पाप, धर्म र ईश्वरको अस्तित्व : सिँगारिएको न्युयोर्क ८६ ‌औँ तलमा हाते रुमालको दुई सय त्रियानब्बे डलर !

फर्कलान् र ती दिनहरु

पाप, धर्म र ईश्वरको अस्तित्व : सिँगारिएको न्युयोर्क ८६ ‌औँ तलमा हाते रुमालको दुई सय त्रियानब्बे डलर !

हरिविनोद अधिकारी  |  साहित्य  |  फाल्गुन १, २०७७

आजको संसारमा फेरि धर्म र पापको कुरा सलबलाउन थालेको छ । नितान्त भौतिक संसारमा ती आध्यात्मिक चिन्तनको के महत्व होला र पनि संसारमा धर्मप्रति आस्था हुने व्यक्तिहरुको संख्या अत्यधिक देखिन्छ । अरु त अरु  संसारलाई प्रगतिशीलताको शिक्षा दिने, आधुनिकताको प्रतीक बनेको संयुक्त राज्य अमेरिकाका राष्ट्रपति चुनिने पुरुष व्यक्तिले दाहिने हात माथि उठाउँदै देब्रे हातले आफ्नो परिवारको सबैभन्दा पुरानो बाइबलमा हात राख्दै मुलुक, जनता र सम न्यायका लागि परमात्मा वा अदृश्य तर सर्व शक्तिमान मानिँदै आएका भगवानलाई साक्षी राखेर शपथ लिएको देखिन्छ । यदि त्यो पुरुष वा महिला अन्य धर्मको भए पनि सायद उनको धर्मको मुख्य पुस्तकलाई छोएर शपथ गर्नु पर्थ्यो होला । त्यसैले आधुनिक समाजमा पनि धर्मका नाममा शपथ लिने चलन रहेको पाइन्छ । 

हाम्रो पनि संविधानले ईश्वरका नाममा या जनताका नाममा जे भनेर शपथ लिने हो, त्यसका लागि शपथ पत्रमा चिन्ह लगाएर र बोलेर शपथ लिइन्छ । एकातिर ईश्वरका नाममा शपथ नलिने अनि पशुपति नाथका गएर पूजा आजा गर्ने असल चलनको पनि आधुनिक पारा देखिन्छ । जे होस् धर्मका नाममा ईश्वरको अस्तित्व आज पनि छ जो हिजो पनि थियो । धर्मको कुरा गर्ने बित्तिकै पापको कुरा त्यहाँ शरीरमा छाया जस्तै गरी पछ्याएर आउँछ । साँच्चे नै  त्यो अदृश्य ईश्वरको सत्ता कति बलबान छ ? देखेको पनि छैन, भेटेको पनि छैन, दोहोरो वार्ता पनि भएको छैन तर त्यसको भय नै मानिसहरुका लागि नैतिक बन्धनमा राख्ने एउटा जीवन्त कडी बनेको छ । कतैतिरबाट पनि सन्तोष मिलेन, न्याय पाइएन भने अन्तिम सहारा ईश्वर नै मानिन्छन् र उनैको आशीर्वादका भरमा जीवनको बाँकी समय बिताउने भन्ने आड भरोसा हुन्छ ।

अझ भनिन्छ, अरुका घरमा अन्याय भए पनि भगवानका घरमा कुनै अन्याय हुँदैन अनि न्यायान्यायको छानबिन अरुले गर्न नसके पनि उनैले दूधको दूध पानीको पानी छुट्याउँछन् भन्ने  अपेक्षा आम जनमानसमा देखिन्छ । मैले आफूलाई धर्म अफिमको सिद्धान्तलाई मान्ने माक्र्सवादी भन्ने चीनमा पनि युवाहरुमा धर्मको वारेमा मान्नु हुँदैन भन्ने शिक्षा भए पनि उनीहरु गौरवका साथ भन्नेगर्छन् - हाम्रा बाजे वा बज्यै त बुद्धिस्ट थिए । अर्थात् उनीहरुको भित्री मनसाय के पनि हुनसक्छ भने हामीमा बुद्धिस्टको रगत बगेको छ । अझ कति त इस्लाम धर्म मान्नेहरु पनि छन् त धर्मका वारेमा निरपेक्ष मानिने चीनमा इसाइहरुको संख्यो भूमिगतरुपमा करोडौँ थपिएको छ र प्रत्येक युवामा एउटा आधिकारिक चिनियाँ नाम अनि निक नामका लागि पश्चिमा नाम राखिएको पाइन्छ । खासगरी युवा पीँढी अबको साइबर युगमा बाँचेको छ । 

एकजना चिनियाँ प्राध्यापकले पेइचिङ्मा भएको हाम्रो सेमिनारमा न्यु मिडिया अर्थात् पत्रकारितामा नयाँ सूचना प्रविधिका वारेमा अन्तरक्रियात्मक कक्षा लिँदा भनेका थिए- आजको चीनको तीब्र विकास पनि इन्टरनेटका माध्यमबाट र सूचना प्रविधिको विकासका कारणले भएको छ एकातिर भने चीनको सामाजिक परिवेशलाई इन्टरनेट चुनौतीका रुपमा पनि छ । उनको संकेत चीनको राजनीतिक प्रणालीको सीमित अभिव्यक्ति स्वतन्त्रतापट्टि बुझ्न सकिन्थ्यो किनभने प्राज्ञिक कक्षामा समेत खुलेर आफ्नो देशको मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रता, प्रकाशन स्वतन्त्रताका बारेमा उनीहरु जिभ्रो चपाएर बोल्थे । उनीहरुले आफ्ना उच्च शिक्षा बेलायत, अमेरिकामा छात्रवृत्तिमा गरेका थिए र कतिले त संयुक्त राष्ट्रसंघअन्तर्गतका संस्थाहरुमा चीन बाहिर पनि काम गरेका थिए ।

सायद त्यसैले उनीहरु सरकारको विरोध गरेर आफ्ना हुँदाखाँदाको कामबाट हात धुन पनि चाहँदैनथे र अन्तरात्माको आवाजलाई दबाउन पनि सक्दैनथे । बिचको भाषामा बोल्थे । सम्भवतः सीमित र निर्देशित मानव अधिकारको व्यवस्था भएका देशहरुमा या सत्ताका पक्षधरहरुलाई सबै प्रकारका स्वतन्त्रता उपलब्ध गराउने चलन भएका देशहरुमा धर्म भनेको सत्ताको इच्छा पुर्‍याउनु हो र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपभोग गर्न पाउने देशहरुमा त्यस्तो सीमितता पाप हो र देखेको बोल्न, लेख्न, प्रकाशन प्रसारण गर्न  पाउने, सूचना प्रसारण गर्न पाउने अधिकार नै धर्म हो । त्यसैले धर्मका परिभाषा गर्ने हो भने समाजले भनेको राम्रो काम गर्नु नै धर्म हो र राम्राका लागि बोल्ने अधिकार नै धर्म हो । पाप त्यसको उल्टो त होइन तर गर्न नहुने कामको विवरणभित्र पापलाई खोज्न सकिन्छ । हाम्रो पूर्वीय सभ्यतामा धर्मलाई जसले धारण गर्न सक्छ, त्यसलाई धर्मले रक्षा गर्छ रे ज ! जसले धर्म अर्थात राम्रो वा नराम्रोको छानबिन गर्न सक्दैन, त्यसलाई धर्मले रक्षा गर्न सक्दैन । 

केही त किन्नै पर्‍यो भनेर एउटा रेशमको हाते रुमालको मूल्य सोधेँ। उनले भनिन् -'टु नाइन्टी थ्री '। मैले सम्झैँ टु डलर नाइन्टी थ्री सेन्ट ।सानो रुमाल थियो ।अनि मैले ५ डलर झिकेर दिएँ र फिर्ता आउला अनि सामान पनि पाइएला भनेर उभिएँ । अब उनलाई पनि आफ्नो गल्ती महसुुस भयो र मलाई पनि । वास्तवमा त्यो अङ्क दुई सय त्रियान्नब्बे डलर रहेछ । उनले पनि सहज तरिकाले भनिन् र मैले पनि सानो रुमाल भएकाले थोरै नै मूल्य रहेछ भन्ने ठानेँ । त्यो दुवैजनाको रमाइलो क्षण भयो । दुवै हाँस्यौँ ।

वेदान्तमा एउटा कथा उदाहरणका लागि दिइएको छ- एकजना हत्यारालाई आफूले गरेको कामको प्रायश्चित गर्न मन लागेछ । उसले कति लुट्यो कति पिट्यो त्यसको त के लेखाजोखा भयो र ? तर उसलाई आफूले गरेको हत्याका वारेमा निश्चित थियो , ७० जनाको चाहिँ हत्या गरेका कुरा उसलाई नाम गाउँ समेतको विवरण सम्झेको थियो । अनि एकजना महात्मा योगीको कुटीमा गएर पश्चातापको आगोको रापमा आफु तड्पिएकोले पापबाट मुक्ति दिलाउन अनुनय विनय गर्न थाल्यो । योगीको चलन अनुसार उनले भने -आफ्नो मनमा प्रायश्चित गर्ने विचार आएपछि त चित्त शुद्ध भयो, जाऊ र ध्यानमा बस, फेरि त्यस्तो काम नगर । त्यो आफूलाई अधर्मी , पापी सम्झनेले योगीको खुट्टामा ढोग्दै कुनै कठोर सजाय दिनका लागि अनुरोध गर्न थाल्यो ताकि आफू ७०जनाको हत्याको पापबाट मुक्त हुन सकूँ । योगीलाई लाग्यो यो के आपत आइलाग्यो हँ । मैले कसरी यसको पापबाट मुक्ति दिलाउन सक्छु र ? तत्कालै योगीले एउटा जुक्ति निकाले र भने -हे आफूलाई अक्षम्य अपराधी मान्ने मान्छे, अब म कालो झण्डा दिन्छु र त्यो लिएर धार्मिक स्थलहरु घुम्दै गर,  जहाँ गएपछि यो कालो झण्डा सेतो हुन्छ, त्यहाँ तिम्रो पाप सिद्धिन्छ र तिमी पापबाट मुक्त हुनेछौ । यति भनेर एउटा मोटो डन्डामा कालो लुगाको ठुलो झण्डा दिएर योगीले उसलाई विदा गरे र ढुक्क भए कम्तीमा पनि यो त गयो । कहाँ गरेको हत्याको पाप पखालिन्छ अनि कहाँ यो कालो झण्डा सेतो हुन्छ र ? 

करिब २ वर्ष ६ महिनापछि एकदिन त्यो आफूलाई पापी ठान्ने व्यक्ति सेतो झण्डासहित आएर गुरुको चरणमा ढोग्दै भन्नथाल्यो -मेरो झण्डा असी घाटमा पुगेपछि सेतो भयो । योगी अकमकिए र भने- असी घाट ? कहाँ छ यो असी घाट ? अनि त्यो यही झण्डा हो त मैले तिमीलाई बोकेर हिँड्नका लागि दिएको ? ऊ खुसीले गदगद हुँदै भन्नथाल्यो- हो गुरुदेव, यही झण्डा हो । मलाई पापबाट मुक्त हुन असी घाट नै पुग्नु परेको रहेछ । वास्तवमा गुरुले त्यो असम्भव कुरालाई सदाका लागि पन्छाउन त्यस्तो कामको जिम्मा लगाएका थिए कुनै कालो कपडा कहिल्यै सेतो हुनै सक्दैन भनेर । 

त्यो सुनेपछि गुरु या योगी छक्क परे अनि गुरुले अझ नबुझेर असी घाटका वारेमा सोध्न थाले - अनि कहाँ रहेछ त यो असी घाट र कसरी र कहिले थाहा पायौ त त्यो झण्डा कालोबाट सेतो भएको ? अनि त्यो असी घाटका वारेमा भन्नथाल्यो - डुल्दैजाँदा एकदिन रातमा रुखमाथि चढेर सुतेको थिएँ जङ्गली जन्तु जनावरको डरले । पहिले भए त म हतियार चलाउँथेँ र डर लाग्दैन थियो तर अहिले त हतियार नचलाउने भएकाले म रुखमा चढेर सुतेको थिएँ । विहान भएछ र मानिसहरु बाटामा हिँडेको आवाजले ब्युँझिएँछु । यसो बाटामा हेरेको त एउटी मैतालु आफ्ना भरियाहरु लिएर, गहनाहरुले झकिझकाउ भएर हिँडिरहेकी थिइन् । त्यही बेलामा उनलाई दीर्घशङ्काले च्यापेछ क्यारे, ती खासखास खुसखुस गरी ती भरियाहरु र सहयोगीहरुभन्दा अलिपर खोलाको छेउमा गइन् र सबै लुगा फुकालेर दैनिक कार्यमा निवृत्त हुन थालिन् । उनका सुनका गहना, हीराको हार र अरु रत्नजडित गहना लुट्न भनेर १०जना डाकाहरु उनका पछिपछि आइरहेका रहेछन् जुनकुरा उनलाई, उनको अङ्गरक्षक तथा भरियाहरुलाई थाहा थिएन । जब उनी एकान्त स्थानमा गइन्, ती दशजना डाकाले एकैपटक आक्रमण गरेर उनको सतीत्व माथि र सम्पत्तिमाथि आक्रमण गर्न लागे ।

रुखमाथि  बसेकोले मैले ती सबै चर्तिकला देखिरहेको थिएँ । उनलाई अब बचाउन कोही पनि साथी नजिक थिएन र उनी एकप्रकारले नाङ्गै पनि थिइन् । अचानक ती दशजनाले घेरेर उनमाथि गर्न लागेको व्यवहारले तत्कालै  मेरो मनमा उनलाई बचाउने मात्र ध्याउन्न भयो र यही झण्डा लिएर गाम्राङ गुम्रुङ झरेँ र ती साथीविहीन अबला नारीलाई बचाउन एक्लै पुगेँ ।  विवाद हुन थाल्यो । मैले त्यही झण्डाको डन्डाले पिटेर ती दशजनालाई मारेँछु । यसो हेरको ती डाकाहरु निश्चल भए र मैले ती नानीलाई भनेँ -यसरी निर्जन वनमा विना साथी लघु वा दीर्घ शङ्कामा जानु हुँदैन । आज कसो मैले रुखमाथिबाट देखेर बचाउन सकेँ ।

भगवानलाई धन्यवाद छ तिम्रो बचाउ गर्न मैले भ्याएँ । त्यही बेलामा उनका साथीहरु पनि कता जानुभयो भनेर खोज्दै आए र मैले उनीहरुको जिम्मामा उनलाई लगाएर आफ्नो बाटो लागेँ । एकछिन पछि नुहाउन भनेर नदीको किनारामा यो के गएको थिएँ, पानीमा देखेँ मेरा झण्डा त सेतो पो भएको रहेछ । ७० जना मारेर पापी भएकाले पाप पखाल्न कालो झण्डा बोकेर हिँडेका म त ७० माथि अरु १०जना मारेपछि पो मेरो कालो झण्डा त सेतो भएछ गुरु ! के अब मेरो पाप पखालियो त ? हाम्रो पूर्वीय मान्यतामा गुरुले वा साधकले कहिल्यै झुठो बोल्दैनन् भन्ने मान्यतानुसार झण्डा सेतो भएपछि आफ्नो पाप पखालिएर अब पापबाट मुक्ति भएको ठानेर त्यो फर्केको थियो । 

यो उदाहरणले हत्याको परिभाषा र हिँसाको परिभाषा नै बदल्यो । गुरुले पनि भन्न थाले- असी घाटको दर्शनले पापीको पाप पखालियो ।

अठार पुराणको अन्त्यमा श्री कृष्ण द्वैपायन व्यासले दुई कुरा भनेका छन् - परोपकार पुण्याय पापाय परपीडनम् । अर्थात् परोपकार नै पुण्य हो र अरुलाई पीडा दिनु नै पाप हो । पाप र धर्मका वारेमा भारतीय उपन्यासकार भगवतीचरण वर्माको उपन्यास चित्रलेखाले नयाँ हलचल ल्याएको  थियो जुनबेलामा यो उपन्यास प्रकाशित भएको थियो । उपन्यासमा गुरुकुलीय प्रमुख रत्नाम्बरले आफ्ना शोधार्थीहरु श्वेतांक र विशालदेवलाई संसार चिन्नका लागि अर्थात् पापको परीक्षण गर्नका लागि या पापलाई नजिकैबाट चिन्नका लागि शोधका लागि दुईओटा आश्रममा पठाउँछन् - एकजना महासामन्त वीजगुप्तको दरबारमा श्वेतांक(क्षत्री)लाई र साधक कुमार गिरिको आश्रममा विशालदेव(ब्राह्मण)लाई पठाउँछन् । त्यो पुस्तकमार्फत् वर्माले पाप, प्रेम, धर्म र संसारलाई समाजसामु विभिन्न प्रश्न र उत्तरमार्फत् तिनै पात्रहरुको माध्यमबाट चिनाउँछन् जसमा केन्द्रीय पात्र छिन् चन्द्रगुप्त मौर्यको दरबारकी प्रख्यात नर्तकी चित्रलेखा । 

पाप चिन्न भनेर पठाएका शोधार्थीहरु नै दरबार र कुटीका प्रमुख मूल्यांकनकर्ता हुन्छन् तर सम्पूर्ण उपन्यासमा चित्रलेखाका तर्कहरुले नै सबैलाई पथ प्रदर्शन गरेको हुन्छ । शोधार्थीहरु साँच्चिकै जीवनमा पसेर जीवन र जगतका वारेमा जुन अनुभव गुरु रत्नाम्बरलाई सुनाउँछन् , त्यसमा उनीहरु जसको वारेमा शोध गर्न गएका थिए तीबाट अत्यन्त प्रभावित हुन्छन् र महासामन्त वीजगुप्तचाहिँ विराग र योगी कुमार गिरिचाहिँ अनुरागको मूर्ति भएको अनुभूत गर्न सकिन्छ । सकाम कर्म र निष्काम कर्मका वारेमा अनेक कोणबाट व्याख्या गरिएको छ ।

तर पाठकले त्यहाँ पाप र धर्मका विभिन्न कोणबाट आफूलाई परिभाषित गरेको पाउँछ र पापका वारेमा गुरु रत्नाम्बरको साराँश सुन्नु जरुरी हुन्छ -संसारमा पाप भन्ने छैन, पाप त केबल मनुष्यको दृष्टिकोण विषमताको अर्को नाम हो । प्रत्येक व्यक्ति एक प्रकारको मनप्रवृत्ति लिएर जन्मिन्छ । प्रत्येक व्यक्ति यो संसारको रङ्गमञ्चमा एक अभिनय गर्नका निम्ति आउँछ । आफ्नो मनप्रवृत्तिबाट प्रेरित भएर आफूले तोकेको पाठ दोहोर्‍याउँछ । यही हो मनुष्यको जीवन । मनुष्यले गरेका जुनसुकै काम पनि उसको स्वभावको अनुकूलले हुन्छ र स्वभाव प्राकृतिक हो । मनुष्य आफ्नो स्वामी होइन, ऊ परिस्थितिको दास हो - ऊ लाचार छ । ऊ कर्ता होइन, ऊ त केबल साधन हो । अनि पुण्य र  पाप कताबाट आयो ?मनुष्यमा ममत्व प्रधान छ । प्रत्येक मनुष्य सुख चाहन्छ । केबल बेग्लाबेग्लै व्यक्तिको सुखको केन्द्र बेग्लाबेग्लै हुन्छ । कोही धनमा सुख देख्छन्, कोही त्यागमा देख्छन्, तर प्रत्येक व्यक्ति सुख चाहन्छ । संसारका कुनै पनि व्यक्ति आफ्नो इच्छानुसार त्यस्तो काम गर्दैन जसबाट ऊ दु्ःख पाओस् -यही हो मनुष्यको मनप्रवृत्ति र उसको दृष्टिकोणको विषमता । त्यसैले संसारमा पापको एक परिभाषा हुन सकेन - र न हुन नै सक्नेछ । न हामी पाप गर्दछौँ, न पुण्य नै गर्दछौँ, हामी त त्यो गर्दछौँ जो हामीले गर्नुपर्दछ । 

त्यसपछि रत्नाम्बर उभिएर  भने -यो मेरो मत हो, तिमीहरु यसलाई मान या नमान । म तिमीहरुले यसलाई मान्नैपर्छ भनेर बाध्य गर्न सक्दिन । जाऊ र सुखसँग बस । .......

मैले उपर्युक्त भनाइहरु भगवतीचरण वर्माको चित्रलेखाको नेपालीमा अनुवाद गर्नुहुने तारिणीप्रसाद कोइरालाको पुस्तक चित्रलेखाबाट लिएको हो जसको पछिल्लो प्रकाशन ओरियन्टल पब्लिकेसन काठमाडौँले गरेको छ । मेरोलागि पाप र  पुण्यका लागि  यति विस्तृत परिभाषा र व्याख्या  भएको सहज पुस्तक अरु लागेको छैन । पूर्वीय सभ्यताको कति राम्रो केस्रा केस्रा गरी पात्रहरुको मुखबाट बोलिएको सम्वाद तथा पात्रहरुले देखाउने व्यवहार । पापको यति राम्रो परिभाषा र विषद व्याख्या अरु कहाँ पाउनू र ? यसबाहेक अन्य पाप र धर्म अनि संस्कृतिका वारेमा अन्य प्रसङ्गमा आगामी दिनमा लेखौँला । यसपटक पनि फकौँहोला संयुक्त राज्य अमेरिकाको वारेमा मेरा अनुभूतितर्फ ।

सियाटलबाट काठमाडौँ फर्कनु पनि त थियो कम्तीमा पनि जनवरी ९ सम्ममा अमेरिकाको न्युयोर्कबाट नेपाल प्रस्थान गर्नु जरुरी थियो । सायद परराष्ट्र मन्त्रालयको टिकटको र अमेरिकी अध्यागमनको अवस्था के थियो जस्तो लाग्यो भने जुन विमानस्थलबाट मैले पवेश गरेँ , त्यहीँबाट प्रस्थान पनि गर्नु जरुरी थियो क्या रे । किनभने लुफ्थान्सासँग मेरी बहिनीले टिकटको समय सार्नेक्रममा सोध्दा त्यसै भनेको जस्तो लाग्छ । त्यसैले पनि म न्युयोर्क आउनु जरुरी थियो । करिब ५ घण्टाको उडानबाट सियाटल विमानस्थलदेखि न्युयोर्कको जोन एफ केनेडी अन्ताराष्ट्रिय विमानस्थलमा म २७ डिसेम्बरको विहान आएँ २००७को । 

मलाई न्युयोर्क हेर्न पुगेकै थिएन । घुम्न त घुमियो तर यति धेरै ठाउँ रहेछन् कि जति घुमे पनि त्यो कमी नै हुने रहेछ । अल कायदाले दुई ओटा विमान अपहरण गरेर ठोक्काएर ध्वस्त पारको जुम्लाहा भवनमाथिको आतङ्ककारी आक्रमणको छायामा अमेरिका थियो र कुनै पनि बेला हुनसक्ने आतङ्ककारी हमलाका लागि अमेरिका मानसिक रुपमा तयारी थियो जस्तो लाग्यो । रेलमा गरिने सुरक्षाको प्रवन्ध, विमानमा गरिने सुरक्षा जाँचले देखाउँथ्यो संसारको शक्तिशाली देशलाई अदृश्य हमलाको कति धेरै डर थियो र २००१ को सेप्टेम्बर ११को (नाइन इलेभेन)त्रासदीको छाया सायद अझै पनि देखिन्छ होला झन त्यो बेला त बेलै त्यस्तो थियो । 

वास्तवमा त्यहीँ बसोबास गर्ने र स्थायित्व ग्रहण गरेकाका लागि अमेरिका एक प्रकारले स्वर्ग नै रहेछ । समानताका नारामात्र होइन , व्यवहारमा पनि देखिँदो रहेछ । तर पनि अश्वेत र श्वेतका बिचका भिन्नता, अमेरिकी र प्रवासमा आएका अन्य देशका मानिसहरुका बिचमा कानुनले त्यस्तो भिन्नता देखाएको त पाइएन तर व्यवहारमा भने भिन्नता पाएँ । सामान्यता बसमा, रेलमा अश्वेतहरुसँग बस्न श्वेतहरुले त्यति मन पराएको जस्तो लागेन जवकि एसियनहरुले अफ्रिकन अमेरिकनहरुसँग भिन्नता देखाएको पाइँन । शिक्षा एकप्रकारले निःशुल्क नै छ, जसले बिमा गरेको छ उसका लागि स्वास्थ्य सेवा स्तरीय र निःशुल्क नै पाइन्छ ।

ग्रिनकार्ड पाएर बसेका वा गएकाहरुलाई समानताको दृष्टिकोण राखेको पाइन्छ । अमेरिकाको विशेषता भनेको सुरक्षा पनि हो । चुनौती र आड भरोसको बिचको रेखामा सुरक्षा प्रवन्ध रहेको पाएँ । हतियार किन्न पाउने मौलिक हकका कारणले हजारौँ मानिसहरु मारिएका छन् र पनि त्यो आत्म सुरक्षाको व्यक्तिगत प्रवन्धलाई छेक्न त्यहाँको संविधानले पनि दिँदैन, विधिको शासनको कारणले त्यो हतियारको संग्रह कानुनी चुनौती पनि हो र त्यहाँको सरकारको विशेषता पनि हो रहेछ । भनिन्थ्यो सामान्यतया अश्वेतहरुले एक डलर या पाँच डलर विनाकारण पनि माग्छन् । दिए त ठिकै छ , नदिए खल्तीबाट पेस्तोल निकालेर हान्ने भएकाले खुद्रा नोट एउटा खल्तीमा राखेर हिँड्नका लागि हामीलाई अभिमुखीकरण भनिएको पनि थियो दूतावासमा । हुन त त्यो कुरा अनौपचारिक थियो तर ज्यान सुरक्षाका वारेमा अत्यन्त महत्वपूर्ण जानकारी थियो । सायद त्यही भएर पनि होला, न्युयोर्कमा सुरक्षाको प्रवन्ध गर्नेमा अश्वेतहरुको  संख्या धेरै देखँे मैले । थाहा छैन म हिँड्ने बाटोमा त्यस्तो देखिएको हो कि ? 

अमेरिका वास्तवमा वहु साँस्कृतिक समाजको धनी छ । त्यहाँ मुख्यतः युरोपबाट गएका , अफ्रिकाबाट गएका, एसियाबाट गएकाहरुको ठुलो संख्या छ । जहाँ जहाँबाट मानिसहरु गएका छन्, ती देशहरुको या समाजहरुको प्रतिविम्ब पाइन्छ । शिक्षाको उज्यालो घामबाट कोही पनि बाहिर नपरुन् भनेर कुनै बच्चा विद्यालय जानबाट नछुटोस् भन्ने नीति लिएको पाएँ । खासगरी पब्लिक विद्यालयहरुको राम्रो प्रवन्धका वारेमा सुनेँ र विश्व प्रसिद्ध विश्व विद्यालयहरुको संख्या पनि त्यहाँ अत्यधिक रहेछन् । बोस्टनलाई त शिक्षाको केन्द्र नै मानिँदो रहेछ । कोलम्बिया विश्वविद्यालय जस्ता धेरै विश्वविद्यालयहरु होलान जहाँ मानवीय आवश्यकताहरुको साक्षात्कार गराइँदो रहेछ । शिक्षालाई जीवनसँग जोडेर जहाँ विद्यार्थीहरु तयार हुन्छन् , पक्कै त्यो देशको विकासको जग त्यही नै हुँदोरहेछ । 

अमेरिकाको पुरानो स्वरुप हराएको छ र आधुनिक समाजको नयाँ विकासक्रम देखिन्छ । विश्वका जुन जुन संस्कृतिबाट अमेरिका पुगेका छन् , अहिले अमेरिकाको साँस्कृतिक पहिचान नै त्यही बन्न गएको छ । मैले युरोपका देशहरुमा जस्तो जताततै चर्चहरु देखिन खासगरी न्युयोर्कमा , डालमा र सियाटलमा । भाषामा त अंग्रेजी र स्पेनिस भाषाको जगजगी पाएँ । अब भारतीयहरुको संख्या धेरै छन् र नेपालीहरु पनि नपुगेको सहर सायदै अमेरिकाका कुनै राज्य होस् । अझ धेरै बसोबास भएका ठाउँहरुमा न्युयोर्क , डालस नै मुख्य होलान् । सियाटलमा अश्वेतहरुभन्दा चिनियाँहरु , जापानीहरु र कोरियनहरुको संख्या धेरै रहेछ । खासगरी राज्यहरु पनि रिपब्लिकन र डेमोक्रेटहरुका आधारमा गणना हुने रहेछन् । डेमोक्रेटहरुको शासन भएका राज्यहरुमा आप्रवासीहरुका लागि त्यति कडाइ नहुने रहेछ तर रिपब्लिकनहरुमा बढी श्वेतहरुको बाहुल्य हो कि भन्ने बुझेँ 
डालसमा मेरो भाइ सुरेश पोख्रेल बसेको ठाउँलाई भन्दा रहेछन् ह्वाइट सेटलमेन्ट काउन्टी । अनि मैले सोधेँ सुरेश भाइलाई यहाँ पनि यो असमानता छ र ह्वाइट र ब्लाक भन्ने ?

अनि सुरेशले भने—दाजु नाम परिवर्तन गर्न भनेर यो काउन्टीमा जनमतसंग्रह भयो , ७० प्रतिशतले पुरानै नामका पक्षमा मत दिए अश्वेतले समेत । अनि यो नाम यथावत् नै रह्यो । 
बहिनी सीता कोइराला र माधव बाबुका छोरा भानिज रोजेशले राम्रो अङ्क ल्याएर पढेकाले कुनै विभेद नगरी उनले छात्रवृत्ति पाएका थिए छानी छानी विद्यालय पढ्न भनेर मलाई जगदम्बाले भनेकी थिई कोपेलको विद्यालयमा । सायद अहिले त्यही विद्यालयमा भाइ होम लम्सालकी छोरी जेशिकाले पढ्दै गरेको जस्तो लाग्यो । रोेजेश र जेशिका जस्तै धेरै नेपालीहरुले विद्यालयमा राम्रो प्रभाव छोडेका छन् र अमेरिकी समाजमा नेपालीहरुप्रति मान सम्मान छ जस्तो लाग्यो मलाई । प्रत्येक नागरिक आफ्नो देशको अवैतनिक राजदूत हो । 

अमेरिकाको समाज एकप्रकारले समानतावादी समाज हो । अमेरिकामा विधिको शासन हुन्छ र राष्ट्रपतिको आदेशलाई काउन्टीको न्याय प्रशासनले पनि आदेश दिन सक्छ र राष्ट्रपति या गभर्नरले त्यसलाई मान्न बाध्य हुन्छन् , त्यसको कारण हो विधिप्रतिको सम्मान जुनकुरा सानैदेखि नागरिक शिक्षाको रुपमा अमेरिकामा सिकाइएको हुन्छ । प्रजातान्त्रिक मान्यतालाई सर्वोपरि मान्नु नै त्यहाँको समानताको पक्ष हो र त्यही सम्मान र अनुशासनले नै आज विश्वको शक्ति राष्ट्रको रुपमा गणना भएको हो । आखिर त्यो आजको विकसित अमेरिका बनेको भनेको अमेरिकीहरुले नै बनाएका हुन् । संसारका अग्रणी विकसित र शक्ति राष्ट्र पनि अमेरिकीहरुको परिश्रमले बनेको हो । 

म आएँ सियाटलबाट न्युयोर्क । मेरो ठेगानामा ट्याक्सीले लान मानेन र एउटा भारतीय प्रवासीले लान्छु त भन्यो तर ५० डलर लाग्छ भन्यो र आफ्नो जीपीएस बिग्रेको छ भन्यो जब गाडी मूल सडकमा गुड्न थाल्यो । अनि मैले उसैको मोबाइल मागेर नीलम छोरीलाई फोन गरेँ किनभने त्यो फोन त उसको फोनमा रेकर्ड भयो नि । मलाई डर लाग्दै थियो कहाँ पुर्‍याउने हो भनेर । बल्ल बल्ल नीलमको ठेगानामा पुर्‍यायो र मलाई भन्नलाग्यो - धेरै घुमाउनु परेकोले ९० डलर चाहिन्छ । मैले परबाटै नीलमलाई देखेँ उनी अलमलमा परेकी रहिछन् किनभने मेरी बहिनीले सियाटलबाट फोन गरिरहेकी रहिछे दाजु आइ पुग्नु भयो कि  भएन ? हुन पनि त्यो ड्राइभर त्यस्तो फेला पर्‍यो कि हिन्दी त बुझ्ने तर खोइ किन हो घुमाएको घुमाएकै गरेको थियो । जब मैले ९० डलरका लागि १०० डलर दिएँ, उसले मलाई फिर्ता नदिई ट्याक्सी लिएर भाग्यो । पछि भैगो भनेर प्रहरीलाई खबर गरिएन ।

नीलमलाई ठुलो धोको थियो गुरु मेरा घरमा आउनुहोस् भन्ने । वास्तवमा गुरु चेलीभन्दा पनि बाबु छोरी जस्ता छौँ, मेरी छोरीका असल साथी पनि हो । एउटा असल विद्यार्थी सबैका लागि, गुरुका लागि, क्याम्पसका लागि सदैव स्मरणीय सम्पत्ति हो भन्ने मलाई लाग्छ । एउटा उदाउँदो साहित्यकारको जुन छवि म उनमा देख्थेँ, नभन्दै योगमाया उपन्यासमा उनले मदन पुरस्कार पाएर प्रमाणित पनि गरिसकेकी छिन् । उनले मलाई इम्पायर स्टेट बिल्डिङ र न्युयोर्कका अरु ठाउँहरु देखाउने व्यवस्था गरिन् किनभने एटलान्टाबाट उनका बुटवलका नातेदारहरु न्युयोर्क आएका थिए । इम्पायर स्टेट बिल्डिङका् ८६औँ तलाबाट न्युयोर्क नियाल्दा त पुरै सहर होचो पो देखिँदो रहेछ । ८० तलासम्म लिफ्टमा गइयो , त्यसपछि घुमाउरो बाटोबाट माथिसम्म पुगियो । लामो लाइन थियो बल्ल बल्ल टिकट पाइयो । त्यो दिन लिबर्टी स्ट्याचु जाने भनेको पछिल्लो जहाज छुटेकाले जान पाइएन । बरु ग्राउन्ड जिरो अवलोकन गरियो जहाँ जुम्ल्याहा घरहरु ध्वस्त भएका थिए । त्यो बेलामा त गहिरो खाडलमात्र थिए, अहिले के भयो थाहा छैन । 

२७ तारिखको विहान आएको म ४ रात नीलमको फ्ल्याटमा बसेँ । त्यही बिचमा पाहुना पनि आए तीनजना । मिलेर बस्यौँ सबैजना । ज्वाईँ साहेब डाक्टर भाष्कर कुँवर , नीलम र एउटा नाति थियो कोठामा । नीलमको जुन सद्व्यवहार थियो हामीप्रति ,त्यो अमेरिकाजस्तो ठाउँमा हाम्रालागि ठुलो उपहार नै थियो । मलाई त ल, गुरु भएकाले सम्मान दिइन् भनौँ ती कहिल्यै नदेखेका बुटवलका भाइहरुलाई पनि त्यस्तै अतिथि सत्कार गरेकी थिइन् । ज्वाईँ साहेबको युनिभर्सिटी अव सिराक्युजको शाखा र अस्पतालमा पढाइ र काम दुवै थियो । बेफुर्सदी भए पनि राती आएर सबैसँग भलाकुसारी गर्ने त्यो सभ्यताका लागि पनि , अमेरिकामा चिकित्सकको सेवामा कार्यरत व्यक्तिमा कुनै प्रकारको घमण्ड पनि थिएन । मेरो विचारमा त्यो बेलामा पनि हामीले सोचेभन्दा पनि धेरै कमाउनु हुन्थ्यो होला तर उहाँमा त्यो खालको पढाइ र कमाइको कुनै अहङ्कार देखिएन । आखिर नेपाल उड्ने बेला आयो । 

डिसेम्बरको ३१ तारिख२००७ । म न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, जहाँ १८ अक्टुबरमा झरेको थिएँ , त्यहाँबाट नै प्रस्थान गर्न बेलैमा छोरीको निवासबाट हिँडेँ । अचम्भ , ४दिनअघि करिब १घण्टा लगाएको ट्याक्सीको सट्टामा त्यो दिनको ट्याक्सीले २५ मिनेटमा पुर्‍यायो मात्र ३० डलरमा , त्यो पनि मिटरमा नै ।

मलाई सामान्यतया विमानस्थलमा बेलैमा पुगौँ जस्तै लाग्छ र बेलैमा टिकट चेक गराएर बस्यो भने हतार हुँदैन भन्ने लाग्छ । अलि चाँडै नै आएकाले विमानस्थलको अवलोकन गर्न थालेँ । अब घरको सम्झनाले बढी नै सताउन थाल्यो किनभने पहिले बहिनीसँग थिएँ अनि ४ दिन चेलीसँग न्युयोर्कमा रहेँ । क्रिसमस र नयाँ वर्षको रमझमको न्युयोर्क । लाग्थ्यो बिहेघरको सिँगार पटार  जस्तै थियो पुरै न्युयोर्क । अनि ८६ औँ तलाबाट जब न्युयोर्क सहरको अवलोकन गरिएको थियो , त्यो सम्झना सदाका लागि स्मरणीय भयो नै । 
अनि दुईओटा उपन्यास किनेँ त्यहीँ विमानस्थलमा द एक्जाइल र अर्को दि दाभिन्चीकोड । अनि यसो नजिकै हेरेँ जापानी जस्तो लाग्ने बहिनी पसलमा थिइन् । र मैले आफू नेपालबाट भनेपछि उनले बुद्धको नाम लिइन् ।

अनि मैले केही त किन्नै पर्‍यो भनेर एउटा रेशमको हाते रुमालको मूल्य सोधेँ। उनले भनिन् -'टु नाइन्टी थ्री '। मैले सम्झैँ टु डलर नाइन्टी थ्री सेन्ट ।सानो रुमाल थियो ।अनि मैले ५ डलर झिकेर दिएँ र फिर्ता आउला अनि सामान पनि पाइएला भनेर उभिएँ । अब उनलाई पनि आफ्नो गल्ती महसुुस भयो र मलाई पनि । वास्तवमा त्यो अङ्क दुई सय त्रियान्नब्बे डलर रहेछ । उनले पनि सहज तरिकाले भनिन् र मैले पनि सानो रुमाल भएकाले थोरै नै मूल्य रहेछ भन्ने ठानेँ । त्यो दुवैजनाको रमाइलो क्षण भयो । दुवै हाँस्यौँ । मैले सरी भनेँ उनले पनि सरी भनिन् । त्यसपछि मेरा र उनको दुईघण्टासम्म मित्रता भयो । 

लुफ्थान्सा विमानमा फ्र्याँकफुर्टका लागि उडियो करिब रातको साँढे ८ बजेतिर । प्लेन उड्दै थियो । क्याप्टेनले घोषणा गरे र भने - नयाँ वर्ष २००८को शुभकामना । यसरी नयाँ वर्षको शुभकामना एकअर्कालाई विमानमा दिइयो । जाँदा चार जना थियौँ, सबै आफ्ना आफ्ना तरिकाले फर्कियौँ र म एक्लै परेँ यसपटक नेपाल फर्कनेमा । 

विमानमा नयाँ वर्षको उपलक्ष्यमा आफूलाई मनपर्ने खानाका लागि आह्वान गरियो । क्रमशः