चन्द्रमा उदाएकी छे

चन्द्रमा उदाएकी छे

लालसुन्दर राई  |  साहित्य  |  फाल्गुन १, २०७७

कहीँ उदास बादलको महलमाथि
एउटा विशाक्त मुग्लानको परिवेशभित्र
बिमारी सूर्य दुब्लाएर
मुस्कान बेचिएको सहरभरि
मेरो फिक्का जीर्ण जीवन निर्जन पखेरुमा
सायद होला निक्कै अस्तिदेखि
अनु्पम आँखाको दर्पण
मनोरम मोह प्रणय प्रशान्तभित्र
यहाँ भर्खरै कोही पौडिन थालेकी छे ।

मात्र सूक्ष्म कण अल्झिएर नयनहरूमा बिझ्दा
सह्य नहुने मेरा यी मुलायम नानीभित्र
अब तातिन सिङ्गो वदन पनि
केवल मलमल स्पर्शमा
मलाई सु्मसु्म्याउन थालेकी छे ।

दुखाउन वा विषाउन त परै जाओस्
बरु स्वच्छ आकाशमुनि
विशाल धर्तीभरि शीतलता सिँचेर
स्वच्छ आकाशमाथि जृ्नताराहरूको मेलामा
सुखद् साधनको रमाइलो उद्यान भएर
मेरो मन उधुम रमाउने कारण बनेको छ ।

पतझर मन पाउलियो फेरि हृदयपखेरुमा
ढुकढुकीभित्र प्रज्ज्वलित न्यानो किरण
जूनतारा सजाइदिएर
मभित्र मन निकै माथि उमारिएको छ ।

दिलभरि रङ्गीन गुलाव, चाँप, चमेली
उजाड हृदयमा
चन्द्रमाको मुस्कान फक्राइदिएर
तिनकै हिमचुली पहरा छहरामा रमाउँदै
मीठो स्पर्शमा मलाई सुमसुम्याएकी छे ।

सधैँभरि पीडा सजाई खोलो बहाउने
मेरा निराश यी चक्षुहरूमा
मदहोस पावनसरि रङ भरिदिएर
औषधितुल्य ममा उपचार भएको छ ।

अङ्गअङ्गहरूमा
अलौकिक भावना छचल्काउँदै
सुस्तरी दिलको सागरभित्र
निरन्तर कोही यहाँ पौडी आउनेले
सधैँ दुखिरहने उष्ण बिमारी मन
सुटुक्क तिनैले चटक्क निको पारेकी छे ।

सायद यसरी नै नैराश्य जीवनका मरूपटमाथि
कैयौँ युग अगावै असहाय पलभित्रै
दुब्लाएका आँखाहरूसँगै मरिसकेको हुन्थेँ होला
सागर वार न त पार दिशाहीन नाउभित्रै
जिन्दगी यसै ओसिएर कहीँ अस्ताएको म बन्थेँ होला
तर आज जीवन नदीको छाल मभरि छल्काई
तिनकै मधुमयी गुलाबी मुस्कान
जिन्दगीको सुन्दर चन्द्रमा उदाई झुल्किएर
साहसले जिउने रहरभरि
हृदयका अनुपम सबल भावनाहरू
कलेजी मुटुको हरेक टाकुरामाथि
वसन्तको गुलाब अङ्कुराएर
सर्वाङ्ग शिखरभरि चन्द्रमा उदाएकी छे ।