चेन्नईसँगको जितले हैदरावादलाई राहत

चेन्नईसँगको जितले हैदरावादलाई राहत
जितपछि खुसी मनाउँदै सनराइजर्स हैदरावादका जोनी बेरस्ट्रो । तस्बिर : आइपिएलटिट्वान्टी डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ५, २०७६

काठमाडौं । लगातार तीन खेलमा पराजय भोगेको सनराइजर्स हैदरावादले इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार राती सम्पन्न खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । 

चेन्नई दिएको १३३ रनको लक्ष्य हैदरावादले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । हैदरावादको जितमा प्रारम्भिक ब्याट्सम्यान प्लेअर अफ दि म्याच डेभिड वार्नरले २५ बलमा ५० रनको योगदान दिए । यस्तै, अर्का प्रारम्भिक ब्याट्सम्यान जोनी बेरस्ट्रोले ४४ बलमा अभिजित ६१ रन जोडे । 

चेन्नईका इमरान ताहिरले दुई र दीपक चहर र कर्ण शर्माले एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ गर्न आएको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३२ रनको सामान्य योगफल बनाएको थियो । 

मध्य तथा तल्लोक्रमले गतिलो प्रदर्शन गर्न नसकेपछि चेन्नई सामान्य योगफलमै समेटिएको थियो । 

चेन्नईले सुरुवात राम्रो गरेको थियो । ९.५ ओभरमा पहिलो विकेट गुमाउँदा चेन्नईको स्कोर ७९ रन थियो । चेन्नईले पहिलो विकेटका रूपमा सेन वाट्सनलाई गुमाएको थियो । वाट्सनले २९ बलमा ३१ रनको पारी खेले । 

वाट्सनको विकेट गुमेपछि चेन्नईको विकेट पतन शृंखला सुरु भयो । लगत्तै १०.२ ओभरमा अर्का प्रारम्भिक ब्याट्सम्यान फाप डु प्लेसिस आउट भए । उनले ३१ बलमा ४५ रनको पारी खेले ।  

यस्तै, १३.१ ओभरमा सुरेश रैना आउट भए । उनी आउट हुँदा टिमको स्कोर ९७ मात्रै थियो । सोही ओभरमै केदार जाधव व्यक्तिगत एक रनको स्कोरमा पेवेलियन फर्किए । अर्काे ओभरमा सैम विलिङ डगआउट भए । अम्बाती रायडुले २५ रन तथा रविन्द्र जडेजाले १० रनमा अभिजित रहे । रायडुले आफ्नो पारीमा २१ र जडेजाले २० बल खेले । 

हैदरावादका रासिद खानले दुई तथा खलिल अहमद, शाहवाज नदिम र विजय शंकर समान एक विकेट लिए । 

हैदरावादलाई राहत 

जितसँगै हैदरावादलाई राहत महसुस भएको छ । हैदरावादले अंकतालिकामा एक स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ ।