फर्क अब आफ्नै देश
फाल्गुन ८, २०७७

हिमालजस्तो स्वाभिमान भएको
बुद्धकोजस्तो विचार भएको
म एक वीर गोर्खाली हुँ ।

अदम्य साहस बोकेर हिँडेका पैतालाहरू
र तराईका फाँटजस्तो फराकिलो छातीमा
आफ्नै माटोको रङ्ग टाँसेर निधारभरि
हिँड्नु छ देश बनाउने अभियानमा ।

छोडेर पर्देशमै हरियो पासपोर्ट
फर्किनु छ आफ्नै घर आँगनमा
र आफ्नै पसिनाले सिँचाइ गरेर
उर्वर बनाउनु छ अबको बाँकी युग ।

गाउँमा चर्किएका घरका भित्ताहरू
माटोले टालेर सुन्दर बनाउनु छ गाउँ
खेतमा चिरा परेका गह्राहरू
आफ्नै पसिनाले ओसिलो बनाउनु छ
फुलाउनु छ पहाडहरूमा रातो गुँरास
जब देश स्वतन्त्र भएर बाँच्छ
तब पो यो निश्चल आँखामा हिमाल हाँस्छ
डाँफे चरिका रङ्गिन प्वाँखजस्तै
रङ्ग्याउन बाँकी छ मेरो देशको सपना
र देशको खम्बा भएर बाँच्नु छ मलाई ।

लालुपातेजस्तो रातो सपना बोकेर
अक्करे भिरमा मुस्कुराई रहेको गुँरासजस्तो
सगरमाथा चढ्ने आरोहीका पैतालाजस्तो
हामीले यो युगको गीत लेखौँ ।

अब खनौँ आफ्नै बाटो-कोदाली भएर
अब जोडौँ हजार सपनाहरू - पुल भएर
फर्क युवा हो फर्क
यो देशको ईतिहास हामी आफैँले  लेख्नु पर्छ ।

युग बदल्ने जोसिला पाईलाहरू
उर्जाशिल मुठ्ठीहरू
गोलीले छेड्न नसक्ने छातीहरू
आऊ परिवर्तनको एउटा युगान्तकारी नक्सा कोरौँ
अनि पो देश बाँच्न सक्छ
फर्क युवा हो देश फर्क
हामी हाम्रो पिढीको लागि देश भएर बाँचौँ ।

रामेछाप

७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ का उपलक्ष्यमा आज फागुन ७ गते प्रज्ञा भवन, कमलादीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित ‘साहित्यिक तथा सांस्कृतिक कार्यक्रम’मा  प्रथम स्थान प्राप्त कविता