मातेर आएका लुते 'पोइ'को गनगनबाट अभिप्रेरित गीत : 'बन्धक बसेर पनि तिमीलाई हँसाई रहन्छु'

मातेर आएका लुते 'पोइ'को गनगनबाट अभिप्रेरित गीत : 'बन्धक बसेर पनि तिमीलाई हँसाई रहन्छु'

प्रा.डा. विष्णु राई  |  लोकरञ्जन  |  माघ २८, २०७७

'तिम्रो खुसीको लागि म सबै किनी ल्याउँछु
बन्धक बसेर पनि तिमीलाई हँसाई रहन्छु ।' 

यी मेरो शब्दलाई वरिष्ठ गायक कुबेर राईले गाउनु भएको छ । लोकप्रिय सङ्गीतकार शिलाबहादुर मोक्तानले सङ्गीत सिर्जना गर्नु भएको हो । यो गीतको रेकर्डिङ २०५३ सालमा भएको थियो । सङ्गीतकार र गायक दुवै स्रष्टाले मेहनत गर्नु भएको छ ।  दुवै आदरणीय कलाकारलाई बधाई र धन्यवाद प्रकट गर्न चाहन्छु । जसको अभावमा मेरो रचनाले जीवन्त  पाउने अवसर प्राप्त गर्न सम्भव थिएन ।  फेरि यो पनि अजय सत्य हो ।  गीत लेख्न प्रचुर प्रयास नहुँदो हो त गीतको  अमरत्व सम्भव  थिएन ।

वास्तवमा गीतको सिर्जनाभित्र आफैँले जीवनमा देखेका र अनुभव गरेको घटना विशेषले प्रभावित बनाएको हुन्छ ।  कुनै पनि स्रष्टा पूर्ण हुँदैनन् । कतै नै कतै प्रकृति वातावरणले काव्यिक मनलाई छुन्छ । सर्जकले आफ्नो मनभित्र लुकेको समवेदनालाई अवसरको रुपमा प्रकट गर्छ । आकार दिएपछि आफूलाई हल्का महसुस गर्छ ।  यस्तै जीवनको अप्ठ्यारो मोडमा भोगिरहेको अन्त्यहीन समवेदना यसभित्र राख्ने प्रयास गरेको छु । यो गीतको अमूख छायाले मलाई लामो अवधिसम्म मन भित्रको तलाउमा डुबाइरह्यो । म फुत्कन सकिनँ । मलाई परिवेशले गीत फेरि  लेख्न बाध्य बनायो । यो खुसीको लागि मान्छेले के बाजी राख्दैन र भन्ने खोजीमा गीत लेख्ने प्रयास गरेँ । 

Psychologist professor Ryan David को भनाई छ, At a deep level happiness is an elusive state that few actually achieve. What we typically mistakes for happiness is actually just excitement as a result of external stimuli. भ्रम नहुँदो हो त मान्छे आफ्नो खुसीको लागि संसार विचरण गर्ने थिएन होला । वास्तवमा खुसी भ्रम पनि हो ।  यसले जीवनलाई तानिरहन्छ । खुसी भनेको जीवनको सत्यतर्फ उन्मुख हुनु हो । आफूसँग जे छ त्यसभित्र आनन्द उपभोग गर्नु हो ।  खुसी समयको एक हदसम्म स्थिर हुन्छ । यसलाई तुरुन्त  'मेन्टेन'  गर्न पर्छ ।  अन्यथा 'डीलुट'  हुन्छ । आनन्द खुसी हो जस्तो- खानु, घर, परिवार,सम्पत्ति,यौन प्राप्त गर्नु । यसैको खोजीमा आधुनिक समाजका मानिसहरू  भौँतारिन बाध्य छन् । प्राप्त गर्न मानव आज अनेक हन्डर भोग्छन् ।  राजनैतिक सामाजिक अपराध गर्छन्  । 

म छक्क पर्थेँ । खुसी भन्ने शब्द कति अमूर्त छ । न समात्न सकिन्छ न त देख्न । प्राय कोठाबाट भनाभन भएको सुनिन्थ्यो । लुते जडेता पोइलाई बाहिर फाल्नु नि ! हेर्न कस्तो मज्जा हुन्थ्यो होला ।  चाहेकी भए लोग्नेलाई एकै सासमा टिपेर फ्याक्थीन् पनि हाेला ! मनमनमा म कल्पना गर्थेँ । बिहान फेरि ठिकै देखिन्थ्यो । मैले भनेको भरमा कचकचे लोग्ने बैङ्कमा स्थायी पनि भयो ।  उसले जाँड पिएपछि खुसीको लागि मैले के गरिनँ भन्ने शब्द भनिरहन्थ्यो ।  खोइ किन हो ?

मैले खुसीको एउटा भ्रमयुक्त आकाश खोज्ने क्रममा सयौँ पल्ट उदयपुर जिल्लाको बेल्टार, सुगाचरी भन्ज्याङ, बुवाFजोरघाट, बुवांखोलाको बाह्र जँघार तर्दै निगालबास, खानियाबासको उकाली ओराली अकरको बाटो सानै उमेरदेखि एक्लै झोला बोकेर हिँडेको छु । कहिले गर्मी, जाडो, भल, पहिरो  त कहिले हिउँदको चिसो ठिहिमा सुन्तला, नुन तेल बोक्ने कयौँ ढाक्रेको लर्कोसँग गीत गाउँदै यो बिकट डरलाग्दो भीरको बाटो हिँडेको छु ।यही क्रममा वैशाखको भतभत पोल्ने मदेसको घाम छल्दै  तलबाट मध्यान्ह बेला सुँगाचरीभन्ज्याङ निस्केँ । डाँडामा बरको मिठो हावा चलिरहेको थियो ।

मैले सानो झोला भुँइमा राखेर ठुलो युद्ध जितेको जस्तो सास तानेँ । यसै बेला एक आधा बैँसे पुरुष उत्तरबाट आएर भित्तामा ढाकर बिसायो । उस्तै उमेरकी लुरी महिला सानी छोरीलाई  डोर्‍याउँदै कुम्लो बोकेर आइपुगिन् ।  सानी छोरी थाकेर होला सुँक्क सुँक्क रोइरहेकी थिइन् । बिसाउँदै थाकेर ठुलो सास फेरेँ । लोग्ने मान्छेले दुवै हातले निधारको चर्को धाम छल्दै दक्षिणतर्फ फैलिएको विशाल तराइको अनन्त क्षितिज हेरिरह्यो  । मैले उसलाई हेरिरहेँ । निकै समय उसले केही बोलेन ।  मैले सोचेँ-उसको अनन्त यत्रा छ  ।  जो सजिलै देखिँदैन । तुवाँलोले छोपेको छ । 

मैले सोधेँ - 'कता जाने हो भाइ'? 

निकै घोरियो । टोपीले निधारको पसिना पुछ्दै भन्यो–'ठेगान छैन । परिवारको खुसीको लागि कता पुग्छु मलाई पनि थाहा छैन ।' उ गम्भीर भयो । उत्साही तथा निराशा दुवै उसको चेहरामा देखिन्थ्यो । उसको पछाडि कमिजको भाग च्यातिएको थियो । म नि:शब्द भएँ । निस्सार संसारमा बिलाएँ । थकाई अनायास सकिए जस्तो भयो । खुसीको मूल्य कति महँगो छ । हरेक मान्छेसँग । तर यो पनि सत्य होला । प्राप्त गर्न नसकिने वस्तुको कल्पना गर्नु आफैँमा रोग बोक्नु हो । बरु आफैँ निचोरिएर एकान्तमा बाँच्नु राम्रो । सुख अनुभूत गर्नु । 

मलाई हतार थियो । म उत्तरतर्फ हिँडेर दूध कोसीको ओरालो झरेँ । जहाँबाट खोटाङको हावा भेटिन्छ । उसको कुराले मेरो मनमा भयङ्कर ठुलो आँधी ल्यायो ।  दिनभर आँधीमा हराउँदै भावुकताभित्र रुमलिँदै हिँड्दा बाटो काटेको थाहै भएन । आँधीले मलाई बाटोमा मात्र उडाएन । लामो मेरो जीवनको यात्रा भरी  मलाई उडाई रह्यो । देशको कथा उसले बोकेको थियो ।  उसको बसाई यो धरतीमा कहाँ गएर रोकियो होला ? मैले मेरो कथा सङ्ग्रह 'परपर' २०५५ मा यो कौतुहलता लेखेको छु । अझ मेरो मन मानेको छैन ।  र, त मैले यो पृष्ठभूमिमा गीत लेखेँ । अझ मेरो आँखामा त्यो शब्द चित्र मेटिएको छैन । उनीहरू कता छन् होला ? उनीहरूको खुसी भेटे कि भेटेनन् होला ? कस्ता भए होलान् ? मेरो यो गीत कहीँ कतै अचानक सुन्नसाथ आफैँ ठुलो आँधीभित्र हराउँछु । गीत भनेको जीवनको अनन्त कथा रहेछ । भोगाइ अनुभूतिको संवेग रहेछ । अनेक घाम छाया लुकेको हुन्छ । 

Albert Einstein भन्छन्  try not to become a man of success. Rather become a man of value. वास्तवमा हो । मान्छे हुनलाई जीवनको अनेक घुम्ती तर्नु पर्छ ।  तर्न नसक्नेहरू मूल्यहीन मान्छे हुन्छन् तर बाँचेका हुन्छन् । बाजेले रोपेको चिलाउनेको रुखमा बेसारा चारा नाचेको हेर्दै बसेको भए म पनि यतिको सानो मनुवा हुँदिन थिएँ होला ? बाजेको पालाको सम्पत्ति मेरो अथाह छ पहाडमा तर यहाँ काम लागेन ।  कमसेकम वरिष्ठ पत्रकार भूपराज जीले गीतको सन्दर्भ त मलाई  लेख्न कर लगाइरहनु भएको छ, म जस्तो मान्छेलाई । आफ्नू खुसी खोज्न मान्छेले ज्यान अर्पण गर्नै पर्छ । अर्काको डाह गर्नु भनेको आफू मान्छे नहुनु हो । विवेकहीन असभ्य मानसिक चरित्र हो ।सबैले खुसी चुमोस् । त्यो खुसी देशको लागि काम लागोस् । मेरो पिएच.डी को कन्भोकेसनमा प्रथम राष्ट्रपति डा. राम वरण यादवले मसँग हात मिलाउँदै भनेको सम्झन्छु 'तपाईँको बौद्धिकता देशको हितमा हुनेछ ।' राष्ट्रपतिको आग्रहले म खुसी र गर्वले फुलिएको थिएँ । डराएको पनि थिएँ । मेरो ज्यान राष्ट्रको हितमा छ या छैन । म यो समय अप्ठ्यारो मोडमा उभिएको छु । र आफैँलाई हेर्दै छु ।  प्रधानमन्त्री केपी ओलीले सरकारमा बसेर बहुमतको सरकार 'डीसोल्भ' गरेको बेला । 

झपक्क अँध्यारो हुँदा म त्यो दिन पारि देवीस्थान तलका राई बुढाको घरमा बास बस्न मुस्किलले पुगेँ । तल बग्ने बुवांखोलाको सुसाइसङ स्वर खापेर केही ढाक्रेहरू आफ्नै जीवनका गीत गाइरहेका थिए-

'भूँइ ढाक्यो बादलुले मन उडाइ लाग्यो जोर माद्लुले
पुग्नु छ कता कता यहीँ बसौँ  भन्छ मायालुले ।'

जीवन कति जटिल छ । अमूर्त छ । खुसीको अर्थ  बुझ्नलाई यो गीतको आग्रह बुझे  धेरै बुझ्न पर्दैन । यस गीतको भावभित्र अनन्त जीवनको परिभाषा छ । अहिले पनि म सम्झेर आफैँ नोस्टाल्जिक  हुन्छु ।  म पनि मेरो जीवनको जटिलताभित्र  अल्झेर धेरै हिँडे । कतिपल्ट आफैँ रोएँ । आफ्नै खुसीभित्र मुस्कुराएँ । र अहिले बाँचेको छु । भन्लान् भन्नेहरू यसले केही गर्न सकेन ।  जति सकेँ मेरो लागि काफी छ । कमसेकम देश  लुटेर खान त परेन ।  मेहनतको खुसीमाथि  उभिएको छु । कसैले भन्छन्–हाँसो खुसी जीवनको रत्न हो ।  यसले जीवनमा बिहानी ल्याउँछ । हो नि म अडान लिन्छु । त्यति मात्र होइन खुसी । मुस्कान शक्ति पनि हो यसले जो कोही लत्रन्छ । 

मेरो यो गीतको परिभावलाई अझ स्पष्ट पार्न अरु घटना क्रम पनि जोडियो । मेरो जीवनको समयहरूमा ।  जीवन यसरी नै जोडिँदै जाने न हो ।  जस्तो कि सहरलाई अधिक पैसा चाहिन्छ । नत्र झिलिमिली हुँदैन । झिलिमिलीलाई  बुद्धि चाहिन्छ । बैँस,बल चाहिन्छ । नभए महल बन्दैन । महलभित्र भलोकुभालो ठुला अनेक खेल हुन्छ । खेललाई रक्सी चाहिन्छ । सहरलाई यस्तै रमझम चाहिन्छ । आधुनिकता नबुझ्दा मान्छे रोएको छ । रमझमभित्र सहर फुलेको छ । कुहिएको छ । मुटु र यौवन  बिक्री भएको छ । खुसीको लागि मान्छेले नैतिक अनैतिक भ्रष्ट काम गरेको छन् । 

काठमाडौँमा घर पछाडि मैले सानो टहरा बनाएको थिएँ । केही खत्र्याकखुत्रुक घरायसी समान राख्नलाई  । त्यसभित्र केही समयपछि धनकुट्टातिरका एक बाहुन परिवारलाई आश्रय दिएको थिएँ । दुई साना बच्चाकासाथ आधा बैँसे यी जोडी जीवनका सपनाका रङ्ग देख्थे । उनीहरूसँग मायालु दयालु सबै गुण थियो । थिएन त  केबल सम्पत्ति । लोग्ने बैङ्कमा पिउन पदमा कार्यरत थिए ।  बेलुकी रक्सी पिएर घरमा आउँथे । अनि श्रीमतीलाई मातेर भन्थे–'मैले तिमीहरूको खुसीको लागि के गरिनँ । अब पनि आगो समात्न सक्छु  मैले तिमीहरूको खुसीको लागि हार मानिनँ ।  ......अनेक,अनेक ।'

लोग्ने मातेर रात भर गनगन गर्थ्यो । हेर्दा मान्छे फुकिढल भए पनि । बिचरा होला पनि ! उनले पिउन पद मात्र कार्यालयमा खाएनन् । धेरै पल्ट गाली पनि खाएका छन् | हिन्दी फिलिम्की रेखा जस्ती राम्री उसको श्रीमती दिक्क मानेर भन्थिन् – 'हो ! तिमीले सबै नाप्यौ ! र, त यो हालतको जीवन छ ।बढी होइन है लुते ! अहिले टिपेर बाहिर फाल्दिन्छु नि  !  तिमी जस्ता धेरैसँग सङ्गत गरेकी छु  । कस्तो कुकुरको 'मुत' रुचेको छि ! ' 

'को सँग सङ्गत गरिस्..... ?????' ऊ च्याँठिन्थ्यो बेपत्तामा । मलाई झ्यालबाट चुपचाप सुन्न खुब मज्जा लाग्थ्यो । 

म छक्क पर्थेँ । खुसी भन्ने शब्द कति अमूर्त छ । न समात्न सकिन्छ न त देख्न । प्राय कोठाबाट भनाभन भएको सुनिन्थ्यो । लुते जडेता पोइलाई बाहिर फाल्नु नि ! हेर्न कस्तो मज्जा हुन्थ्यो होला ।  चाहेकी भए लोग्नेलाई एकै सासमा टिपेर फ्याक्थीन् पनि हाेला ! मनमनमा म कल्पना गर्थेँ । बिहान फेरि ठिकै देखिन्थ्यो । मैले भनेको भरमा कचकचे लोग्ने बैङ्कमा स्थायी पनि भयो ।  उसले जाँड पिएपछि खुसीको लागि मैले के गरिनँ भन्ने शब्द भनिरहन्थ्यो ।  खोइ किन हो ? मलाई खुब मज्जा लाग्थ्यो उसको भनाई । अरुबेला श्रीमतीसँग पनि बोल्न लजालु स्वभावको मान्छे थिए ।  दैनिक साँझ उसको यस प्रकारको चरित्रले मलाई यो गीत लेख्न झनै मलजल पुग्यो । खोलाबाट बिहान बादलको मुस्लो उठे जस्तो मेरो मनमा पनि एक प्रकार गीतका भावनाहरू उठिरह्यो ।

कसैलाई लाग्ला गीतको पछाडि यस्ता कथाहरू पनि हुन्छन् ?

म कुनै पनि रचना घटना विहीन सिर्जना गर्न सक्दिनँ ।  मलाई कुनै पनि बिम्बले छुन पर्छ ।  मानिस प्रकृति भन्दा फरक हुन सक्दैन । लाग्छ सबैलाई यस्तै हुँदो हो । यो गीत २०५० सालतिर खुसीको लागि ज्यान अर्पण गर्ने यस्तै घट्नाहरुले गीत लेखेँ मलाई अभिप्रेरित गरिरह्यो  । अन्ततः यो गीतको जन्म भयो । 

कुबेर राई र म यो गीतको शब्द बोकेर सङ्गीतकारसँग पुगेका थियौँ  ।अहिले जस्तो सजिलो टेलिफोन थिएन । मैले गीत कुबेर जीलाई दिएको थिएँ । कुबेरजी को  इच्छा शिलाबहादुरको सङ्गीतमा गाउनु रहेछ ।  मेरो लागि त झन् खुसीको कुरै भयो | पछि यो गीत प्रसिद्ध गायिका कुन्ती मोक्तानले पनि गाउनु भयो ।  रेकर्डिङ पछि अपसोस प्रिय गायक मित्र कुबेर राईसँग भेट भएको छैन ।  शालीन व्यक्ति हुनुहुन्थ्यो । घेरै स्कुलहरूमा सङ्गीत सिकाउनु हुन्थ्यो । यो सहरमा म बस्दिनँ दाइ ! घर इलाम गएर खेतीपाती गर्छु भन्नु हुन्थ्यो  । आशा छ ।  आराम नै हुनुहुन्छ होला । अन्त्यमा यो मेरो गीत सुन्नुहुने सम्पूर्ण श्रोताहरूमा आभार प्रकट गर्दछु ।

 यो गीत युट्युबमा यहाँ क्लिक गरेर पनि सुन्न सक्नु हुनेछ । धन्यवाद ।