आइपिएल प्रिभ्यु :हैदरावादले शीर्ष स्थानको चेन्नईलाई रोक्न सक्ला ?

आइपिएल प्रिभ्यु :हैदरावादले शीर्ष स्थानको चेन्नईलाई रोक्न सक्ला ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ४, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार राति सनराइजर्स हैदरावादले घरेलु मैदानमा चेन्नई सुपर किंग्ससँग प्रतिष्पर्धा गर्दैछ । 

हैदरावादले पछिल्ला तीन खेलमा पराजय भोगेको छ । यस्तोमा के हैदरावाद चेन्नईसँगको खेलबाट पराजयको यात्रामा पूर्ण  फर्किएला त ? 

तर, पछिल्ला चार खेलमा अपराजित रहेको चेन्नईसँग जित निकाल्न हैदरावादलाई सहज भने देखिँदैन । हैदरावादलाई चेन्नईको बलिङ बाधक बन्न सक्छ । चेन्नईका इमरान ताहिर र दीपक चहरले आक्रामक बलिङ गरिरहेका छन् । 

कोलकाताविरुद्धको पछिल्लो खेलमा चार विकेट लिएका ताहिर आइपिएलको चालू सिजनमा सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । उनले ८ खेलबाट १३ विकेट लिएका छन् । 

यस्तै, चहरले पनि राम्रो बलिङ गरिरहेका छन् । उनी सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा सातौं स्थानमा छन् । उनको नाममा १० विकेट छ । 

चेन्नईलाई पनि हैदरावादसँग खेल जित्न सहज भने देखिँदैन । किनकि चालू सिजनमा हैदरावादको प्रारम्भिक जोडी सबैभन्दा खतरनाक देखिएको छ । यो जोडीले प्रायः हरेक खेलमा राम्रो साझेदारी गरेको छ । यसकारण चेन्नईलाई खेल जित्न यो जोडीलाई तोड्नुपर्नेछ । 

यससँगै हैदरावादलाई घरेलु दर्शकको पनि साथ छ ।  

अंकतालिकामा चेन्नई अघि 

चेन्नई अंकतालिकाको शीर्ष स्थानमा छ भने हैदरावाद छैठौँ नम्बरमा छ । ८ खेल खेलेको चेन्नईको १४ अंक छ । ७ खेल खेलेको हैदरावादको भने ६ अंक मात्रै छ । 

हेड टु हेडमा पनि चेन्नई 

हेड टु हेडमा पनि चेन्नईको पलडा भारी देखिएको छ । यी दुई टिमबीच भएका १० खेलमध्ये चेन्नई ८ खेलमा विजयी भएको छ भने हैदरावाद २ खेल मात्रै विजयी भएको छ । 

अहिलेसम्मको नतिजामा चेन्नई अघि देखिए पनि खेल कसले जित्ने भन्ने अनुमान लगाउन भने सहज छैन ।