नेपाल खगोल विज्ञान समाजद्वारा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रका १८ महिला पुरस्कृत

नेपाल खगोल विज्ञान समाजद्वारा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रका १८ महिला पुरस्कृत

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  माघ ३०, २०७७

काठमाडौँ । नेपाल खगोल विज्ञान समाज (नासो) ले मुलुकका १८ महिलालाई सम्मान गरेको छ । विज्ञानमा महिला पहुँचको अन्तरराष्ट्रिय दिवसको अवसर परी २०७७ माघ ३० गते  शुक्रबार ‘विज्ञानमा महिला पुरस्कार २०२०’ बाट विज्ञान, प्रविधि, इञ्जिनीयरिङ र गणित आदि विषयमा काम गरिरहेका महिलाको योगदानलाई कदर गरी सम्मान गरिएकाे छ । 

नर्सिङ क्षेत्रमा योगदान गरेवापत आकृति काफ्ले बरालले सम्मानका साथै  २५ हजार  समेत प्राप्त गर्नुभयो । शिक्षातर्फबाट रोजीना शाक्यले १५ हजारसहित सम्मान ग्रहण गर्नुभयो । बाँकी १६ महिलालाई सम्मानसाथै उपहार प्रदान गरियो । अध्यक्ष सुरेश भट्टराईले भन्नुभयो, 'पुरस्कार लिन ५० भन्दा बढी महिलाले निवेदन दिनुभएको थियो । यी क्षेत्रका महिलाको योगदान, उपलब्धीलाई मूल्याङ्कन अनि कदर गर्न सम्मान गरिएको हो ।' 

परियोजना संयोजक मनिषा द्वाले यस क्षेत्रमा काम गर्ने महिलाको तथ्याङ्क मुलुकमा पाउन नसकेपछि सो पुरस्कारको आयोजना गरी काममा हौसला बढाएको बताउनुभयो । नासोले देशका साथै विदेशमा रहेका महिलाका कामलाई बिचार गरी विगत चार वर्षदेखि सो पुरस्कार वितरण गर्न थालेको हो । नासो स्थापना हुनुको मुख्य उद्देश्य देशभित्र वैज्ञानिक समुदाय निर्माण गर्नााका साथै खगोल विज्ञान उत्साहीका लागि केही गर्ने अवसर प्रदान गर्नु हो ।