उदयपुरमा व्यापक व्यावसायिक केरा खेती

उदयपुरमा व्यापक व्यावसायिक केरा खेती

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ७, २०७७

उदयपुर । उदयपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये व्यावसायिक केरा खेतीमा उल्लेखनीय वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, कटारी र चौदण्डीगढी नगरपालिकासहित जिल्लाको उदयपुरगढी गाउँपालिका क्षेत्रमा सबैभन्दा बढी केरा खेती विस्तार भएको छ ।

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार अहिले त्रियुगा नगरपालिकाको राजावास, बगाहा, जोगीदह, खैजनपुर, साउने, खाँबुचुहाडे तथा श्रीपुर क्षेत्रलाई केरा जोन क्षेत्र नै घोषणा गरेर व्यापक केरा खेती विस्तार भएको हो । जिल्लाको चौदण्डीगढी नगरपालिकाको हँडिया, सिवाइ, सुन्दरपुर, देवधार तथा बसाहा क्षेत्रलाई अहिले केरा जोन क्षेत्रका रूपमा विकास गर्दै लगिएको नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राई बताउनुहुन्छ ।

अहिले जिल्लाको सबैभन्दा बढी केरा उत्पादन हुने बेलका नगरपालिकाको भागलपुर, तपेस्वरी, पुरनदह, बानडाँडा क्षेत्र रहेका छन् भने कटारी नगरपालिकाको त्रिवेणी, रिस्कु, सोमबारे, मरुवा, हरैया, बेलस्रोतसहित क्षेत्रहरुलाई तीन वर्षदेखि केरा जोन क्षेत्रका रूपमा विकास गरिएको सम्बन्धित नगरपालिकाले बताएको छ ।

जिल्लाको पहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिकाको नेपालटार, दनुवारबेँसी क्षेत्रलाई पनि चार वर्षदेखि केरा जोन क्षेत्रका रूपमा विकास गरिएको उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतले बताउनुभयो । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख प्रकाश विश्वकर्माका अनुसार विसं २०७० सम्ममा उदयपुरको त्रियुगा,  चौदण्डी, बेलका र कटारी नगरपालिकाका केही स्थानमा मात्र गरेर ५० हेक्टर क्षेत्रफलमा मात्र केरा खेती हुँदै आएको थियो ।

विसं २०७४ सम्म आइपुग्दा जिल्लामा ९१ हेक्टर क्षेत्रफलमा केरा उत्पादन हुने गरे पनि यसपछि जिल्लाको मुख्य चार नगरपालिका कटारी, त्रियुगा, बेलका, चौदण्डीगढी नगरपालिकामा व्यापक केरा खेती विस्तार गर्दै केरा जोन तथा पकेट क्षेत्रसमेत घोषणा गरेर अहिले केरा खेतीले व्यापकता पाएको ज्ञान केन्द्रले बताएको छ ।

गत वर्ष जिल्लामा केरा खेती विस्तार भएर १५० हेक्टर क्षेत्रफल जग्गामा केरा खेती वृद्धि भएको थियो भने जिल्लामा कूल एक हजार ५६० मेट्रिक टन केरा उत्पादन भएको ज्ञान केन्द्रको भनाइ छ । विसं    २०७७ को तथ्याङ्कअनुसार यसपटक जिल्लामा १७५ हेक्टर क्षेत्रफल जग्गामा केरा खेती विस्तार भइसकेको छ भने यसपटक एक हजार ९५० मेट्रिक टन केरा उत्पादन भएको ज्ञान केन्दका प्राविधिक अधिकृत अम्बिकाकुमारी भट्टराईले बताउनुभयो ।

अहिले जिल्लामा व्यावसायिक केरा उत्पादनमा सबैभन्दा बढी आम्दानी बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकाका कृषकले आर्जन गरिरहेका छन् । बेलका नगरपालिका आम्बासीका व्यावसायिक केरा उत्पादक कृषक पुण्यप्रसाद भट्टराई भन्नुहुन्छ, “म विसं २०६४ बाट नै व्यावसायिक केरा खेतीमा लाग्दै आएको भए पनि २०७० देखि व्यापक केरा खेती विस्तार गरेर अहिले घरको अढाई बिघा जग्गामा केरा खेती विस्तार गरेको छु ।”