बिगवेन

बिगवेन

देवेन्द्र खेरेस  |  साहित्य  |  फाल्गुन १, २०७७

बिगवेन
भवनको टुप्पामा बसेर
घडीको काटाँहरू घुमाउँछ
र, मानिसहरूको दिमागमा डस्छ
उसको छेउबाट बग्छ
थेम्स नदी
उसैको समय सिरानी लाएर सुत्छ/उठ्छ
वेस्ट मिनिस्टर ।

यो सोर्हटनको तामाको भारी कसले उचाल्यो ?
कहिलै प्रश्न उठ्दैन
यो महलको भित्ता कसले उठायो ?
कसैले तर्क गर्दैन
यहाँ अफ्रिकाको सुनखानी सम्झेर
भोका नाङ्गाहरूमाथि प्रश्न उठ्छ
अरबको तेलखानी सम्झेर
डाउनिङ स्ट्रिट तिर्खाले छट्पटिन्छ
विश्वका वरिपरी देख्ने आँखाहरू
आफ्नै आगनलाई हेर्न बिर्सन्छन् ।

बिगवेन
तिम्रो टाउकोमा बिहान दस बजे
काठमाडौँको सडकमा अपराह्न चार बज्दछ
सिकागोमा बिहान बिउँझने वेला
केपटाउनमा साँझ हुनै लाग्छ
एकै यन्त्रमा बनाइएका घडीहरू
एकै सारमा घुम्ने काँटाहरू
किन एकै समय बताउन सकिरहरेको छैन ?
भिन्न ठाउँमा
भिन्न–भिन्न समय
प्रकृतिलाई जित्न सक्यौ त ?
 

बिगवेन
विश्व समयको साँचो बोकेर
ग्रीनवीच समय भ्रम बाँडिरहेछ
आज मानिसहरू
न दिनमा सुखले बाँच्न सकेका छन्
न रातमा ढुक्कले निदाउँन सकेका छन्
आफ्नो लागि दिन/ रात भन्न नपाई
जीवनमा सजाउने सुकोमल सपनाहरू
पूरा हुन्छ/हुँदैन ?
तर घडीको काँटालाई पछ्याउन छाडेको छैन ।