मुटुभित्र देश

मुटुभित्र देश

गोविन्द गोपाल खतिवडा  |  साहित्य  |  फाल्गुन ८, २०७७

शार्दूलविक्रीडित छन्द

 

माटोभित्र यहाँ हरेक कणमा छन् बुद्धका पाइला ।
शालिग्राम बनेर विष्णु भगवान् हुन्छन् नदीमा शिला ।।
यी अग्ला हिमशैल छन्, प्रकृतिको नौलो चमत्कार छ ।
छन् मुस्कान यहाँ हरेक मुखमा, स्वर्गीय संसार छ ।।


शेर्पा डम्फु बजाउँदै छ छठमा आएर बारातिर ।
सेलो नाच्न भनेर थारु अहिले नाम्चे पुग्यो आखिर ।।
भेरीको जब आँसु तप्प चुहियो मेची बन्यो चिन्तित ।
पाल्पाले पिरती लगाउँछ यहाँ हाँसेर डोल्पासित ।।


हाम्रो गौरव हो पवित्र मिथिला, जन्मिन् जहाँ जानकी ।
राराको रहमा पुगेर रविले ऐना कतै हेर्छ कि रु
लाखौं फूलहरू टिपेर मुटुले गाँसेर माला उनी ।
हामी मुन्धुम, वेद, धम्मपदको बस्छौं छहारीमुनि ।।


माया लाउन पारुहाङ नजिकै आइन् यतै सुम्निमा ।
पुर्खाको इतिहासमा विगतका छन् चेतना स्वर्णिम ।।
आएको छ विकासमा, प्रगतिमा आकाश चुम्ने क्षण ।
तिम्रा सन्तति छौँ प्रसन्न अहिले ए पृथ्वीनारायण !


भाषामा छ मिठास, उर्वर धरा, सम्पन्न छन् सभ्यता ।
हामी संस्कृतितुल्य सुन्दर भयौं जोडेर आत्मीयता ।।
हाम्रा हात सदैव तत्पर बनून् नेपालको काममा ।
ए मेरो मुटु ! धड्किदे अब सधैं नेपालकै नाममा ।।

देवघाट ५, तनहुँ
९८४५७०७६४४

७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ का उपलक्ष्यमा आज फागुन ७ गते प्रज्ञा भवन, कमलादीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित ‘साहित्यिक तथा सांस्कृतिक कार्यक्रम’मा दोस्रो स्थान प्राप्त कविता