चितवन च्याम्पियनसिप ट्रफी–२०७७ : आधुनिक–११ गीतानग विजयी

चितवन च्याम्पियनसिप ट्रफी–२०७७ : आधुनिक–११  गीतानग विजयी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ २९, २०७७

चितवन । चितवन क्रिकेट सङ्घको आयोजनामा जारी १७औँ संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ अन्तर्गत आज भएको खेलमा आधुनिक–११ गीतानगर विजयी भएको छ । 

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा भएको खेलमा आधुनिक–११ गीतानगरले भरतपुर क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको हो । गीतानगरले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको भरतपुर १७.४ ओभरमा ५३ रनमै अलआउट हुन पुग्यो । भरतपुरका लागि सुर्वन भट्टले ११, सोनु तामाङले १० र सङ्घर्ष पौडेलले ९ रन मात्रै जोड्न सक्यो । भरतपुरलाई सस्तैमा समेट्न आधुनिक ११ गीतानगरका विपिन खत्रीले ८.३ ओभरमा १८ रन खर्चिदै ६ विकेट लिए भने कप्तान किशोर महतोले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए ।

५४ रनको झिनो लक्ष्य लिएर मैदान उत्रिएको आधुनिक ११ पनि सङ्घर्षपूर्णरूपमा ३ विकेटको जित निकाल्न सफल भयो । गीतानगरले १३।३ ओभरमा ७ विकेट गुमाएर ५७ रन बनाउँदै जित हासिल गर्‍यो । उसका लागि विपिन खत्रीले सर्वाधिक अविजित ११ रन बनाए । गीतानगरलाई दबाबमा राख्दा भरतपुरका कप्तान सङ्घर्ष पौडेलले ५।१ ओभरमा १७ रन खर्चिदै ५ विकेट लिए भने किर्जन गुरुङले ६ ओभरमा २१ रन खर्चिएर २ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत बिहीबार समूह ‘ए’ अन्तर्गत चितवन क्रिकेट क्लब र मुनस्टोन क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने चितवन क्रिकेट सङ्घका उपाध्यक्ष सुदीप पियाले जानकारी दिए । एक दिवसीय विधामा शुरु भएको यस प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगितामा जिल्लाभरका कूल ६ सहभागी छन् । चितवन क्रिकेट क्लब, भरतपुर क्रिकेट क्लब, मुनस्टोन क्रिकेट क्लब मङ्गलपुर, इस्र्टन क्रिकेट एकेडेमी टाँडी, बेलचोक क्रिकेट क्लब भरतपुर र आधुनिक ११ गीतानगरले प्रतिस्पर्धा गर्दैछन् । छ टिमलाई दुई समूहमा विभाजन गरी लिग खेलाइनेछ भने समूह विजेता टोलीले सिधै उपाधिका लागि भिड्नेछ ।

 समूह ‘ए’ मा चितवन क्रिकेट क्लब, मुनस्टोन क्रिकेट क्लब मङ्गलपुर र बेलचोक क्रिकेट क्लब भरतपुर रहेको छ भने समूह ‘बी’ मा इस्र्टन क्रिकेट एकेडेमी टाँडी, आधुनिक ११ गीतानगर र भरतपुर क्रिकेट क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने सङ्घका अध्यक्ष कैलाश प्रधानले जानकारी दिनुभयो । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिनेछ ।