हतियार देखाई गहना समेत लुटपाट गर्ने विकल क्षेत्री र सामान खरिद गर्ने सन्तोष विश्वकर्मा पक्राउ

हतियार देखाई गहना समेत लुटपाट गर्ने  विकल क्षेत्री  र  सामान खरिद गर्ने सन्तोष विश्वकर्मा  पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  माघ ३०, २०७७

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले लुटपाट गर्ने एक जनालाई २०७७ माघ २९ गते शुक्रबार  पक्राउ गरेको छ । पक्राउपर्नेमा भरतपुर महानगरपालिका–३ बाह्रघरे बस्ने ३३ वर्षीय विकल क्षेत्री रहेका छन् । लुटिएको सामान किन्ने भरतपुर महानगरपालिका–११ का २९ वर्षीय सन्तोष विश्वकर्मालाई पनि पक्राउ गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले निज क्षेत्रीले तनहुँकी एक महिलालाई नारायणगढमा बोलाएर लुटपाट गरेको उल्लेख जनाएको छ । निजले ३९ वर्षीया महिलालाई धारिलो हतियार देखाई लुटपाट गरेका हुन् । क्षेत्रीले महिलालाई कुटपिट र लछारपछार गरी कान र हातमा समेत चोट पुर्‍याइ लगाएको सुनको झुम्का, सिक्री, ब्रासलेट, दुई वटा औँठी, हातमा लगाएको घडी, दुई वटा मोबाइल र नगद १७ हजार रुपैंया गरी जम्मा  पाँच लाख ६३ हजार २५० बराबरको सामान लुटी लगेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार निज क्षेत्रीले झुम्का र ब्रासलेट विश्वकर्मालाई बिक्री गरेको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो घाइते महिलाको अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।