वेल्स भ्रमणको दैनिकी : ब्रेकनदेखि स्वान सीसम्म

वेल्स भ्रमणको दैनिकी : ब्रेकनदेखि स्वान सीसम्म

बैरागी काइँला  |  साहित्य  |  फाल्गुन १, २०७७

७ अक्टोबर, २०१५

एक रात हामीलाई न्यानो आतिथ्य प्रदान गर्ने टङ्क वनेमजी र उहाँको परिवारले प्राचीन बर्मिङघम सहर राम्ररी घुम्नेफिर्ने अवसर मिलाई दिनुभयो । खानापछिको समय वनेमजीको निवासबाट अलिकति हिँडेर हामीले बस चढ्यौँ र कतिबेर पनि नलागेकोजस्तो गरेर बर्मिङघम सहर पुग्यौँ । वनेमजीले काम गर्ने कार्यस्थल त्यतै रहेछ, अलगबाट उ ... त्यही हो भनेर देखाउनु भयो । दिनभरजस्तै हामीले बेलायतको प्राचीन र गौरवशाली सहर बर्मिङघम अवलोकनमा बितायौँ । अवलोकनपछि अघिजस्तै बसबाट वनेमजीको निवास फर्कियौँ । 

हाम्रा पोकापन्तरा सबै ठिकठाक नै थिए । सोही दिनको अपराह्नका बेलातिर, होइन बेलुकीतिर भन्दा पनि हुन्छ, वेल्सको ब्रेकनबाट हामीलाई लिन आउने मिजास तेम्बेजी गाडी हाँकेर आइपुग्नुभयो । वनेमजीलाई न्यानो आतिथ्य दिनुभएकामा धन्यवाद दिएर हामी तीनजना मिजास तेम्बेसँग वेल्सको ब्रेकन प्रस्थान गर्‍यौँ । वरपरका दृश्यावलीको आनन्द लिँदै, मिजासजीको मिठा कुरा सुन्दै ब्रेकन पुगेको पत्तै भएन । हो, हामी ब्रेकन पुग्दा निकै अबेर भइसकेको थियो अथवा साँझ छिप्पिसकेको थियो । हामी बाबुछोरीलाई कवि, गीतकार तथा सङ्गीतकार नरेश ‘नाति’ माङ्पाहाङ राईको निवासमा र दिक्पालजीलाई मिजास तेम्बेजीको निवासमा बासको प्रबन्ध गरिएको रहेछ । सोअनुसार नै बसियो । नरेश ‘नाति’ माङ्पाहाङ राई दक्खिन पाँचथरका रहेछन् । उनी र मिजास ब्रिटिस सेनामा कार्यरत सैनिक र दायित्य भने सैनिक जवानहरूलाई तालिम दिने । तर दुवै साहित्यकार, लेखक, कवि तर ‘नाति’ राई भने सङ्गीतकार र गायक पनि । दुवै अध्ययनशील र चिन्तकजस्ता सर्जकहरूसँग कति टाडा पुगेर यसरी भेट भयो । काङमाङ नरेश राईको गाडीमा उनी र राजन मुकारुङ पनि ब्रेकन त्यही साँझ आइपुगेका रहेछन् । उनीहरूका दुईको वासको व्यवस्था अन्यत्र नै थियो । बेलुकी नाति निवासमा सबै भेला भयौँ । भेला हुनेमा नेपालबाट युके पुगेका हामी सबै अर्थात् राजन मुकारुङ, राजकुमार दिक्पाल, काङमाङ नरेश राई, मिजास तेम्बे, म र छोरी नामओती नेम्बाङ थियौँ । निकैबेर सिर्जना र साहित्यका विषयमा अल्प अल्प कुराकानी भए । नरेश नातिले र उनकी छोरीले केही साङ्गीतिक प्रस्तुतिले वेल्सको पहिलो साँझ स्वर्णिम र अविस्मरणीय हुनपुग्यो । 

८ अक्टोबर, २०१५

बिहान छिटै खाएर ब्रेकनबाट स्कचह्विस्की कार्खाना भ्रमणमा मिजास तेम्बे तथा नरेश नातिहरूले लगे । हामी सबै भनेको मिजास, नरेश नाति, काङमाङ नरेश, राजन मुकारुङ, राजकुमार दिक्पाल, म र छोरी नामओती । सानो तर धेरै पुरानो र प्रसिद्ध 

कारखाना रहेछ । टिकट काटेर हेर्नुपर्ने । डिटेलमा हेरियो । नेपालमा मतवाली जात भनेर चिनिने हाम्रो राई तथा लिम्बूजातिमा मर्चा बनाउने आफ्नै आदिम ज्ञान र प्रविधि अझ पनि हामीसँग जीवित छ । उताको उही ज्ञान भने विज्ञानले कहाँ कहाँ पुर्‍याइसकेको छ । निकै प्रकारका जडीबूटी मिलाएर तयार हुन्छ हाम्रामा पनि मर्चा । त्यहाँ पनि मर्चा बनाउँदा प्रयोग गरिने जडीबूटीहरूका नामसहित तस्बिर राखिएका थिए । टिकट काट्ने पर्यटक (अवलोकनकर्ता) लाई सोभेनियर भनेर ससाना सिसीमा भरेको ह्विस्की दिँदा रहेछन् । मिजास तेम्बेजीले हामी बाबुछोरीलाई भनेर दुईवटा सिसी दिनुभयो । राजकुमार दिक्पालले त्यहीँ चाखेछन् । कान तातो तातो भएर आयो, निकै कडा पो रहेछ भन्थे । हामी बाबुछोरीले नखाईकन काठमाडौँ ल्यायौँ । 

मलाई बेलायतका विभिन्न दर्शनीय स्थानहरूको भ्रमण गराउनु नै पहिलो काम उहाँहरूले बनाउनुभएको थियोजस्तो लाग्यो । फेरि कहिले बोलाउन सकिन्छ र ? जस्तो उहाँहरूलाई मनमा लागेको थियो होला पनि । घुम्दै बिते दिन । ब्रेकनमा मिजास र नातिसँग साहित्यिक विमर्ष हुन सकेन, भनौँ समय नै बचेन । त्यसरी नै मिडस्टोनमा खेरेसजीसँग पनि हुन सकेन । निकै टाडा बस्नु हुने दयाकृष्णजीसँग त सम्भव नै थिएन । बर्मिङधममा टङक वनेमजीसँग पल्लोकिरात लिम्बुवानको इतिहास र त्यहाँको श्रुतिपरम्परा भनेको मुन्धुमसम्बन्धी धेरथोर कुराकानी हुनसकेको थियो ।

त्यहाँबाट अघि गएकै बाटो धेरै वरसम्म आएपछि अर्कोतिर छुट्टिएर गएको सडक हुँदै वेल्सको राजधानी कार्डिफतिर लाग्यौँ । ब्रेकनबाट एक घण्टा जतिको बाटो मात्र रहेछ राजधानी कार्डिफ । ठूलो सहर कार्डिफमा नेशनल म्युजियम अवलोकन गरियो । खगोल विज्ञान र जीव–विकासका अध्ययजन गर्नेका लागि त महत्वपूर्ण लाग्यो कार्डिफको नेशनल म्युजियम । सहर घुम्दै बिशाल र खुला अडिटोरियममा पुग्यौँ । यहाँ बेलाबेलामा कविहरूबाट खुला रूपमा कविता वाचनका कार्यक्रम भइरहँदा रहेछन् ।

९ अक्टोबर, २०१५ 

डान गुफा भनेको प्रसिद्ध गुफा 'नेसनल शो केभ सेन्टर, वेल्स (National ShowCave Centre, Wales) को अवलोकनका लागि नरेस नाति माङपाहाङ राई र मिजास तेम्बेजीहरूले हामीहरूलाई लिएर गए । धेरै पुरानो गुफा रहेछ । सन् १९१२ मा मोर्गान ब्रदर्सले पत्ता लगाएपछि यसको प्रसिद्धि सर्वत्र बढेको रहेछ । गुफा फराकिलो र यसका छत धेरै अग्लो रहेछ । गुफा भित्रभित्र नागबेली परेको एउटा सानो खोल्सो बग्दो रहेछ । गुफाको मरम्मत र सम्भार तथा दर्शकका सुविधाका लागि नै गुफाभित्रका यात्रापथको र बिजुलीको प्रकाशको व्यवस्था मरम्मत निरन्तर भइरहँदो रहेछ । हामी गुफाभित्र घुम्दै पस्दा पनि एकजना व्याक्ति सिमेन्ट मुछेको मसालासहित मरम्मत कार्यमा व्यस्त थियो । गुफा युगका कन्दमूल र सिकार गरी जीवनयापन गर्ने मानिसको रहनसहनदेखि हिजोआजका मानिसले लगनगाँठो कस्ने लगनमण्डपसमेतको व्यवस्था गुफाभित्र बगिरहने सानो खोल्सीको एकापट्टिको किनारमा व्यवस्था गरेको पनि देखियो ।

डायनोसोर युगदेखि गुफायुग हुँदै जीव तथा मानवजातिको क्रमिक विकास देखाउने गरेर मरम्मत र सम्भार निरन्तर भइराखेको दर्शनीयस्थल रहेछ । वेल्सको डान गुफामा पर्यटकहरूको ओइरो नै लाग्दो रहेछ । ससाना विद्यार्थीहरूलाई पनि विद्यालयले लैजाँदा रहेछन् अवलोकन र अध्ययनका लागि । पर्यटक र विद्यार्थीका लागि अत्यन्त महत्ववको यो गुफा निकै ठूलो क्षेत्रफलमा विस्तृत रहेछ । बढो चिरस्मरणीय रह्यो गुफाको भ्रमण र अवलोकन । अवलोकनपछि चियानास्ता लिएर त्यहाँबाट फर्कियौँ । गुफाबाट झर्दा तल फेदीमा रहेको हातामा चारैतिर घेराबारा गरेको ठूलो टारमा विभिन्न जनावर देखिए । तिनमा एकखाले पहिले नदेखेको घोडा पनि देख्ने संयोग मिल्यो । 

पेन–वाई–फान पहाडको आरोहण

ब्रेकन बजार (सहर) सानो तर राम्रो सहर रहेछ । बिहान एकछिन सहर घुम्यौँ । खाना खाएर हिजोअस्ति स्कचह्विस्की कारखाना र कार्डिफको भ्रमणमा जाँदा गएको बाटामा पर्ने त्यहाँ सबैभन्दा अग्लो डाँडा पेन–वाई–फान (Pen-Y-Fan) आरोहण गर्न जाने कुरा हिज नै चलेको थियो । पेन–वाई–फान पहाडको उचाइ आठ सय छयासी मिटर रहेछ भन्ने मिजास तेम्बेजीबाट थाहा भयो । त्यो डाँडाको चुचुरोसम्म ब्रिटिस सेनाकाहरूले बेलाबेलामा दौडँदै चढेर, दौडँदै करालो झरेर तालिम लिनुपर्ने र आफूहरूले पनि लिएको कुरा मिजास र नातिहरूले हामीलाई जानकारी दिनुभएको थियो । 

पहाडको फेदीमा पुगेपछि सबै गाडीबाट उत्रियौँ । त्यहीँ नौकाविहारका लागि बनाइएको निकै ठूलै तलाउको किनारमा उभिएर रमिता हेर्यौँ । त्यसपछि भने पहाडको आरोहणमा लाग्ने तयारी सुरु भयो । मलाई सक्नु हुन्न डाँडा चढ्नु भने यहीँ फेदीमै बस्नु, हामी एकदुई घण्टाभित्र आइपुग्छौँ भनेर मिजास र नरेस नातिजीहरूले भन्नुभएको थियो । तर भित्र मनले चढ्छु भनेर अठोट गरिसकेको थिएँ हिजै । हिजै अठोट गरेको आज साथीहरूसँग चुचुरोमा पुग्न सकिनँ भने त मेरो त चोल्लुङ नै ढल्छ (शिर ढल्छ) त हौ भनेर मित्रहरूलाई सुनाएँ । एकछिन हाँसो पनि भयो । हेरेँ उकालो बाटो उति ठाडो थिएन, करेङ करेङ परेको जस्तो गोरेटो देखिन्थ्यो । एकाध स्थानमा मात्र केही ठाडो देखिन्थ्यो । शारिरिक व्यायाम गर्नेहरू, दौडने अभ्यास गर्नेहरू उकालो छिटोछिटो जाँदै थिए । झर्नेहरू दौडँदै झर्दै थिए । अन्यत्र नाघीमा एकाध भेडाहरू कता कता झुन्डमा देखिन्थे । तर यहाँको पाखाभित्तामा हुलमा भेडा देखिएनन् । तर हुलबाट छुटेका एक्ला एक्ला भेडाहरू टाडा टाडा, अलगथलग चरिरहेका थिए । पहाड चढ्न सक्छु भन्ने त अन्तरमनमा लागेकै थियो । त्यसैले हामीहरू सानो खोल्सीमाथिको पुल तरेर लाग्यौँ उकालो । निकै माथि पुग्दा एक हुल तालिमे ब्रिटिस सिपाहीहरू डबल मार्चमा झर्दै थिए । झर्नेहरूलाई हेल्लो भनेर विस गर्दै उकालो लाग्यौँ । दिक्पाल र नामओती अगाडि थिए, पहिला पुगे । तिनका पछिपछि नरेस नाति अनि मलाई पर्खँदै हिँड्ने मिजास र म झन्डै ढेड घण्टा जति समय लगाएर टुप्पाको वल्लो डाँडाको चुचुरोमा पुग्न सफल भएँ । टुप्पाबाट चारैतिरका टाडाटाडासम्मका दृश्य, समुद्र र क्षितिजमा झुकेको आकाशको सुन्दर दृश्य हेर्दै रमाइलो मात्र होइन, आनन्दले विभोर भयौँ सबै । मुटुका धड्कन नै छिटोछिटो चलेजस्तो लाग्यो ।

सिरेटो जोडले चल्दै थियो । एकैछिनमा पानी पनि सिमसिम पर्न थालिहाल्यो । मिजास र नरेस नातिहरूले हतार हतार लगेको टेन्ट टाँगिहाले । बस्ने दरी पनि कति छिटो बिछाईहाले । नामओती, म र दिक्पालजी त पालभित्र घस्राक घुस्रुक आँटिहाल्यौँ । दुइ भाइ त सैनिक । झरीपानी सहने त बानी नै परेको । अलिअलि झरीपानी र चानचुने हावाबतासले नछुने । सानो हल्का किसिमको ग्यासको सिलिन्डर पनि बोकेका रहेछन्, हिफाजतसँग बालिहाले । कफी पकाए । तातो कफीसँग लगेका नास्ताहरू मजाले खायौँ । पातलो गरेर परेको हल्का झरी एकछिनपछि थामियो, सिरेटो भने कडा नै थियो । 

यहाँबाट टाढा टाढासम्म सबैतिरका स्थलहरू चिनिने गरी देखिँदो रहेछ । उत्तरतिर एक किलोमिटरको फरकमा अर्को यस्तै डाँडा, यसैको जोडी रहेछ । त्यहाँसम्म पुग्ने कि ? मिजासजीले सोधे । अबेला भइसक्यो, नजाउँ सबैले भन्यौँ । त्यही डाँडाको टुप्पामा निकैबेर फोटो खिँच्दै दृश्यावलोकन गरिरह्यौँ । विशेषतः साँझको सूर्यास्तको दृश्य हेर्न वेल्सका मानिस यहाँ चढ्छन् रे ! घाम पनि डुब्न लागेको थियो । सूर्यास्त हेरेर मात्र फिरौँ भन्दै थिए मित्रहरू । साँझ अँध्यारोमा झर्न कठिन होला भनेर मैले उहाँहरूलाई भनेपछि बिस्तारै ओरालो लाग्यौँ । अँध्यारो हुन लागेका बेला पनि एक्लाएक्लै पनि डाँडाको चुचुरो आरोहण गर्नेहरू उकालो उक्लिरहेका थिए, हामी झरिरहेका बेला पनि । झमक्कभन्दा पनि निकै अँध्यारो भए पछि मात्र फेदीमा पुग्यौँ जहाँ हाम्रा गाडीहरू छोडिएका थिए ।

हाम्रो तेन्जिङ शेर्पाले 
चढ्यो हिमाल चुचुरा

मित्ररूले पत्याएका थिएनन् ७७ वर्ष उमेर काट्न लागेका काइँला दाइले पनि पेन–वाई–फान (Pen-Y-Fan) डाँडा चढ्न सक्छन् भनेर । 'हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा' कै भान दिने गरेर मैले पनि आरोहण गरेको भनेर डाँडा पेन–वाई–फान लाई ‘काइँला हिल’ भनेर नाम पो राखियो है भनेर पछिबाट मिजासले ठट्यौली गरेर लेखेका थिए मलाई ।

बेलुकी एकजोडी पति र पत्नी नरेस नातिको निवासमा आए । जातिगत रूपमा लिम्बू रहेछन् । हामीसँग फोटोहरू खिचाए । ‘सैनिक जीवनबाट रिटायर्ड भएपछि यतातिर आएर दोकान गर्दै गरिखाँदै छौँ’ भने । गोर्खालीहरू (नेपालीहरू) कहाँ–कहाँ पुगेर बसेका रहेछन्, म त छक्क परेँ । किन आएका ? कता हिँडेका ? को छ यता यिनको ? मर्दापर्दा, बिरामी हुँदा कसले हेर्दा होलान् यिनलाई ? मनमा लागेर आयो ।

चित्त पटक्क बुझेन र सोधेँ, 'हन, यति टाढा किन आउनुभएको ? को छन् आफन्त यहाँ ? परिआउँदा कसले हेर्छ नि ?' अनेक प्रश्नहरू मनमा हुँडुलिएर उठे । निकैबेर हामीले दुःखसुखका कुराहरू, यतातिरका अनुभव र बसाईका कुराहरू गर्‍यौँ । 

मिजास र नरेश नातिहरू त जागिरको सिलसिलामा आज ब्रेकनमा छन्, कर्तव्य पालनका सिलसिलामा सरुवा भएर भोलि कहाँ पुग्ने हुन् ?

एउटा कुराले मेरो ध्यानलाई खिँच्यो । युके अर्थात् ग्रेट ब्रिटेनको निर्माण चारवटा देश इङल्यान्ड, स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डले मिलेर भएको हो । अङ्ग्रेजी भाषा विश्वव्यापी भइसकेको छ । बिहान एकछिन ब्रेकन बजार डुल्दा र पछि कार्डिफ सहर र स्वान सी सहर घुम्दा पनि सबै दोकान, कार्यालय वा सार्वजनिक संस्थाहरूका नामपट पहिले वेल्स भाषामा अनि अङग्रे्रेजी भाषामा थिए । पछि थाहा भयो वेल्समा दुईभाषिक नीति अनुसरण गरिँदोरहेछ । यसबाट वेल्सहरूको भाषाप्रेम र भाषाहरूलाई दिएको मान्यता छर्लङ्ग देखिन्छ ।

बेलुकीको खानपिन मिजास तेम्बेजीकामा थियो । उहाँहरूले नेपालबाट बेलायत निम्त्याएका हामी तीनैजना (म, राजन मुकारुङ र दिक्पाल) साहित्यकार र मेरी छोरी नामओती तथा काङमाङ नरेस राई उपस्थित थियौँ । खानाअघि निकैबेर सुखदुखका कुराकानी र विचारका आदानप्रदान भए । दिनभर घुमेकाडुलेका स्थान र अनुभवबारे चर्चा भए । 
मिजासजीको निवासमा उहाँको श्रीमती र नानीहरूका साथमा उहाँको जेठीसासुसँग भेटघाट भयो । मिजासजीको साढुदाजु हङकङमा काम गर्दा रहेछन् । मिजासजीको भनाइअनुसार हङकङमा काम गर्दाको कमाई तुलनात्मक रूपमा बेलायतभन्दा धेरै हुन्छ अरे । घर–परिवारकै कुरा गरेर समय निकै बिताएपछि रातको खाना खाएर हामी सबै आआफ्ना बासतिर लाग्यौँ ।

१० अक्टोबर, २०१५

राजकुमार दिक्पाललाई ब्रेकनमा मिजासजीकै निवासमा छोडेर ईङल्यान्ड फर्कने क्रममा हामी बाबुछोरी भने वेल्सकै स्वान सी जाने भयौँ । हामीलाई लैजानका लागि आतिथ्य दिने कवि तथा साहित्यकार रक्ष राई गाडी हाँकेर आफै बिहानै आइपुग्नुभएको थियो । चियानास्तापछि मिजास तेम्बे र उनको परिवार तथा नरेस नाति माङपाहाङ, राई र उनको परिवारसहित दिक्पालसँग बिदा भएर लगभग नौ बजेतिर हामीले कवि रक्ष राईसँग उनको बसोबासको भएको स्वान सीका लागि प्रस्थान गर्‍यौँ । 

बाटो पहिले स्कचह्विस्की कार्खाना अवलोकनमा जाँदा गएको बाटो नै परेछ । स्कचह्विस्की कार्खाना नाघेर करेङ करेङ परेको ओरालो बाटो जानुपर्ने थियो । ठाउँठाउँमा कुहिरोले छोपेका दृश्यावली मनमोहक लाग्थे । खाली डाँडा, रूखपात कम भएका सपाट नाघीहरू, नाघीमा चरिरहेका गोठालाबेगरका भेडाका बथान, कति हुलबाट छोडिएर एक्लाएक्लै चरिरहेका भेडाहरू देखिने करालो परेका भौगोलिक अवस्थितिका नाघीहरू नाघेर मोटर कुद्यो। पहाडमाथिबाट मूल फुटेर छङ छङ बगेका सेतो पानीका ससाना खोल्साखोल्सीले मनै कस्तो कस्तो बनाइदिन्थ्यो । चारैतिरको प्राकृतिक सुन्दरता निहार्दै यात्रामा हामीभने बढिरहेका थियौँ ।

बेलाबेलामा एकाध शब्दहरू बोल्दै स्थान–परिचय दिँदै रक्ष राईजीले गाडी हाँकिरहनुभएको थियो । ओरालोओरालो परेको सडक हुँदै समतलमा पुग्दानपुग्दा हामी पनि स्वान सीमा पुगिसकेछौँ । सहरबीचको आवास क्षेत्रमै रहेछ रक्षजीको निवास । पतिपत्नी दुई मात्र रहेछन् उहाँहरू । दुवैजना कामकाजी मानिस । रक्ष राईजीले बिदा मिलाएर ब्रेकनबाट हामीलाई लिएर आएका होलान् । भरे भरे भेटियो उहाँको श्रीमतीजीसँग पनि ।

सानो र राम्रो सहर डुलाउँदै अपराह्नका बेला नजिकैको समुन्द्रको किनारमा रक्ष राईजीले हामीलाई घुमाउन लैजानु भयो । यो समुद्रकै एक कुनो थियो । हावा खाने, घुम्ने ठाउँ रहेछ यताका मानिसहरूको यो ठाउँ । हावा खान, घुम्न निस्कने मानिसहरू विस्तारै भेला हुँदै थिए । निकैबेर दृश्यावलोकन गरेपछि रक्ष राईजीको निवास फर्कियौँ । बेलुकी पख त्यहाँ बस्ने भू.पू. सैनिकहरूको एउटा क्लब रहेछ, जहाँ उनीहरू नियमित भेटघाट गर्दा रहेछन्, रक्ष राईजीले लैजानु भयो । पुराना नम्बरीहरूमा केही भू.पू. गोर्खा (नेपाली) र केही भू.पू. गोराहरूसँग उहाँको भेट र गफगाफ भयो भने हामीसँग पनि परिचय गराई दिनु भयो । रमाइलो भयो । बेलुका रक्षजीको निवासमा चारपाँच जना नेपालीहरू आमन्त्रित थिए हामीसँग भेटघाटका लागि । यसरी त्यहाँ भेला हुनेमा इलाम चारखोलातिरका एकजना नेपाली सज्जन पनि थिए । सारै धेर रहेनछन् स्वान सीमा नेपाली । २०/३० घर जति छौँ भन्नुहुन्थ्यो रक्ष राईजी । आफन्तका त के कुरा, चिनजानका मानिस पनि नपाइने ठाउँमा, किन यति टाडा आएर बस्नुभएको ? वेल्समा उठेको मेरो मनको प्रश्न यहाँ पनि उठ्यो । ब्रेकनमा कामव्यवसायका सिलसिलामा बस्ने लिम्बू दम्पतिलाई सोधेको थिएँ अघिल्लो रात नरेस नाति माङपाहाङको निवासमा । विभिन्न विषयमा राती अबेरसम्म कुराकानी गरिबस्यौँ । तुलनात्मक रूपमा इङल्यान्डभन्दा रहनसहनमा मात्र नभएर युनिभर्सिटीको पढाई खर्च सस्तो छ वेल्समा भन्ने उहाँहरूबाट थाहा भयो ।

रक्ष राईजीको बैठक कोठामा राखिएका थोरै तर राम्रा पुस्तकहरू हेरेँ । उहाँका प्रकाशित कृतिमध्ये केही त्यहाँ थिए । तर चित्त नबुझ्ने कुरा के भयो भने नरेस नाति र मिजासजीसँग जस्तै रक्ष राईजीसँग पनि साहित्यसम्बन्धी कुरा त्यति हुनै पाएन ।

भोलि त बिहान सखारै उठेर तयार हुनुपर्ने तर अबेर मात्र बिछ्याउनामा जाने अवसर मिल्यो । भोलि एल्डरसटतिर कतै पान्थरे समाजको कार्यक्रममा भाग लिनका लागि १ बजेतिर नै पुग्नैपर्ने । हामीलाई लिनका लागि विन्चेस्टर (इङ्ल्यान्ड) बसोबास गर्दै गरेका भतिजा एकराज नेम्बाङ बिहानको ८ बजे नै आइपुग्ने बन्दोबस्त थियो । भोलिदेखि आयोजक बन्धुहरूबाट काठमाडौँ फिर्ने अघिल्लो दिनसम्मका लागि बिदा भएर मन्जु नेम्बाङ, केरुङ (हन्स्लो) र सावित्री नेम्बाङ, मेन्याङबो 
(फान्बोरो) छोरीभतिजीहरूकामा बस्न जाने पूर्व सल्लाह र सहमति थियो । 

साथीहरूसँग गर्न नपाएको साहित्यिक विमर्श

यस पटकको बेलायत यात्रा नेपाली प्रतिभा प्रतिष्ठानको सौजन्यपूर्ण आमन्त्रणमा भएको थियो । नेपाली प्रतिभा प्रतिष्ठानसँग आबद्ध सबै नेपाली साहित्यका स्थापित लेखक हुन् । मैले यसपटक बेलायत भ्रमणमा भेटेका आयोजक संस्थाका सबै मित्रहरू, जस्तै दयाकृष्ण राई, मिजास तेम्बे, रक्ष राई, काङमाङ नरेस राई, नरेश नाति माङमाहाङ,, टंक वनेम, जया राई, निर्मला राई परिवेसहरू सबै बहुविधाका स्रष्टाहरू हुन् । यिनका एकभन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् । उहाँहरूसँग निकै दिन नजिक नजिक भएर हिँडियो, बसियो र डुलियो । देशबाहिर रहेर पनि नेपाली साहित्यको श्रीवृद्धिमा निरन्तर लागेर योगदान पुर्‍याउने यी स्रष्टहरूले साहित्यको सबै विधामा कलम चलाएर योगदान दिएका छन् । कथा, उपन्यास, नाटक, कविता, गजल, मुक्तक र गीत विधामा डायस्पोराका नेपाली लेखकहरूको ठूलो योगदान छ । त्यस्तै निबन्ध, संस्मरण र नियात्रा विधामा समेत डायस्पोराका नेपाली लेखकहरूको योगदान स्मरणीय र सराहनीय छ ।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको निम्तोमा भएको यसपटकको मेरो बेलायत यात्रा साहित्यिक यात्रा नै थियो । यो साहित्यिक यात्रामा तर साहित्यिक विचार र विमर्षले त्यति ठाउँ पाएन । बल्ल बल्ल बेलायत पुगेको अन्य मित्रहरूका साथ छोरी नामओती र मलाई बेलायतका विभिन्न दर्शनीय स्थानहरूको भ्रमण गराउनु नै पहिलो काम उहाँहरूले बनाउनुभएको थियोजस्तो लाग्यो । फेरि कहिले बोलाउन सकिन्छ र ? जस्तो उहाँहरूलाई मनमा लागेको थियो होला पनि । घुम्दै बिते दिन । ब्रेकनमा मिजास र नातिसँग साहित्यिक विमर्ष हुन सकेन, भनौँ समय नै बचेन । त्यसरी नै मिडस्टोनमा खेरेसजीसँग पनि हुन सकेन । निकै टाडा बस्नु हुने दयाकृष्णजीसँग त सम्भव नै थिएन । बर्मिङधममा टङक वनेमजीसँग पल्लोकिरात लिम्बुवानको इतिहास र त्यहाँको श्रुतिपरम्परा भनेको मुन्धुमसम्बन्धी धेरथोर कुराकानी हुनसकेको थियो । यसपटकको मेरो बेलायत यात्रा एकप्रकारले साहित्यिक यात्रा भएर पनि बेलायतको देशदर्शनको यात्रा भयो ।