कोरोनाविरुद्धको खोपमा पहुँचवालाको हालीमुहाली : परेनन् प्राथमिकतामा ज्येष्ठ नागरिक
फाल्गुन ५, २०७७

चीनको वुहानबाट फैलिन सुरु भएर विश्वव्यापी महामारीको रुप धारण गरेको एक वर्षपछि कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुन थालेको छ । खोपको विकास गर्ने समयावधिलाई हेर्ने हो भने कोरोना भाइरसविरुद्धको खोप तीव्र गतिमा उत्पादनसँगै   सफलता समेत मिल्न थालेकाे छ  ।  

फाइजर/ वायोन्टेक, मोडेर्ना, सिनोफार्म, स्पुतनिक भी, निसोभ्याक, कोभ्याक्सिन जस्ता खोपहरु यतिबेला विश्वभरि प्रयोगमा  ल्याइएका छन् । नेपालमा पनि भारतले अनुदानमा कोभिशिल्ड नामको कोरोना भाइरसविरुद्धको खोप अनुदानमा उपलब्ध गराएपछि खोप कार्यक्रम सुरु भएको छ । नेपालमा पहिलो चरणमा सरसफाइ तथा स्वास्थ्यकर्मी र चिकित्सक, पत्रकारहरु तथा दोस्रो चरणमा सरकारी कर्मचारी तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई खोप दिने कार्यक्रम जारी छ । 

कोरोना भाइरस संक्रमण र मृत्यु हुनेको दरलाई हेर्ने हो भने ज्येष्ठ नागरिकहरु सबैभन्दा बढी प्रभावित भएको पाइन्छ । वल्डोमिटरर्सका अनुसार कोरोना संक्रमित भएका मध्ये ७५ वर्षमाथिको उमेर समूहका ४८.७ प्रतिशत, ६५–७४ वर्ष उमेरका २४.९ प्रतिशत, ४५–६४ वर्ष उमेर समूहका २२.४ प्रतिशतले ज्यान गुमाएको देखिन्छ । तर कोरोना भाइरसविरुद्धको खोप लगाउने प्राथमिकता क्रममा भने ज्येष्ठ नागरिकहरु छैनन् । कोरोना भाइरसविरुद्धको खोप वितरणको अवस्थालाई हेर्ने हो भने बोलवाला चल्ने, पहुँचवालाहरुको नै हालिमुहाली हुने देखिन्छ । 

किन्न नसक्ने देशलाई विशेष कोषमार्फत् निःशुल्क खोप उपलब्ध गराइनेछ । आगामी फेब्रुअरीको अन्त्यबाट कोभ्याक्समार्फत खोप आपूर्ति सुरु हुनेछ । ईआईयूको प्रक्षेपणअनुसार कतिपय देशमा खोप वितरण पूर्ण हुन सन् २०२३ सम्म लाग्ने देखिएको छ । यसरी लामो समयसम्म खोप पूर्ण नहुँदा कतै न कतै रहेको भाइरसले खतरनाक उत्परिवर्तन गरेमा त्यसले खोपलाई नै प्रभावहीन बनाउने खतरा समेत हुनसक्छ । 

कोरोना भाइरसविरुद्धको खोप लिनु विश्वका हरेक मानिसका लागि ठूलो संघर्षको विषय बनेको छ । त्यसैले सबैले कोरोना भाइरसविरुद्धको खोपमा आफूलाई प्राथमिकतामा राखेर हेर्ने गरेका छन् र आफ्नो पालो कहिले आउँछ भनेर पर्खिएर बसेको देखिन्छ । कोरोनाको खोपका सन्दर्भमा जटिल वैज्ञानिक प्रक्रिया, बहुराष्ट्रिय कम्पनीहरू, विरोधाभासपूर्ण सरकारी नीति, कर्मचारीतन्त्र र नियममाथि नियमको अवस्था देखिएको छ । त्यसैले कोरोनाविरुद्धको खोप कसले कहिले पाउँछ भनेर भन्न सकिने अवस्था अहिले नै छैन । इकोनमिस्ट इन्टेलिजेन्स यूनिट (ईआईयू) को ग्लोबल फोरकास्टिङका निर्देशक अगाथे डेमाराइसले कोरोनाविरुद्धको खोप वितरणको अवस्थाबारे विस्तृत अध्ययन गरेकी छिन् ।

जसमा विश्वको खोप उत्पादन क्षमता, खोप वितरणका लागि आवश्यक स्वास्थ्य पूर्वाधार, देशअनुसारको जनसंख्या र खोप किन्न सक्ने क्षमतालाई आधार बनाएर अध्ययन गरिएको छ । 

उनको अध्ययनको मुख्य निष्कर्ष धनी र गरिब राष्ट्रमा कोरोनाविरुद्धको खोप वितरणमा हुने समस्यामा केन्द्रित छ । अमेरिका र बेलायतसहित धनी देशमा हाल कोरोनाविरुद्धको खोपको सहज आपूर्ति रहेको छ । ईयूमा आवद्ध देश र क्यानडा पनि खोप आपूर्तिमा अघि देखिएका छन् भने गरिब तथा न्युन आय भएका मुलुकहरुमा अझै खोप कार्यक्रम सुरु हुन सकेको छैन 

विश्वका कतिपय देशमा धेरै नागरिकले खोप पाइसकेका छन् । इजरायल, सर्बियाजस्ता देशले ठूलो मात्रामा खोप लगाउन सफल भएका छन् । चीन र रुसमा बनेको खोपका कारण सर्बियाले प्रभावकारी खोप अभियान सञ्चालन गर्न सक्यो । 

ईआईयूको अनुसन्धानअनुसार चीन र भारतजस्ता खोप उत्पादनमा अग्रणी देखिएका देशमा सबै मानिसलाई खोप उपलब्ध गराउँन सन् २०२२ सम्म लाग्न सक्नेछ । ती देशमा त खोप लगाउने जनशक्तिको समेत अभाव छ । 

सीरम इन्स्टिट्यूट अफ इन्डिया विश्वकै सबभन्दा ठूलो खोप निर्माता हो। जसका कारण भारले खोपमा सफलता पाएको छ । सिरमले हाल दैनिक २४ लाख डोज खोप उत्पादन गरिरहेको छ । सो कम्पनीले ब्राजील, मोरोक्को, बंगलादेश तथा दक्षिण अफ्रिकालाई खोप दिइरहेको छ । 

भारतले नै दिएको अनुदानको खोपका कारण नेपालमा पनि पहिलो चरणको खोप कार्यक्रम सुरु गर्न सफलता मिलेको हो । कोरोना खोप पाउने अर्को माध्यम भनेको कोभ्याक्स हो । कोभ्याक्स विश्व स्वास्थ्य संगठनको अगुवाइमा गठित सञ्जाल हो जसले सुलभ दरमा सबै देशलाई खोप दिने लक्ष्य राखेको छ ।

किन्न नसक्ने देशलाई विशेष कोषमार्फत् निःशुल्क खोप उपलब्ध गराइनेछ । आगामी फेब्रुअरीको अन्त्यबाट कोभ्याक्समार्फत खोप आपूर्ति सुरु हुनेछ । ईआईयूको प्रक्षेपणअनुसार कतिपय देशमा खोप वितरण पूर्ण हुन सन् २०२३ सम्म लाग्ने देखिएको छ । यसरी लामो समयसम्म खोप पूर्ण नहुँदा कतै न कतै रहेको भाइरसले खतरनाक उत्परिवर्तन गरेमा त्यसले खोपलाई नै प्रभावहीन बनाउने खतरा समेत हुनसक्छ ।