क्यान्सरका बिरामीलाई वाग्मती प्रदेश सरकारले पनि ५० हजार उपचारका लागि सहयोग दिने

क्यान्सरका बिरामीलाई वाग्मती प्रदेश सरकारले पनि ५० हजार उपचारका लागि सहयोग दिने

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  माघ ३०, २०७७

 चितवन ।  वाग्मती प्रदेश सरकारले आगामी फागुन १ गतेदेखि क्यान्सरका बिरामीलाई  ५० हजार उपचारका लागि सहयोग गर्ने भएको छ । यसअघि क्यान्सरका बिरामीलाई सङ्घीय सरकारले  एक लाख उपचार सहयोग गर्दै आएको थियो । 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार फागनु १ गतेदेखि लागू हुनेगरी छुट सुविधा दिन वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सम्झौता भएको छ । उहाँका अनुसार क्यान्सर उपचारमा लाग्ने खर्चमा सरकारले दिँदै आएको  एक लाखमा प्रदेश सरकारले थप ५० हजार उपलब्ध गराउने भएको हो । सङ्घीय सरकारको रकम सकिएपछि प्रदेश सरकारको रकम खर्च गरिनेछ । प्रदेशभित्रका स्थायी बासिन्दालाई मात्र यो सुविधा उपलब्ध हुने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशले यो सुविधाका लागि चालू आर्थिक वर्षमा रु सात करोड विनियोजन गरेको छ । यस अस्पतालमा उपचार गराउन आउने क्यान्सरका बिरामीमध्ये ४० प्रतिशत हाराहारी वाग्मती प्रदेशका जनता हुने गरेका छन् । थप सहयोग पाएसँगै बिरामी र तिनका परिवारलाई राहत पुग्ने उहाँको भनाइ छ । क्यान्सर रोगको उपचार निकै खर्चिलो हुन्छ । निजीमा उपचार गर्न खर्चका कारण जो कोहीलाई कठिन हुने गर्दछ । सरकारीमा समेत उपचारका लागि आवश्यकपर्ने उपकरण, औषधिलगायत महङ्गो पर्ने भएकाले उपचार खर्चिलो हुने गर्दछ ।