने दौडमा हुन्छ  । काठमाडौँमा माघ २३ गते दशकौँ हजार मान्छे भेला पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भविष्य उज्ज्वल रहेको दाबी गर्न पुगे । लोकतन्त्रको भविष्य उज्ज्वल रहेको बताउँदै लोकतन्त्रप्रति कसैले कर्के नजर लगाउन नसक्ने  सन्देश दिए त्यही सन्देश लिएर  विराटनगर र बुटवलमा पनि जाँदै छन् ।

पार्टी विभाजन भएपछि ओलीका लागि अहिले 'प्रतिरक्षा सभा' गरेर जनता आफ्नो पक्षमा रहेको देखाउनु राज्यको स्रोत र शक्ति खर्चिएको छ । प्रधानमन्त्री ओली सरकारी काममा बाहेक सहकर्मीहरूले लगाएको आरोपलाई चिर्नकै लागि 'प्रतिरक्षा सभा' को  बाध्यता रहेको  थियो  ।

शुक्रवार थोरै गाली र धेरै प्रतिरक्षामा देखिएका ओलीले लोकतन्त्रप्रतिको निष्ठाप्रति उठाइएको प्रश्न जवाफ दिँदै देशमा कसैले लोकतन्त्र खोस्न नसक्ने बताउँदै आफूमाथि लागेको प्रतिगमनकारी आरोपको खण्डन  गर्ने भरमग्दुर प्रयत्न  गरे । सहकर्मीहरू माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपलाई खण्डन गर्न उनले लामो समय खर्च गरेको प्रस्टै देखिन्थ्यो । जुन उनका लागि शोभनीय थिएन  तर बाध्यता  प्रस्टै देखिन्थ्यो ।

पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी र निरंकुश शासकको आरोप लाग्दै आएको छ । राजधानीमा दशौँ हजार मानिस र कार्यकर्ताहरूको माझमा प्रधानमन्त्री ओलीले माधव नेपाल र पुष्पकमल दाहालप्रति धेरै आलोचना गर्दै आफ्नो बचाउ गरेका थिए ।  नेपाल–दाहाल समूहको नेकपाले लगाउँदै आएको आरोपमा ओलीले आफू गणतन्त्र र लोकतन्त्रविरोधि नभएको बताउन बाध्य भएका थिए । नेपाल–दाहाल समूहले ओली गणतन्त्र विरोधी भएको आरोप लगाउँदै आएको विषयलाई उनले प्रस्टीकरण दिएका थिए । ‘कसैले पनि लोकतन्त्र खोस्न सक्दैन, लोकतन्त्रको भविष्य उज्ज्वल छ । लोकतन्त्रतर्फ कसैले कर्के आँखा नलगाए हुन्छ, लोकतन्त्रकै लागि म चौध वर्ष जेल बसेको हुँ यहाँ कसैले भ्रम नपाले हुन्छ’, प्रधानमन्त्री ओलीले भनेका थिए । उनले धर्म निरपेक्षता घोषणा गर्छ र राजतन्त्र फर्काउँछ भन्ने हल्ला गलत भएको बताउँदै नारायणहिटीमा सभा गरेर आफू गणतन्त्रको पर्याय भएको सन्देश दिने प्रयत्न गरे । 

उता नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले देशमा निरङ्कुशता हाबी हुन थालेको र केपी ओली एउटा व्यक्तिले पार्टी मात्र होइन देशनै कब्जा गर्न लागेको बताएर उनलाई हैरान पारिरहेका छन्  । आफूहरू विधि, नीति र पद्धति अनुसार पार्टी चल्नु पर्छ भन्ने पक्षमा रहँदा रहँदै ओलीले पार्टी फुटाएको आरोप समेत लगाएर ओलीलाई सडकमा सभा गरेर प्रतिरक्षा गर्नुपर्ने अवस्थामा पुराएको  बताइरहेका छन्  । नेपाल-प्रचण्ड समूहले आफूहरू विचारको लडाइमा रहेको र व्यक्ति पूजामा केन्द्रित नभएको बताएका छन् ।

यद्यपि ओलीको सभामा भने ओलीकै तस्बिरको व्यापक ब्राण्डिङ गरिएको थियो । त्यति मात्र होइन युवा पुस्ताका केही कार्यकर्ताले 'केपी ओली आइ लभ यु' भन्ने नारा समेत लगाएका थिए ।  नेपाल दाहाल समूहले पार्टीबाट चोइटिएर जाने भए जाँदा हुने बताएर ओलीलाई पार्टीबाट निष्कासन गरेका छन् । ओलीलाई ‘कसैलाई चोइटिएर जाने इच्छा भए गए हुन्छ, बालकोटमै पार्टी बनाएर त्यहीँ बसे हुन्छ,’ अध्यक्ष नेपालले भन्ने गरेका छन् । उनले ओलीको गलत कदमविरुद्ध चुप लागेर नबस्ने बताएर आमसभा गर्न बाध्य नै पारेका हुन  ।

‘केपी ओलीले जे–जे गर्छन्, तमासा हेरेर बस्ने वाला छैनौँ,‘हामी उनको असंवैधानिक कदमका विरुद्धमा, प्रतिनिधिसभा विघटनको विरुद्धमा निरन्तर सडक आन्दोलनमा छौँ,’ अध्यक्ष नेपालले भन्दै आएको अभिव्यक्ति हो यो । नेपालको यो भनाइप्रति ओलीले राजधानीमा भएको भाषणमा केही हदसम्म स्वीकारेका थिए । ओलीले आफूहरूलाई ललकार्ने काम भएकाले बाध्य भएर यस्तो आमसभा गरेर आफ्नो कुरा भन्नु परेको समेत बताउँदै नेपाल- दाहालले सडकमा आउनु परेको बाध्यता सुनाएका थिए ।

‘दुईचार हजार मानिस जम्मा गरेर हामीलाई ललकार्ने काम भएकाले हामी सडकमा आएका हौँ यो बाध्यता बस आएका हौँ, कार्यक्रम गर्नै पर्ने अवस्था आयो आजको त यो कास्टिक मात्रै हो सडकमा सबैतिर ला उड स्पिकर राखेर आमसभा गर्नुपर्ने दिन आउन सक्छ मित्रहरूलाई मन थामेर बस्नुस्  र हेर्दै जानुस्, नेपाल कता जान्छ  नेपाललाई समाजवाद उन्मुख हुनबाट, सामाजिक न्यायसहितको देश बनाउनबाट कसैले रोक्न सक्दैन,’ प्रधानमन्त्री ओलीले शुक्रवारको सभालाई सम्बोधन गर्दै भनेका थिए ।

उनले प्रतिनिधि सभा विघटन संविधानसम्मत छ कि छैन भनेर बहस निकालिए बताउँदै आफूलाई काम गर्ने अवस्था सिर्जना नभएको र काम गर्न नदिएका कारण विघटन गर्नु परेको बताए । ‘जनताले बुझेको कुरा हो–काम गर्ने अवस्था नभए प्रधानमन्त्रीले संसद् विघटन गर्छ । हाम्रै बलमा संसद्मा आएर काम गर्न नदिने र सरकारले काम गर्न सकेन भन्ने प्रवृत्तिको जवाफ जनताको ताजा जनादेशबाट खोज्नुपर्छ,’ ओलीले प्रतिनिधि सभा विघटनबारे प्रस्टीकरण दिएका थिए । उनले चुनावमार्फत नै जनताले काम गर्न खोज्ने ठिक कि गर्न नदिने ठिक भन्ने  फैसला गर्ने बताएका थिए । उनले नेपाल दाहालप्रति लक्षित गर्दै नरभक्षी आन्दोलन गर्न खोजेको आरोप लगाएका थिए ।

ओलीको सभा अघि दाहाल- नेपाल समूहले आयोजना गरेको आम हडताललाई लक्षित गरेर नरभक्षी आन्दोलनको प्रतिकारमा आफूहरूले शाकाहारी आन्दोलनमा लागेको सङ्केत गरेका थिए । दुवै पक्षको अवस्था हेर्ने हो भने आफ्नो स्वार्थका लागि पहिले चाटाचाट गरेका अहिले काटाकाटमा उत्रेका छन् । दुवै पक्ष सडकमा उत्रेपछि कार्यकर्ताहरूको झडपले यो अवस्था निम्त्याउने खतरा बढिरहेको छ ।