'राज्य विरुद्धको अपराधको कसुर ' र प्रतिशोध : नेतृ झाँक्रीले 'माफी' मागेकै हुन् र !?

लोकसंवाद टिप्पणी

'राज्य विरुद्धको अपराधको कसुर ' र  प्रतिशोध : नेतृ झाँक्रीले 'माफी' मागेकै हुन् र !?

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ३०, २०७७

नेपालको राजनीतिमा विगत डेढ महिनादेखि कालो बादल मडारिएको छ । पुस ५ गते जब प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरे त्यसपछि विशाल भनिएको नेकपा पुरै विभाजित मात्रै भएको छैन नेताहरुले आफ्नो अभिषट्का लागि गाली गलौचमा उत्रिए । त्यति मात्र होइन एकले अर्कालाई शत्रुतापूर्ण व्यवहार गर्दै जाँदा प्रतिशोध कसरी  साँध्ने  भनेर तँछाडमछाड गर्न थालेका छन् ।

राजनीतिक प्रतिशोधको भुमरीमा परिन बिहीबार पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री । गणतन्त्र आएपछि विद्या भण्डारी दुई पटक राष्ट्रपति भएकी छिन् । तर उनकै पालामा उनकै सहयात्री अथवा कार्यकर्ता रहेकी रामकुमारीले  व्यक्तिगत गाली गलौचलाई 'राज्यविरुद्धको अपराध' सम्बन्धी कसुरमा प्रहरी कार्यालयमा बयान दिन पुग्नु पर्‍यो ।

देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र छ । वाक तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्दै आएको बताउँदै आएको छ । संविधान र कानुनलाई हेरेर भन्ने अवस्था छ तर व्यवहार भने ठ्याक्कै उल्टो  अभ्यास भइरहेको छ ।  संविधानमा नै व्यवस्था गरिएको अभिव्यक्ति स्वतन्त्रताको उपभोग भने नागरिकले अझै गर्न पाइरहेको अवस्था छैन । 'अभिव्यक्ति स्वतन्त्रता'  भन्ने वस्तु शासकका लागि सधैँ आँखाको तारो बन्ने गरेको छ । जसको परिणाम बिहीबार रामकुमारी झाँक्रीले भोगिन । सयौँ कार्यकर्ताहरूमाझबाटै उनले गिरफ्तारी दिएकी थिइन । जसले गर्दा उनले यो राज्यको कानुनलाई सम्मान गरेको सङ्केत गरेकी थिइन । सरकारले रामकुमारीलाई पक्राउ गर्न खोजेर अन्य शीर्ष नेताहरूलाई तर्साउन खोजेर एक कदम अघि बढ्दा पक्राउपछिका घटनाक्रमले सरकारलाई दुई कदम पछि हट्न बाध्य  बनायो  । प्रधानमन्त्री ओलीको दबाबमा पक्राउ परेकी भनिएकी झाँक्री उनकै आदेशमा रिहा हुने अवस्थामा पुगे ।  बिहीबार दिनभर उनको विषयमा देशभर जनसमर्थन जुट्यो त्यो  सर कारको आङ्कलन ठिक उल्टो थियो । जसका कारण सरकार नेतृ रामकुमारी झाँक्रीलाई समाने बयान लिएर रिहा गर्न  बाध्य भएको थियो । 

नेतृ रामकुमारी झाँक्रीले बयानलाई लिएर आ-आफ्ना व्याख्या  गरिँदै छ । प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाका समर्थक र ‌‌‍‌‍ओलीलाई गिरफ्तार गर्न उक्साउने समूहले 'माफी'  मागेको नेतृ झाँक्री रिहा गरिएको प्रचार गरिन थालिएको छ । उता नेतृ रामकुमारी झाँक्रीले आफू  बिना सर्त रिहा भानेकी छन् । उक्त बयानमा जहाँ माफी मागेको होइन, पटक पटक  'अभिव्यक्ति र राजनीतिक स्वतन्त्रताकाे हक प्रयोग गरी  अभिव्यक्ति दिएको हुँ ' भनी स्विकार गरिएकाे छ ।  बयानको पूर्ण पाठ यस्तो छ । 

आखिर उनलाई पक्राउ गर्नुपर्ने कारण के थियो ? उनले के के भनिन भन्ने बारेमा हेर्ने हो भने 'राज्य विरुद्धको अपराध' लाग्ने ऐन आकर्षित हुने अवस्थामा नरहेको निश्कर्षमा सरकार पुग्यो । गोरखामा नेकपाले आयोजना गरेको एक सभालाई सम्बोधनका क्रममा झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु र ?, बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ, बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु, शीतल निवास छाडेर कोटेश्वर फर्किए हुन्छ, चाबहिल हो कि बानेश्वर कता घर छ ? त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ, नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, बडामहारानीका लागि म पनि भारी हुन सकौँला, बडामहारानी विरुद्ध यहीँ कि रेखा लोप्चनलाई चुनाव लडाउँछौँ र बडामहारानीलाई चुनावमा हराउँछौँ’ झाँक्रीले अगाडी भनेकी थिइन,’जनताको अधिकारमाथि गिद्धे दृष्टि लगाएर शीतल निवासमा बडामहारानीको बास भएको छ, हामीले असंवैधानिक कदम किमार्थ स्वीकार नहोस् भनेका थियौँ तर त्यसलाई सुनिएन ।

नेकपा एमालेले २०५० सालमा गरेको निर्णय गम्भीर भूल थियो । मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरु गरेको थियो, त्यसको प्रति उत्पादक हो विद्या भण्डारी ।’ झाँक्री त्यतिकैमा रोकिइनन्, ‘विचार सिद्धिएपछि कपाल, नाक, लुगा, देखाएर राजनीति गर्दा कुरो बिग्रिन्छ । विद्यालाई दोस्रो पटक राष्ट्रपति नबनाऊँ भनेर हामीले नेताहरूको दैलो चाहार्यौं, तर हाम्रा कुरा कसैले पनि सुनेनन्, आजको दुर्भाग्य त्यही कारण हामीले भोग्नु परेको छ ।’ उनको यही अभिव्यक्ति विरुद्ध बिहीबार प्रहरी कार्यालयमा पुग्नु परेको थियो । यो अभिव्यक्तिमा गाली बेइज्जती ऐन आकर्षित सम्म हुने सक्ने कनूनविदहरुकाे राय थियो । तर सरकारले राज्य विरुद्धको दफा लगाएर नेताहरूलाई तर्साउने हर्क गरेको  भनेर सर कारको दिनभर आलोचनामा मात्र भएन  र सडक आन्दोलन नै भयो  । प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपा इतरका सम्पूर्ण  पार्टी,   नेता तथा कार्यकर्ता नेतृ रामकुमारी झाँक्रीकाे गिरफ्तरीककाे विरुद्धमा एक ठाउँमा भए । जसका कारण सरकार पाँच घण्टामै असफल  हुन पुग्यो अर्थात्  पछि हट्न बाध्य भयो ।

नेतृ रामकुमारी झाँक्री ले बुधवार दाहाल–नेपाल पक्षले काठमाडौँमा आयोजना गरेको विरोध सभामा समेत उनले राष्ट्रपति लक्षित आफ्नो अघिल्लो अभिव्यक्तिलाई पूरक अभिव्यक्ति दिएकी थिइन । ‘यो राष्ट्रपति सम्माननीय संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो, हाम्रो शिर माथिको संस्था हो, तर त्यो संस्थाविरुद्ध बोल्ने दुस्साहस गरेको छैन, त्यो संस्थामा कुनै व्यक्तिको निर्वाचनको प्रक्रियाबाट गएर निरंकुशताको साक्षी बस्छ, त्यसको एउटा प्यादा बन्छ भने त्यस्ता पात्रको विरुद्ध बोल्न पाइन्छ, कसले भन्यो बोल्न पाइँदैन भनेर ? एउटा खलपत्रको विरुद्ध बोल्दै गर्दा कसले भन्छ यहाँ महिला अस्मिता मिचियो भनेर, बोल्न पाइन्छ ।’ उनले विरोध सभालाई सम्बोधन गर्दै अगाडी भनेकी थिइन्, ‘महिला अस्मिता त्यति बेला बलात्कृत भएको छ जहाँ भागीरथी भट्ट जस्तै, निर्मला पन्त जस्तै कलिला किशोरीहरू, बालिकाहरूको बलात्कार र हत्या भएको छ, त्यति बेला महिला अस्मिता बेचिएको छ, बलात्कृत भएको छ, खण्डित भएको छ, त्यस कारण एउटा तानासाह बन्दै गरेको एउटा अहङ्कारी एक प्रकारको कसैलाई नमान्ने, सबै कुराको सर्वज्ञानी अहङ्कारी सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्न पाइन्छ, यहाँ महिला अस्मिताको प्रश्न आउँदैन, कुनै पनि पदमा लिङ्ग हुँदैन, त्यो सार्वजनिक पद हो, त्यसैले बोल्न पाइन्छ ।’

नेतृ  झाँक्रीको भनाइ थियो ‘आज १८ वर्षसम्म विद्या भण्डारीले प्राइभेट कम्पनी बनाएको एउटा अनेमसंघ भन्ने संस्था छ, त्यसका सदस्यहरुले महिला अस्मिताको गफ गर्दै छन्, मलाई सुन्न हेर्न र समाचारहरूमा पढ्न मन छ, भागीरथीका हत्याराहरूलाई कारबाही गर भनेर तिनीहरू गृह मन्त्रालय पुगे कि पुगेनन् ? मलाई प्रश्न गर्न मन छ ।’ उनले सम्बोधन अघि मुखमा कालो टेप लगाएकी थिइन भने सम्बोधनका क्रममा मुखको कालो टेप खोल्दै ‘निरङ्कुशताको साक्षी बस्ने विरुद्ध बोल्न पाइन्छ’ भनेकी थिइन् । उनले कुनै संस्थाको विरोधमा नभई व्यक्ति र प्रवृत्तिका विरुद्ध बोलेकोसमेत प्रस्ट परेकी थिइन् । यसबाट झन् चिढिएपछि सरकारले उनलाई कुनै पनि हालतमा पक्राउ गर्ने अनिष्ट राखेको थियो । जुन अनिष्ट पूरा भए पनि सरकार र नेकपा ओली समूहलाई यसले प्रतिरक्षात्मक अवस्थामा पुर्‍याएको छ ।