नजन्मिएको छोरा

नजन्मिएको छोरा

जया राई  |  साहित्य  |  फाल्गुन ८, २०७७

म मेरो छोरा नजन्मिएकोमा निरास छु ।

‘ईश्वर ! जसलाई जे चहिन्छ, त्यो चाहिँ किन दिँदैनौ नि !? तीनतीनवटी छोरीपछि त एउटा छोरा दिएकाे भए तिम्रो भण्डार त रित्तिने थिएन होला नि !  कसैलाई भने पाँच–सात जना छोराको ताँती लगाउँछौ । मलाई भने एक जना दिन पनि कत्रो कन्जुस्याइँ गरेको होला । अब फेरि यी तीन छोरीपछि अर्को छोरा नै होला भन्ने के निश्चय छ र म अर्को सन्तानको आशा गरौँ ?’  म माथिका यी कुराहरुलाई मनमा खेलाएर एउटा कुनाको टेबलमा बसेर पहिलो प्याक रित्याइसकेको हुन्छु ।

घरमा रमिला सुत्केरी जीउ लिएर वरपर, भित्रबाहिर गर्दै होली चिङ्नाहरुसँग । ‘भोक लाग्यो !’ भन्दै कराउँदा हुन्, रुँदा हुन् आपसमा लडाइँ, झगडा गर्दै होलान् । उ भने मेरो बाटो हेर्दै होली ।

के उसको त्यो शारीरीक दुर्बलताको बेलामा, मैले यसरी नै रित्ता गिलासहरु रित्याउँदै–भर्दै गर्नुपर्ने हो त ? म आफैँलाई प्रश्न गर्छु र भन्छु–होइन् । मेरो कर्तव्य त अफिस छुट्नासाथ घर जाने । सागसब्जी, फलफूल र माछामासु किनेर लाने । सुत्केरी स्वास्नी र छोरीहरुको राम्रो हेरचाह गर्ने, तर यो मन किन मान्दैन? किन रित्ता गिलास भर्ने पैसा हुन्छ, रित्ता थालमा खाना र रित्ता मनमा माया भर्ने चाह भने छैन?

के म रमिलाको कमजोरीको फाइदा उठाउँदै छु या मलाई मेरै हीनताबोधको भारीले किचेको हो ? आफैंलाई प्रतिप्रश्न गर्छु । म, कुबाटोको पनि चौबाटोमा अलपत्र छु । अहिलेसम्ममा मजाले आँट आउने गरी गिलासहरु रित्तसकेका छन् ।

धेरैजसो समय एक्लै रित्याउनै मजा हुन्छ । जुन बेला आफ्नो मनको सन्तुष्टि असन्तुष्टिहरु गिलाससँगै पिउन सकन्छि । साथी भएमा कुरामा कुराहरु ओकलिन्छ । भेलि आफू रित्तो भएको बेला त्यसले पिरोल्छ । मलाई एक्लै रित्याउनैमा मजा लाग्छ । कमसेकम मनको पीङसँगै एक्लै मच्चिन र थकाइ लागे बिसाउन त पाइन्छ !

म सम्झन्छु विवाह–प्रेम–विवाह ।

बा–आमाकी जेठी छोरी, पढाइमा जेहेनदार रमिला । स्कुलको पढाइ सकिनसाथ ऊ आइटी कोर्स गर्न थाली । हो, त्यही कोर्सको बेला हाम्रो सम्बन्ध राम्ररी बाँधिदै गयो । उसलाई व्यापारमा रुचि भएकोले कलेजमा पनि त्यही विषय पढी । तर मैले पर्यटन रोजेँ ।

धेरै समयपछि मेघालयमा खबर पुग्ला–ल फलाना त सक्किए छ । सन्तान नै नाश भयो । छोरा–छोरी कति छन् को नि ! छोरा थिए थिएन ? बस वरपरकाले भन्लान् एक–दुईले सोध्लान् । सकियो, जिन्दगीको खोज–खबर । देश खोज्दै आएको म, देशमै बेखबर छु । परदेशमा पनि सानो गुनासोहरुसँग सकिन्छु ।

समयहरु बित्दै गए । हामी एक–आपसमा नङ–मासुको समबन्धझैँ अनुभूति गर्न थाल्यौँ । विवाह अत्यावश्यक भयो । हाम्रो निर्णय ठिकै लाग्यो । जबकि रमिलाको पढाइ सिद्धिएकै थिएन ।

मैले !? पढेर कसले पो सकेको छ संसारमा ? मेरो, स्कुले केटाकेटीको भविष्य सुन्दर भएको हेर्न चाह हुँदाहुँदै, चक र डस्टर छाडेर टुरिस्ट गाइड बनेँ । चक र डस्टरभन्दा यो आकर्षकको पेसा लाग्यो । संसारका नयाँनयाँ ठाउँबाट आउने पर्यटकलाई घुमाउँदै सहरमा घुम्नमा पनि अद्वितीय सन्तुष्टि छ ।

ट्रेकिङमा हिँड्न झनै रमाइलो । बाटो पर्ने हरेक भन्ज्याङ देउराली–देवीस्थानमा पाती चढाउनु र त्यसको अर्थ पर्यटकलाई बुझाउन पाउँदाको आनन्द ।  आहा ! हाम्रो संस्कृति र चाडबाड संसारका धेरैधेरै मानिसले सिकेर–बुझेर गएका छन् । मलाई यसैमा ठूलो गर्व पनि लागेको छ । यतीको देश, सगरमाथाको देश र संस्कृति नै संस्कृतिको देश । अथवा झरना र सुन्दर छटाहरुको देश अथवा अलौकिक आनन्दको देश । मेरो देश ! म आफैँ आफ्नो देशको सुन्दरतासँग फुर्किन्छु र गमक्क गम्किन्छु ।

 म हरेक टोलीको यात्रामा उनीहरुको प्रत्येकको क्यामेरामा सजिएको छु । खोलाको किनारामा, छहरामा, हिमालको पृष्ठभूमिमा । विशाल लेकाली फाँटमा साथै भेडा र चौंरीका बथानहरुमा, निश्चल हृदय भएका गाउँलेहरुका हूलमा ।

आहाज् ! क्या राम्रा फोटोहरु मेरो देशको, संस्कृतिको, माने, पाटी र पौवाहरुको नत्र त किन आउँथे संसारभरका पर्यटकहरु सथरमाथाको देशमा । मेरो प्यारो देशमा !

बिहान हुँदा पाल उठायो र बेलुका पाल हाल्यो । मलाई पाल र किलाहरुसँग कति पनि झर्को लाग्दैन । यो जीवनको अभिन्न अङ्ग नै भइसकेको छ । कुनै बेला अर्को पालभित्रबाट आउने आग्रहलाई स्वीकार गर्न पर्ने बानी परिसकेको छ । आ ! मोरीहरु कति पनि धकाउँदैनन् । थकाउँछन् मात्रै !

दिनभरी हात समातेर हिँड्छन् । बेलुका, त्यो हातको साथ छोड्नै मान्दैनन् । यो मन पनि हरेक टोलीको कोही न कोहीसँग टाँसिएकै हुन्छ । अन्तमा छ्ट्ने बेलामा दिएको चुम्बनको दाग यो गालामा देखिने भए, खाली ठाउँ कतै पनि हुने थिएन । तर धन्य ईश्वर ! त्यो दाग देखिँदैन गालामा जति चुमे पनि । मनमा जति जनाको तस्वीर सजाए पनि हुन्छ अथवा राख्दै भेट्त्तै गरे पनि हुन्छ । मसँग मनको भण्डारमा गन्ती नै गर्ने हो भने लामो स्रेस्ता बन्ला । तर यो मनको बीचमा रमिला नै केन्द्रबिन्दु भएर रहेकी छे । जसले मलाई छोराको बाउ बनाउने चाह गर्दागर्दै छोरीको लर्को लगाउँदै छे ।

ऊ भन्छे–छोरो पाउने रहर अझै छ रे !

म टिल्ल मातेर अबेर घर पुग्छु । उसले कुनै झर्कोफर्को गरेकी छैन । कहिल्यै गर्दिन पनि । उसको यो बानी नै मेरो मनको केन्द्रमा बस्ने मुख्य कारण हो । म उसलाई  गुनासोहरु गर्ने प्रशस्तै ठाउँ बनाउँछु । तर ती गुनासोहरुको साटो हाँसेर टारेकी छे । नत्र यतिका सङ्गतमा आउनेहरुले कसैले न कसैले मेरो तनमन तानेर सात समुद्रपारि लगिसक्थ्यो । तर ए मेरी रमिला ! तिमीले माने र भन्ज्याङहरुमा नै अल्झाइरहन दिएकी छ्यौ । धेरैको आग्रहलाई स्वीकृति दिने 'अफर'लाई विफल पारेकी छ्यौ नि, मेरी रमिला !

अहिले सिजन छ । ट्रेकिङ अफिसमा चहलपहल कम छ । अफिस जाने आउने काम न हो । दिनभरि टेबलमा बसेर सोच्नलाई प्रशस्तै फुर्सत छ । गर्नेहरु आफ्नो दैनिक कार्यलयका कामहरु गरेकै छन् । बेलुका अफिस छुट्यो बारमा गयो,गिलास रित्यायो । क्रमागत रीतले मेरो कार्यक्रम नियमित चलिरहन्छ ।

गिलास रित्याउने र भरिने क्रम श्वास–प्रश्वास जस्तै एक–अर्काको परिपूरक भइसकेको छ । भरी र खालीमा कत्रो अन्तराल ! अझ भर्दै नभर्नुमा कत्रो महानता होला । तर भर्दै नभर्नुहरुले जीवनको अनुभूति गर्न पाउँदैनन् वा रित्याएर पाएको आनन्द त्यो रित्याउँदै नरित्याउनेले अनुभूति र सन्तुष्टि प्राप्त गर्नै पाउँदैनन् बा ! रित्याएर पाएको आनन्द त्यो रित्याउँदै नरित्याउनेले अनुभूति र सन्तुष्टि प्राप्त गर्नै पाउँदैनन् ।

म माथिका यी कुराहरु सोच्दै परिचित बारमा पुगिसकेको छु । बारटेन्डर ! ऊ र मेरो परिचय यहीँ आएर भएको हो । हामीमा कुनै औपचारिकताको आवश्यकता नै परेन । हामीबिचमा कुनै परिचयको आवश्यकता नै छैन । उसलाई नियमित ग्राहकहरुको ‘अडर’ कण्ठस्थ छ । बारको टेबलमा गएर त्यो बनाऊ, ऊ देऊ भन्नै पर्दैन । म भित्र पस्नसाथ मेरो प्याक हातमा लिएर कुनाको टेबलमा बस्छु । जहाँ मलाई आफ्नो बारेमा सोचेर समय बिताउन आनन्द आउँछ । गिलास रित्तिदैँ जान्छ । मनमा  आउने विभिन्न विचारहरु प्रबल भएर हुत्तिँदै आउँछन्, मलाई छोड्दै, पछार्दै जान्छन् ।

ममा त्यस्तो के नै असन्तुष्टि भयो र यो बारको नियमित ग्राहक बन्न पुगेँ ? म विचारमग्न हुन्छु । मनमा केही क्षणभित्रैमा प्रस्ट छायाँ देखा पर्‍यो, रमिला र उसका अगाडि–पछाडि रुँदै–उफ्रदै्र, खेल्दै गरेका छोरीहरु । वास्तवमा ती छोरीहरु मेरै प्रतिनिधि नै त हुन् । म किन यिनीहरुसँग साटिन सक्तिनँ?

यिनीहरुलाई चोखो माया दिएर म  किन पग्लन चाहन्नँ ?

रमिला मलाई छोरा देखाएर छोरी नै किन जन्माउँछे ?

वस्तवमा छोरा प्राप्तिको प्रबल चाहना ऊभित्र कि म भित्र ?

छोरा र छोरीको सीमारेखा किन र कसले कोरेको ?

गिलास भरिँदो र रित्तिँदो छ । मनमा आएका सोचहरुलाई उठाउँदै–उठाउँदै लैजान मलाई अझ मौका मिल्दै जान्छ ।

 म सोच्छु, यसै बेला । यही घडी मेरो मृत्यु होस् रे ! रमिला के गर्छी होली ? उसका सानासाना चल्लाहरु लिएर कति बुरुक–बुरुक उफ्रँदी हो । आमासँगै छोरीहरु पनि झ्याउँ–झ्याउँ रुँदा हुन् । उसका माइती र आफन्तहरु आउँदा हुन् । मेरा पट्टिका कोही नआउँदा यस्ता प्रवासीहरुलाई छोरी दिनु पनि धिक्कार छ !  कोही आएनन् भन्दै मेरो मृत्युलाई सराप्ता हुन् ।

धेरै समयपछि मेघालयमा खबर पुग्ला–ल फलाना त सक्किए छ । सन्तान नै नाश भयो । छोरा–छोरी कति छन् को नि ! छोरा थिए थिएन ? बस वरपरकाले भन्लान् एक–दुईले सोध्लान् । सकियो, जिन्दगीको खोज–खबर । देश खोज्दै आएको म, देशमै बेखबर छु । परदेशमा पनि सानो गुनासोहरुसँग सकिन्छु ।

म मेरो शवलाई आफ्नै आँखाले हेरिरहन्छु । कुन प्रकारले विसर्जन गरुँ, एक्लै छु ।

बाग्मतीमा ?

होइन ? मेला छ र प्रदूषित छ । वतावरण पनि दूषित पार्छ ।

गिर्जाघर ?

कति धेरै गिर्जाघर । कुनमा?

गुम्बामा ?

होइन ।

मनले कतै मान्दैन । शवलाई बोकेर आफैँ हिँड्न थालेँ । कुनै स्वच्छ–शान्त वातावरण अहँ पाउँदिँन । गलेर लखतरान भएँ । म, मेरो शवसँगै भुइँमा बजारिएँ ।

वास्तवमा म बसेको कुर्सीबाट भुइँमा लडेछु । म झस∙ ब्युझेँ । रातको बाह्र बजिसकेको छ तर बारमा चहल–पहल भने अझै तन्नेरी भएर बसेकै थियो । मेरो अवस्थामा बारको टेबलमा बस्नेहरु गलल....हाँसेको सुनेँ ।

'सिवाकोटी सर, निदाउनुभयो कि क्या हो?' बारटेन्डर उताबाट व्यापारिक भाषा बोल्छ । उसले सिवाकोटी जी ¤ मात्नुभयो कि क्या हो, भनेर सोध्न पनि त सक्थ्यो ।

म उसको प्रश्नलाई वास्तै नगरी लखर–लखर एक्लै घरतिर लाग्छु ।

संखुवासभा, हालः बेलायत