‘सुशासन, समृद्धि र विकासमा अवरोध भएकाले संसद् र पार्टी पुनर्गठन’ : परराष्ट्रमन्त्री ज्ञवाली

‘सुशासन, समृद्धि र विकासमा अवरोध भएकाले संसद् र पार्टी पुनर्गठन’ : परराष्ट्रमन्त्री ज्ञवाली

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २, २०७७

तेह्रथुम । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्र्वाटर बनाएर चार/पाँच जना भेला गरी गुटको राजनीति गर्दै पार्टीमा सङ्कटको बिजारोपण गरेको बताउनुभएको छ ।

सरकारले करिब तीन वर्षको अवधिमा सुशासन, विकास र समृद्धिका आधार तयार पार्ने कामको थालनी गरे पनि प्रचण्ड पक्षले असहयोग र प्रतिनिधिसभामा गरेको अवरोधले काम गर्न बाधा आएकाले यी संस्थाको पुनर्गठन गर्नुपरेको मन्त्री ज्ञावलीले बताउनुभयो ।

ओली समूहले तेह्रथुमको म्याङ्लुङमा शनिबार आयोजना गरेको जिल्ला तहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले आफूहरुले पार्टी विभाजनको कुनै पनि काम नगरेको तथा पार्टीमा विवाद आउनुमा प्रचण्डको प्रमुख भूमिका रहेकोसमेत बताउनुभयो ।

पार्टी सरकार सञ्चालन गर्ने अवस्थामा जतिजति बेला पुग्छ, त्यतित्यतिबेला अवसर लिन दौडिने समूहले प्रधानमन्त्री र सरकारलाई चौतर्फी घेराबन्दी गरी विकासका गतिविधि अगाडि बढाउन नदिएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको उहाँको भनाइ छ ।
 
यसैगरी नेकपा केन्द्रीय सदस्य विजय सुब्बाले भने राष्ट्रवादी प्रधानमन्त्रीलाई किन मन नपराएको भन्दै प्रश्न गर्नुभएको थियो । केपी ओलीजस्तो राष्ट्रवादी नेतालाई मन नपराएको देख्दा आफू अचम्ममा परेको उहाँको भनाइ थियो ।