सोलुखुम्बुमा पनि  नेपाल टेलिकमको फोर जी सेवा

सोलुखुम्बुमा पनि  नेपाल टेलिकमको फोर जी सेवा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ६, २०७७

हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुङ्गाले जनाएको छ । 
     
कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीका अनुसार सोलुदूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दूधकोशी गाउँपालिकाको काङ्गेलमा बिहीबार बेलुकीबाट सो सेवा सञ्चालन भएको हो ।

 यस्तै सोलुदूधकुण्ड नगरपालिकाको सल्लेरी, फाप्लु र खुम्बु पासाङल्हामुको स्याङबोचेमा यसअघि नै यस किसिमको सेवा सञ्चालन भइसकेको टेलिकमले जनाएको छ । क्याम्जे, डाँडाखर्क र गुदेलमा पनि केही दिनभित्रमा सेवा सञ्चालन गर्ने गरी काम भइरहेको कार्यालय प्रमुख पन्थीको भनाइ छ ।
 
उता छिमेकी जिल्ला खोटाङमा २८ वटा फोर लेग टावरमध्ये चार वटा सञ्चालनमा आएको छ । जिल्लाको दिक्तेल, रुपाकोट र मझुवागढी नगरपालिकाअन्तर्गत देवीस्थान, दिक्तेल बजार र खोटेहाङ गाउँपालिकाको सिमपानी र जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा सेवा सञ्चालन भएको छ ।
     
यस्तै केपिलासगढीको बाक्सिला, हलेसी तुवाचुङको च्यास्मिटार, दिक्तेल रुपाकोटको बाम्राङ, बुइपा, दोर्पाआले, दिप्रुङको बतासे, डाँडागाउँ, साकेला गाउँपालिकाको बाँझेच्यान डाँडा र मात्तिम विर्तामा २० दिनभित्रमा सेवा पुनः सञ्चालन हुने गरी काम भइरहेको बताइएको छ । 
 
    यता  ओखलढुङ्गा जिल्लामा पनि फोर जी सेवा सञ्चालन भएको छ । कूल २५ वटा फोर लेग टावरमध्ये छ वटाबाट फोर जी सेवा सञ्चालन भएको टेलिकम शाखा कार्यालयले जनाएको छ । सिद्धीचरण नगरपालिकाको वीरेन्द्र पार्क, तलुवा, ओखलढुङ्गा बजार, कमेरेडाँडा, रुम्जाटार र मोलुङ गाउँपालिकाको रामपुरमा सेवा शुरु भएको हो । साथै अन्य टावरमा एन्टिना राख्ने कामसँगै लिङ्क मिलाउने काम भइरहेको पन्थीको भनाइ छ ।

     हङ्कङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसन ९सिसिएसआई० ले रेडियो एक्सेस नेटवर्क ९¥यान० एवं जेडटिइले सामग्री जडानको काम गरिरहेको छ । अहिले नेपालमा टेलिकमका सक्रिय फोर जी प्रयोगकर्ता ३० लाख नाघेको टेलिकमले जनाएको छ ।
    
पहिला नेट चलाउनकै लागि आधा घण्टा हिँडेर इन्टरनेट भएको स्थानमा पुग्नुपर्ने बाध्यता हटेको भन्दै सेवाग्राही हर्षित भएका छन् । गाउँगाउँमा फोर जी सेवा पुनः सञ्चालन भएसँगै अग्लो डाँडा चढ्नुपर्ने, टाढाटाढा हिँडेर जानुपर्ने बाध्यता हटेको थुलुङ दूधकोशी गाउँपालिका–४ जुबुका सुजन खत्रीले बताउनुभयो । 
    
घरबाहिर भएकाले बुबाआमासँग भिडियो कुराकानी गर्न पाएको भन्दै सामाजिक सञ्जालबाट खुशी व्यक्त गरेका छन् । जिल्लाको विकट गाउँ माप्यदूधकोशीमा रहनुभएका आमासँग ललितपुरबाट भिडियो कुरा गर्नुभएको भन्दै चन्द्र घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत पहलकर्ता सबैलाई धन्यवाद दिनुभयो । विगतका दिनमा मोबाइलमा नेटवर्क खोज्न हिँड्नपर्ने माप्यदूधकोशीमा फोर जी सेवा शुरु भएपछि स्थानीयवासी दङ्ग परेका छन् । 
     
    यस्तै     खोटाङ जस्तो विकट जिल्लामा फोर जी सेवा सञ्चालन भएसँगै घरैमा बसेर सामाजिक सञ्जालको माध्यमबाट विश्वका विभिन्न क्षेत्रलाई नजिकैबाट नियाल्न सकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका कविराज रिजालको भनाइ छ । केही महिना अगाडि नै ७७ ओटै जिल्लामा फोर जी विस्तार भइसकेको टेलिकमले घोषणा गरिसकेको थियो ।