पेट्रोलियम पदार्थको मूल्य वृद्धि : पेट्रोल प्रतिलिटर ११४, मट्टितेलको ९७

पेट्रोलियम पदार्थको मूल्य वृद्धि : पेट्रोल प्रतिलिटर ११४, मट्टितेलको ९७

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ४, २०७७

 काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुईका दरले वृद्धि गरेको हो । मूल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर  ११४, डिजेल तथा मट्टितेलको  ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६७  रुपैँया कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । 

मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटरर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा  छ । अर्धमासिक रुपमा करिब रु  ८६ करोड ७८ लाख घाटा नै रहने छ । 

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवसथापन गरिनेछ । मूल्य समायोजनपश्चात् पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ २९ पैसा र डिजल प्रतिलिटर ४१ रुपैयाँ ४३ पैसाले नेपालतर्फ सस्तो रहेको निगमका प्रवक्ता उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।