धर्मराज उपाध्याय अर्थात् डा. डिआर उपाध्यायः घरजग्गाको कारोबारदेखि विश्व रेकर्ड माथि 'रेकर्ड'सम्म

धर्मराज उपाध्याय अर्थात् डा. डिआर उपाध्यायः  घरजग्गाको कारोबारदेखि  विश्व रेकर्ड माथि 'रेकर्ड'सम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  फाल्गुन ८, २०७७

समय क्रममा र जीवन बिताउँदै जाने क्रममा वीरगन्जको एउटा सामान्य किसान परिवारको धर्मराज उपाध्याय कालान्तरमा डा‍‍. डिआर उपाध्यायको नामले चर्चित हुन पुग्नुभयो । यसमा उहाँका लगन, मेहनत, अनि दुःखसँग कहिल्यै हार नमान्ने तथा स्वाभिमानलाई नत्यागी जस्तोसुकै र जेसुकै काम गर्न पछि नपर्ने स्वभावले काम गरेको छ । 

विभिन्न व्यवसाय गर्दै अनि साथमा पढाइलाई पनि अगाडि बढाउनु भएको उहाँ पछिल्लो क्रममा भने विभिन्न विधामा उहाँले बनाउनु भएको बत्तीसवटा विश्व रेकर्डका कारण चर्चित हुनुहुन्छ र चिनिनु हुन्छ । 

उहाँ यसै वर्षभरिमा अठार वटा थप विश्व रेकर्ड कायम गरेर विश्व रेकर्डको सङ्ख्या पचास पुर्‍याउने योजनामा हुनुहुन्छ । गरे के हुँदैन भन्ने एउटा प्रेरणादायी पाठ्य सामग्री हुनसक्छ यो आलेख । 

पारिवारिक अवस्था 

उहाँको बुवा आमा किसान । खेतीपाती राम्रै थियो । परिवार राम्रै चलेको थियो । चौधवटा त भैँसी  मात्र थिए । दूध बिक्री गर्दा पनि राम्रै आम्दानी हुन्थ्यो । वीरगन्जमा घर छ । त्यस हिसाबले पनि आर्थिक रुपमा राम्रै परिवार हो उहाँको । उहाँको चार दाजुभाइ तथा तीन दिदी बहिनी । उहाँ भने कान्छो । 

जन्म र बाल्यकाल 

उहाँको जन्म वीरगन्ज नगरपालिका वडा नं १६ श्रीपुर तेजारथ टोलमा भएको हो । २०१९ सालमा । हाफ प्यान्ट लगाएर दिनभर पाँच पैसाको पाचक खाएर बितेको हो उहाँको बाल्यकाल । उहाँलाई फुटबल एकदमै मन पर्ने । कापिको बाजी राखेर समेत फुटबल खेल्नुहुन्थ्यो उहाँ । अनि म्याच जितेपछि कापी लिएर गयो, उहाँ भन्नुहुन्छ । 

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा त्रिजुद्ध हाई स्कुलमा भएको हो । प्राथमिक कक्षामा भने बस्नका लागि बेन्च डेस्क थिएनन् । कक्षामा आठ दश जना हुन्थे । छात्राको सहभागिता एकदुईजना थियो कि !, उहाँ भन्नुहुन्छ । प्राथमिक शिक्षा भने निःशुल्क नै थियो जस्तो लाग्छ उहाँलाई । माटोको केरा पनि बनाउनुहुन्थ्यो उहाँ यो बेलामा । डन्डी बियो खेलेको पनि सम्झना छ, उहाँ भन्नुहुन्छ । 

निम्न माध्यमिक तहदेखि भने बस्नका लागि बेन्च डेस्कको व्यवस्था थियो । त्यसबेला एउटा कक्षामा झन्डै चालिस पचास जना हुन्थे, उहाँ भन्नुहुन्छ । छात्राहरू झन्डै दशदेखि पन्ध्र जना जति हुन्थे होला । यो बेला भने महिनाको दश रुपैयाँ तिरेको याद छ उहाँलाई । अरु साथीभाइ भने त्यसबेला खेल्नमा रुचि राख्थे । तर, उहाँ भने स्कुलको विज्ञान भवनमा खाजाको समयमा पनि पढेर बस्नुहुन्थ्यो । नास्ता गर्ने पैसा हुँदैनथ्यो । पढाई एक किसिमको बाध्यता तथा रहर दुवै थियो, उहाँ भन्नुहुन्छ । कहिलेकाहीँ पच्चिस पैसा पाउँदा उहाँ पाँच दिन पुर्‍याउनु हुन्थ्यो । दिनको पाँच पैसाको दरले पाँच दिन पाचक । पाचक र पानी नै टिफिन हुन्थ्यो पाँच दिनसम्मका लागि । 

खासमा उहाँ पहिलेका बत्तीस र अब हुन लागेका अठार गरी पचास वटा विश्व रेकर्ड कायम गर्न खोज्दै हुनुहुन्छ जसले गर्दा उहाँ विश्व रेकर्डधारीका उच्च दश स्थानमा पर्न सफल हुनुहुनेछ । तर, त्यसपछि भने अरु विश्व रेकर्डको सोख आफूलाई नरहेको पनि बताउनुहुन्छ । 

उहाँ कक्षाको मनिटर । बस्न पनि पहिलो बेन्चमा । तर, पढाइमा भने दोस्रो, उहाँ भन्नुहुन्छ ।  उहाँले २०३५ सालमा एसएलसी दिनुभएको हो । त्यसबेला एसएलसी दिने धेरै भए पनि सात जना मात्रै पास भएजस्तो लाग्छ, उहाँलाई । उहाँ ती सात भाग्यमानी मध्येको एक हो । भाग्यमानी यस अर्थमा कि थोरै पास हुनेमा उहाँ पर्नुभयो । र, एसएलसी पास हुनेको बेग्लै शान हुन्थ्यो त्यो बेला, उहाँ भन्नुहुन्छ । 

एसएलसी पछि 

उहाँ एसएलसी पछि हेल्थ असिस्टेन्ट पढ्नका लागि काठमाडौँको टिचिङ हस्पिटलमा भर्ना हुनुभयो । तर, पैसाको अभावका कारण उहाँको पढाई पूरा हुन सकेन । टिचिङ हस्पिटलले त्यसबेला दुई सय रुपैयाँ खर्च दिन्थ्यो । एक सय रुपैयाँको कोठा भाडा थियो यट्खामा । अनि एकसय रुपैयाँको भात । त्यसले गाह्रो परेका कारण पनि पढाई छुटेको हो उहाँ भन्नुहुन्छ । बाबुआमासँग पैसा माग्न मन लागेन । पढ्न पैसा भएन । अनि अब पैसा कमाउनु पर्‍यो भनेर उहाँले प्राइभेट पनि पढ्दै व्यवसाय पनि सुरु गर्नुभयो । 

उहाँले प्राइभेटबाटै एमए गर्नुभएको हो । उहाँको पिएचडी पनि समाजशास्त्रसँग सम्बन्धित छ । यस नाताले हाल देशमा दैनिक सरदर भइरहेको सातवटा बलात्कारका घटनाले भने उहाँको मन पोल्ने गरेको रहेछ । 

सकेसम्म यस्ता अपराधमा कडा भन्दा कडा कानुन चाहे त्यो मृत्युदण्ड नै किन नहोस्, नभए पनि कारबाहीका रुपमा नपुंसक बनाइने सुईको प्रयोग गर्नुपर्ने उहाँको तर्क छ । यस्ता कारबाही अमेरिकाको चारवटा प्रदेश, श्रीलङ्का तथा अन्य थुप्रै देशमा रहेको पनि बताउनुहुन्छ उहाँ ।  व्यवसाय भने यही र यस्तै भन्ने थिएन । कारण त्यसका लागि पुँजी थिएन । त्यसकारण जस्तो सुकै व्यवसाय र काम उहाँको प्राथमिकतामा परे । बस, त्यसले पैसा भने दिनुपर्‍यो उहाँ भन्नुहुन्छ । 

व्यवसाय 

व्यवसायका हिसाबले उहाँले नगरेका कमै काम होलान् । भोटेबहालमा कर्णाली गेस्ट हाउस पनि चलाउनु भयो । त्यस्तै दरबारमार्गमा रेस्टुरेन्ट पनि चलाउनुभयो । मिश्री बेच्नुभयो । डल्लो साबुनको पनि व्यवसाय गर्नुभयो । मुग्लिनको पुल नहुँदा त्यहाँ डुङ्गाबाट लिएर गएर बुटवलमा गएर डल्लो साबुन पनि बेच्नुभयो रे ! अहिले उहाँ नेपाल टेलिकम तथा विद्युत् प्राधिकरण लगायत अन्य सरकारी कार्यालयमा उहाँ टेन्डर सम्बन्धी आइटीको व्यवसाय गर्दै हुनुहुन्छ । 

२०४४ सालदेखि व्यवसाय अलि फस्टाएको बताउनुहुन्छ, उहाँ । अनि २०४९ सालपछि उहाँले घरजग्गाको कारोबार समेत गर्नुभयो । त्यसपछि उहाँले पछाडि फर्केर हेर्नु परेको छैन । अहिले आफूसँग भएको घरजग्गा तथा सम्पत्ति यही कारोबारको उपज हो, उहाँ भन्नुहुन्छ । अन्यथा काठमाडौँमा छ सय कसरी कमाऊँ भन्ने भएको मान्छेलाई यहीँ घरजग्गा जोड्छु भन्ने त कल्पनामा पनि थिएन, उहाँ भन्नुहुन्छ । 

तीन सय कोठा भाडा अनि तीन सय भात खर्चको जोहो गर्न काठमाडौँ आएको मान्छेले यो सब गर्न सकेको भनेकै घरजग्गा कारोबारले हो, उहाँ भन्नुहुन्छ । जग्गामा पैसा हाल्दा एकको दश भयो त्यसैले यो सबै भएको हो उहाँ भन्नुहुन्छ । उहाँ आफूलाई जुनसुकै काम गर्न पनि लाज नलाग्ने बताउनुहुन्छ । सङ्घर्षका क्रममा बोरा नै लोड गर्नुपरे पनि पछि नपर्ने आफ्नो स्वभाव भएको बताउनुहुन्छ, उहाँ ।  अझै पनि आफूलाई कोही साथीभाइले छोरी चेलीको बिहेमा आएर भाँडा माझ्दे  भने पनि आफू माझ्ने बताउनुहुन्छ, उहाँ । 

काठमाडौँ यात्रा 

एनपीएनएस भन्ने बसमा बिस रुपैयाँ भाडा तिरेर काठमाडौँ छिर्नुभएको हो उहाँ । जाँदा भने ट्रकमा अगाडि बस्दा छ रुपैयाँ अनि पछाडि बस्दा चार रुपैयाँ लाग्थ्यो रे ! दुई रुपैयाँ जोगाउन उहाँ बोरा ओल्छ्याएर पछाडि बस्नुहुन्थ्यो रे !  टिसिएनको ट्रकमा बोरा ओल्छ्याएर पछाडि बसेको अझै सम्झना रहेछ उहाँलाई । 

काठमाडौँका बारेमा सुने पनि उहाँ काठमाडौँ भने आउनु भएको थिएन । अमलेखगन्जबाट अलिकति पहाड देख्दा यही हो काठमाडौँ भन्ने लाग्थ्यो रे ! पहिले । कस्तो सुन्दर भन्ने पनि लाग्यो पहाड उहाँ भन्नुहुन्छ । उहाँ काठमाडौँ पहिलो पटक आउँदा कालीमाटीमा झर्नु भएको हो । उहाँको एक जना ठूलोबाको छोरा भोटेबहालमा डेरा गरेर बस्नुहुँदो रहेछ । त्यहीँ दाइकोमा बस्नुभयो केही समय । 

उहाँलाई काठमाडौँ एकदमै अनौठो लाग्यो । अनि मनमा उच्च शिक्षाका लागि काठमाडौँ जानुपर्छ भन्ने भावनाले पनि काठमाडौँ ल्याएको हो, उहाँ भन्नुहुन्छ । रञ्जना गल्लीमा पाँच रुपैयाँको जेरी स्वारी खान काठमाडौँमा तीन महिना लागेको बताउनुहुन्छ, उहाँ । त्यो पनि एक जना साथीले पैसा दिएका कारण मात्रै यो सम्भव भएको बताउनुहुन्छ, उहाँ । काठमाडौँमा बाह्रै महिना स्विटर लगाउनु पर्थ्याे । यसो घाम ताप्न न्यूरोड आइन्थ्यो उहाँ भन्नुहुन्छ । 

विवाह 

उहाँले २०४७ सालमा विवाह गर्नुभएको हो । मागी विवाह नै हो उहाँको । केटी हेर्न दिदीले विराटनगर बोलाउनुभयो । अनि उहाँ जानुभयो विराटनगर । तर, केटी राम्रोसँग पनि देख्नु भएको थिएन । ठिक छ, भन्दिनुभयो । अनि भयो विवाह । उहाँको एक छोरा तथा एक छोरी । छोरा मास्टर्स डिग्री गरेर उहाँलाई व्यवसायमा सघाउँदै हुनुहुन्छ । छोरी भने थाइल्यान्डमा एमएस्सी इन्जिनियरिङ गर्दै हुनुहुन्छ । 

सङ्घसंस्थामा संलग्नता 

उहाँ म्यानेजमेन्ट एसोसिएसन नेपाल (म्यान) मा संलग्न हुनुहुन्छ । त्यस्तै ह्युमन राइट एन्ड पिस सोसाइटी तथा अन्य सङ्घसंस्थामा पनि संलग्न हुनुहुन्छ । केही समय पशुपति विकास कोष तथा व्यापार प्रवर्द्धन केन्द्रमा रहे पनि चित्त नबुझेर त्यहाँबाट आफू स्वयं नै हटेको बताउनुहुन्छ, उहाँ ।  व्यवसाय लगायत घरपरिवार र अन्यत्र तथा लेखपढमा पनि समय दिनु परेका कारण थुप्रै संस्थामा आफूले चाहेर पनि संलग्न हुन नसकेको बताउनुहुन्छ, उहाँ । 

प्रकाशन 

उहाँको अहिलेसम्म एघारवटा उपन्यास तथा तेह्र वटा म्युजिक एल्बम बजारमा आइसकेका छन् । उहाँ एक वर्षमा सबैभन्दा बढी लेख लेखेर विश्व रेकर्ड राख्ने क्रममा पनि हुनुहुन्छ । त्यसका लागि दिनको कम्तीमा एउटा तथा दुई तीनवटा समेत लेख्ने गरेको बताउनुहुन्छ । अहिलेसम्म उहाँ पहिलो नम्बरमै रहेको बताउनुहुन्छ । सम्भवतः यसरी नै अघि बढे यो वैशाखसम्म यो विश्व रेकर्ड आफ्नो नाममा हुने बताउनुहुन्छ, उहाँ । 

विश्व रेकर्डको यात्रा 

खासमा उहाँलाई विश्व रेकर्डका बारेमा केही पनि थाहा थिएन । तर, जब उहाँले एकै पटक सातवटा गीति एल्बम निकाल्नुभयो । अनि नेपालकै एउटा संस्थाले यो त विश्व रेकर्ड पो हो भनेर भन्यो । उसो भए यसको मलाई प्रमाणपत्र बनाइदिनुस् न त भनेर भन्नुभयो उहाँले । त्यसपछि उहाँलाई नयाँ नयाँ विषयमा विश्व रेकर्ड राख्ने हुटहुटी जाग्यो । त्यसपछि उहाँले थुप्रै विश्व रेकर्ड कायम गर्नुभएको छ ।  हालसम्म उहाँले विभिन्न बत्तीस विधामा विश्व रेकर्ड कायम राख्नुभएको छ । 

तर, यी सबै गिनिज बुकका रेकर्ड भने होइनन् । यसका बारे उहाँको आफ्नै भनाई छ । यी सबै जसरी नेपालका 'क' वर्गका दैनिक भनेर गोरखापत्रदेखि लिएर कान्तिपुरसम्म पर्छ, यिनीहरू पनि त्यस्तै हुन् । सबैको कानुनी हैसियत उही हो । 

गिनिज पुरानो भएको नाताले चर्चित छ, अरु त्यति छैनन् भन्ने मात्र हो उहाँ भन्नुहुन्छ । तर, सबै विश्व रेकर्ड राख्ने संस्थाहरू हुन । जसमा पच्चिसदेखि तीसवटा संस्थाहरूबाट उहाँले विश्व रेकर्ड प्राप्त गर्नु भएको छ । जसमा भारतदेखि युरोप, अमेरिका, बेलायत, हंगेरी, नाइजेरिया लगायतका देशका संस्था रहेका छन् । 

उहाँको अफिसमा करिब पाँच, छ सयवटा विश्व रेकर्डका प्रमाणपत्र छन् । सबै छापिएको पनि छैन । सबै छापेर राख्ने हो भने त अझ कति हुन्छ, उहाँ भन्नुहुन्छ ।  यस्ता छन् उहाँका बत्तीस विश्व रेकर्ड एकै दिन छत्तीसवटा गीतका छ वटा म्युजिक एल्बम, एकै दिन सात वटा म्युजिक एल्बम, तीन सय वटा नेपाली वाद्यवादनका नाम समेटेर गीत, हिन्दु देवी देवताका नामबाट गीत, नेपालका उच्च हिमशिखरको नाम समेटेर गीत, नेपालका सम्मानित व्यक्तित्वहरूको नामबाट गीत, सगरमाथा आरोहीहरूको नामबाट गीत, विभिन्न वनस्पतिहरूको नामबाट गीत आदि आदि । 

रेकर्ड माथि रेकर्ड 

हालसम्म उहाँले विभिन्न विधामा गरेर बत्तीस वटा विश्व रेकर्ड कायम गर्नु भएको छ । अब उहाँ अरु विभिन्न विधामा गरेर अठार वटा विश्व रेकर्ड कायम गर्ने सुरमा हुनुहुन्छ । त्यसका लागि उहाँ दैनिक कमसेकम एउटा लेख लेख्नेदेखि विभिन्न काम गरिरहनु भएको छ । उहाँ आफूले अहिले पनि साहित्य र सङ्गीत विधामा नै विश्व रेकर्ड राख्न लागेको बताउनुहुन्छ । 

खासमा उहाँ पहिलेका बत्तीस र अब हुन लागेका अठार गरी पचास वटा विश्व रेकर्ड कायम गर्न खोज्दै हुनुहुन्छ जसले गर्दा उहाँ विश्व रेकर्डधारीका उच्च दश स्थानमा पर्न सफल हुनुहुनेछ । तर, त्यसपछि भने अरु विश्व रेकर्डको सोख आफूलाई नरहेको पनि बताउनुहुन्छ । 

आफ्ना घरजग्गा सम्पत्ति तथा आफूले लगाएको औँठी समेत निधन पश्चात् छोराछोरी बाँडेर लाञ्छन, आफ्नो भन्ने केही बाँकी हुँदैन । तर, यो विश्व रेकर्ड भने यो संसारमा अझ सय वर्ष आफू जीवित नरहे पनि रहिरहने हुनाले आफू यो काममा लागेको बताउनुहुन्छ उहाँ । 

आफूलाई यी विश्व रेकर्डले कहिले पनि घमन्ड नदिएको बताउनुहुन्छ उहाँ । सामान्य जीवन जिउने र सके अरूलाई सहयोग गर्ने नै आफ्नो चाहना रहेको बताउनुहुन्छ, उहाँ । अहिले पनि गाउँमा जाँदा भुँइमा बसेरै खाने गरेको बताउनुहुन्छ उहाँ । साथीभाइसँग अहिले गाउँमा गएर समय बिताउँदा पनि सामान्य ढङ्गले नै बिताउने बताउनुहुन्छ उहाँ । न त साथीभाइले त्यस्तो व्यवहार गर्छन् न त आफूले नै त्यस्तो खोज्ने गरेको उहाँ बताउनुहुन्छ ।

अन्त्यमा 

विश्व रेकर्ड आफैँमा सामान्य कुरा होइन । त्यसमाथि बत्तीस अनि फेरी अठार थप गर्दै पचास विश्व रेकर्डको पनि रेकर्ड बनाउने अभियानमा अघि बढ्नु निश्चय पनि सामान्य कुरो होइन । यत्ति मात्रै भनिरहँदा नै यो लेखको सान्दर्भिकतामा थप प्रस्ट पार्नु जरुरी नरहला ।