मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ५, २०७७

जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सरस्वती पूजाका अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

वसन्त पञ्चमीका अवसरमा वैदिककालदेखि ज्ञानको ज्योतिका रुपमा सरस्वती पूजा गरी मनाइँदै आएको उल्लेख गर्दै उहाँले स्रष्टा, सर्जक, साहित्य र कला क्षेत्रका साधक तथा ज्ञान अध्येताहरु आ–आफ्ना विद्यामा थप ऊर्जा प्रदान् गरून् भन्ने कामनासमेत गर्नुभएको छ ।

उहाँले विज्ञप्तिमा विद्याको क्षेत्रमा पछाडि परेका वर्ग र समूदायलाई शिक्षा ग्रहण गर्न प्रेरित पनि गरून् भन्ने धारणा राख्नुभएको  छ ।

वसन्तपञ्चमी उत्साहका मनाइँदै

वसन्त ऋतुको आगमनका साथ विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको आज बिहानैदेखि पूजापाठ भइरहेको छ ।
      
ज्ञान, बुद्धि र विवेकका लागि श्रद्धाका साथ जनकपुरधामलगायत विभिन्न ठाउँका साथै घर–घरमा विद्यार्थीका साथै कलमजीवीहरुले सरस्वतीको अपार श्रद्धाका साथ पूजापाठ गरिरहेका छन् ।

धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा मनाइने वसन्तपञ्चमीका अवसरमा सरस्वती मन्दिरका साथै विभिन्न टोलमा माटोको कलात्मकमूर्तिमा आज विधिवत् रुपमा भक्तजनले प्राण प्रतिष्ठा गरी उत्साह एवं उल्लासमय वातावरणमा पूजापाठ  गरिरहेका छन् । विद्यार्थीहरुले बिहानै स्नान गरी आ–आफ्ना घरमा पुस्तक र कलमको अनिवार्य रुपमा पूजा गर्ने गर्छन् । सोही अवसरमा बुनिया, बयर , शखरखण्ड र सुन्तला अनिवार्य रुपमा प्रसादका रुपमा चढाउने गरिन्छ ।   

हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार माघ शुक्लपञ्चमी तिथिका दिन ब्रह्माले सृष्टि गर्नेक्रममा आह्वान गरेपछि सरस्वती अवतरित हुनुभएको विश्वास गरिन्छ ।

 सोही कारणले आजका दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीहरु यो पर्वलाई उत्सवका रुपमा मनाउने गर्छन् । आजका दिन ज्ञान बुद्धि र उन्नतिका लागि बालबालिकालाई अक्षराम्भ पनि गरिन्छ । शिशुको अन्नप्रासनसमेत विधिपूर्वक गराइन्छ । 

आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायत शुभ कार्यका लागि साइत हेर्नु नपर्ने मान्यता छ ।