तिलामा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन

तिलामा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन ७, २०७७

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।  स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको आयोजनामा बुधबारदेखि आयुर्वेद स्वास्थ्य शिविर चलेको हो ।

गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले ६५ वर्षीय ददिमल रावत र ६० वर्षीया हैता रावतलाई शक्तिबद्र्धक च्यवनप्रास प्रदान गरेर शिविर आरम्भ भएको थियो । पिछडिएका नागरिकका लागि सो शिविर निकै उपलब्धिपूर्ण भएको जनाउँदै उपाध्यक्ष बुढाले लामो समयदेखि रोग पालेर बसेका जनताका लागि यसबाट राहत मिलेको बताउनुभयो ।
 
तातोपानी, हिमा र गुठिचौरसम्मका बिरामी स्वास्थ्य जाँच गर्न पुगेका थिए । तिला गाउँपालिकाका स्वास्थ्यकर्मी उत्तम देवकोटाले शिविरमा स्थानीयवासी उत्साहपूर्वक सहभागी भएको बताउनुभयो  । उहाँले भन्नुभयो, “यहाँका नागरिकलाई एक वर्षमा एक पटक पनि स्वास्थ्य जाँच गराउन कठिन छ तर यस पटक जनताले गाउँमै स्वास्थ्य सेवा पाए । यो निःशुल्क शिविरले निकै राहत मिल्यो ।”

स्वास्थ्य सेवा निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख पुष्पा आचार्यले शिविरमा प्रायः सबै रोगको जाँच गरिएको बताउनुभयो । उहाँका अनुसार शिविरमा सबै प्रकारका रोगका बिरामीको उत्साहपूर्वक सहभागिता रह्यो ।

शिविरमा स्वास्थ्य अवस्थाको पहिचान हुनाका साथै शक्तिवद्र्धक आयुर्वेदिक औषधिसमेत बिरामीलाई उपलब्ध गराइएको थियो ।  आचार्यका अनुसार शिविरमा ग्याष्ट्रिक, अल्सर, मधुमेह, हाडजोर्नी तथा नसा, छाला रोग, स्त्रीरोग, बाथ, पेट, खोकी  र श्वासप्रश्वासलगायत रोगको उपचार गरिएको बताइएको छ ।