ढल्यो पेरिसको चन्द्रमा

ढल्यो पेरिसको चन्द्रमा

सुशोभित सिंह सक्ताक्त  |  समाज  |  बैशाख ४, २०७६

१५ अप्रिल सोमबारका दिन पेरिसको नाँत्रे दाम चर्चमा आगलागी भयो । भारतीय लेखक सुशोभित सिंह सक्तावतले फ्रांस, पेरिस, नाँत्रे दाम र अग्निकाँडको सेरोफेरोमा आफ्ना भावना लिपिबद्ध गरे । उनका शब्दले तपाईलाई नाँत्रे दामको एक झलक देखाउने विश्वास छ हामीलाई  स.

युरोपियनहरुका लागि खासगरी फ्रांसीसी र इतालवीहरुका लागि ‘आर्किटेक्चर’ कुनै भौतिक अथवा बेग्लै परिघटना नभएर उनीहरुको आभ्यंतरको रुपका माफिक हुन्छ, उनीहरुको अंतसचेतनाको गति सदृश्य हुन्छ ।

विक्तोर ह्यूगोले यसलाई ‘थाट्स रिटेन इन स्टोन’ भनेका थिए । तिनै विक्तोर ह्यूगोले फेरी ‘द हन्चब्याक अफ नाँत्रे दाम’ को कथा सुनाए । 

१६ अप्रिलका दिन पेरिसले आँखा पोल्नेगरि नाँत्रे दामलाई दन्दनी बलेको देख्नु पर्‍यो, दुःस्वपनको स्थापत्य अरु के नै हुनसक्छ !

के पेरिसको कुनै यस्तो ‘स्काईलाइन’ को कल्पना गर्न सकिन्छ, जहाँ नाँत्रे दामको सुचारु र सुरम्य रेखाहरु नहुन ? तपाईले विश्वास गरे, पनि नगरे पनि यो साँचो हो, ‘आइफल’ रुपी धरहरा नाँत्रे दामका सम्मुख केही पनि होइन !

आर्च दे त्रायम्फ,वरसायको महल, मोन्मात्र, लूव्रको भवन आदि हुँदाहुँदै पनि पेरिसको अन्तर्भाव त नाँत्रे दाम नै थियो, जसको शिखर ढडेर विलुप्त हुन गएको छ । जुनबेला ‘आइफल’ बनाइएको थियो, धातुको यस विशालकाय आधुनिक कंकाललाई फ्रांसीसीहरुले आफ्नो सौन्दर्यबोधमाथि प्रहार भएको मानेका थिए ।

गोथिक शिल्पको आर्किटाइप ! एक नमुना, एउटा मिसाल र कलात्मक उन्मेषको भब्य संग्राहलय ।

शताधिक भुजाधारी आर्गन, अनेकाै‌ अमूल्य चित्रकृति, देव प्रतिमा र शताब्दियौं पुराना रोजग्लास निर्मित झुमर ।

वेनर हरजोगको फिल्ममा रुबी ग्लास बनाउने प्रविधि विर्सिएको एउटा बवेरियाई गाउँ विक्षिप्तता उन्मुख हुन पुग्छ । 

सोच्छु, जब पेरिसका अखबार र टेलिभिजनले एक बिहानै आफ्नो कर्णप्रिय फ्रेन्च उच्चारमा सूचना प्रेषित गरे, ‘नाँत्रे दामका रोजग्लास निर्मित झुमर खरानी भए।’ यस महान शहरले आत्मनाशी उन्मादको यो भीषण ताप कसरी सहन गर्‍यो होला ? 

आर्च दे त्रायम्फ,वरसायको महल, मोन्मात्र, लूव्रको भवन आदि हुँदाहुँदै पनि पेरिसको अन्तर्भाव त नाँत्रे दाम नै थियो, जसको शिखर ढडेर विलुप्त हुन गएको छ । 

नाँत्रे दामको आठसय वर्ष पुरानो बुर्ज (शिखर) ध्वस्त भयो । पेरिसको क्षितिजको एउटा भुजा नष्ट भयो । अब सीन नदीमा यसको प्रतिबिम्ब वन्ने छैन । 

भारतीय कथाकार निर्मल वर्माले पाँच दशक अघि पेरिसमा हुँदा भनेका थिए, ‘त्यो केटी नाँत्रे दामको चित्र कोरिरहेकी थिई, मलाई विश्वास गर्न गाह्रो भयो, हजारौं पटक चित्र कोरिइसकेको नाँत्रे दामलाई त्यो केटी फेरि चित्रित गरिरहेकी थिई ।’

म निर्मल वर्मालाई भन्न चाहन्छु, ‘सुन निर्मल अब नाँत्रे दामको चित्र त्यसैगरि फेरी कहिल्यै कोरिने छैन ।’

नाँत्रे दामको आगलागी वैश्विक त्रासदी हो ।