नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानद्वारा पाल्पा स्थित धवल पुस्तकालयमा पुरस्कार वितरण

नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानद्वारा पाल्पा स्थित धवल पुस्तकालयमा  पुरस्कार वितरण

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन १, २०७७

 पाल्पा । नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानको छैंटौं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह पाल्पाको तानसेन स्थित धवल पुस्तकालयको सभाकक्षमा २०७७ फागुन १ गते सम्पन्न भएको छ । 

प्रमुख अतिथि पाल्पाका प्रमुख जिल्ला अधिकारी तथा साहित्यकार रमेश प्रसाद न्यौपानेको रहनुभएको थियो । प्रमुख अतिथि र नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठान अध्यक्ष नारायणराज पाण्डेले विभिन्न पुरस्कृत व्यक्ति  तथा संस्थालाई पुरस्कृत गर्नु  भएको थियो । 

प्रतिष्ठानद्वारा स्थापित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ पुरस्कार वरिष्ठ साहित्यकार वनमाली निराकारलाई, ‘नित्यराज पाण्डे ज्ञान विज्ञान पुरस्कार’  इतिहासकार, संस्कृत वरिष्ठ अन्वेषक निर्मल श्रेष्ठलाई  प्रदान गरिएको थियो। प्रतिष्ठानको अर्को पुरस्कार ‘सिद्धराज, विद्याकुमारी, देवकुमारी शैक्षिक पुरस्कार’ भने कवि, समालोचक एवं उप–प्राध्यापक टङ्कप्रसाद पन्त र वि.स. १९८३ मा स्थापना भएको नेपालको जेठो तथा ऐतिहासिक पुस्तकालय  धवल पुस्तकालयलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । 

राजेश कुमार अर्यालको सञ्चालन र प्रतिष्ठानकी सदस्य सुनिता पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि रमेश प्रसाद न्यौपाने, विशिष्ट अतिथि चोलेश्वर शर्मा, क्याम्पस प्रमुख टङ्कप्रसाद भट्टराई  लगायतका वक्ताहरूले नित्यराज पाण्डेले साहित्यिक क्षेत्रमा पुर्‍याउनु भएको योगदानको  बारेमा चर्चा गर्नु भएको थियो । 

उक्त समारोहमा पुरस्कृत व्यक्तित्वद्वय बनमाली निराकार र निर्मल श्रेष्ठले समेत आ–आफ्नो धारणा राख्नु भएको थियो । समारोह प्रतिष्ठानका अध्यक्ष नारायणराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।