राष्ट्रिय महिला लिग : आर्मी क्लब र वालिङ नगरपालिका विजयी

राष्ट्रिय महिला लिग :  आर्मी क्लब र वालिङ नगरपालिका विजयी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ २९, २०७७

काठमाडौँ ।  राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत २०७७ माघ २९ गते शुक्रबार भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिका विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले विराटनगर महानगरपालिकालाई ७–० गोल अन्तरले पराजित गरेको हो । आर्मीका लागि शर्मिला थापा र विमला विकले दुई/ दुई तथा सपना लामा, विमला चौधरी र रश्मी घिसिङले एक/एक गोल गर्नुभयो । 

खेलको १८औँ मिनेटमा शर्मिला थापाले पहिलो गोल गर्नुभयो । खेलको २२औँ मिनेटमा सपना लामाले, ३१औँ मिनेटमा विमला विकले, ३४औँ मिनेटमा विमला चौधरीले, ३८औँ मिनेटमा रश्मी घिसिङले, ५०औँ मिनेटमा विमला विकले व्यक्तिगत दोस्रो तथा खेलको ५४औँ मिनेटमा शर्मिला थापाले व्यक्तिगत दोस्रो गोल गर्नुभएको हो । आर्मी हालसम्म आठ खेलमा २२ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा छ ।  

अर्को खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोल अन्तरले पराजित गरेको हो । वालिङका लागि विदेशी खेलाडी मेथो रुथ एक्लैले पाँच गोल गर्नुभयो । यस्तै विदेशी खेलाडी टौटा ओरनेलाले दुई गोल गर्नुभयो । खेलको २५औँ मिनेटमा रुथले पहिलो, ३३औँ मिनेटमा दोस्रो, ४४औँ मिनेटमा तेस्रो, ४८औँ मिनेटमा चौँथो तथा ५५औँ मिनेटमा पाँचौँ गोल गर्नुभएको थियो । यस्तै ओरनेलाले खेलको ७१औँ मिनेट तथा ७२औँ मिनेटमा गोल गर्नुभएको थियो । चौदण्डीगढीका लागि सान्त्वना गोल अञ्जना थुलुङले खेलको ३२औँ मिनेटमा गर्नुभएको थियो । वालिङ नौ खेलमा १८ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । चौदण्डीगढी अङ्कविहीन रहँदै लिगको पुछारमा छ ।