'नमेटिने चक्रचिन्ह'

'नमेटिने  चक्रचिन्ह'

तेज राई  |  साहित्य  |  फाल्गुन ८, २०७७

ए !
हिड्नै आटेको परदेशी !
बर्षौअघि,
बुबाले आफ्नै पहरे छातिमाथी
चपरी पल्टाएर खनेको रातो माटो
निधार हुँदै चिउँडोबाट तप्किएका
पसिनाले भिजाएर
सिनित्तै पोतिएको
चम्किलो रातो सिकुवा
र,
रातै आँगनसहितको यो घर- तिम्रै हो ।
स्निग्धताको कञ्चन कमेरोले
लिपिएका भित्ताहरुमा
कहिल्यै नमेटिनगरी टाँसिएका
आमाको हत्केला
र,
चक्र चिन्हसहितको यो घर- तिम्रै हो ।
 उत्तरपट्टिका-
सिमातित सम्भावना,
हिमनदि र सङ्गिन बेगहरु,
दक्षीणपट्टी-
विश्वासका फाँटहरुमा
बयलिरहेका आशाका
बान्किला बाला
र,
दृश्यहरु एकै दृष्टिमा अटाउनेगरी
निहार्न मिल्ने
कलात्मक यो जस्केलो- तिम्रै घरको हो ।
सेलो,सङ्गिनी र सिल्लिमा
सजिएका सिम्माहरु,
शिखरको शितल सगुनको सट्टामा
फेदीले न्यानो हावा फुकिदिदा
पहाडमा कसिएका
बन्धिला सम्बन्धहरु,
चियाउन मिल्ने
बुट्टेदार यो आँखिझ्याल -तिम्रै घरको हो ।
 
टारिखेत,पारिखेत
गोठ र गाई साहुलाई सुम्पेर,
डाँफे,नौरङ्ग
मयुर र मुनाल बन्धकी राखेर,
देउडा,हाकपारे
रोदी र मारुनी जाकटी पारेर,
छेवैको खोल्सीमा
बाँकि अस्तित्व बगाइदिएर
बटुलिएको एक आना थैली
खकनमा कसेर,
परदेशिनै आटेको,
ए, परदेशी !
रोकिदेऊ पाइला !
बिसाऊ खकन !
निखनेर ल्याऊ बन्धकिहरु !
उकासेर ल्याऊ
डाँफेको रङ्ग र मारुनी भाका !
बगिगएको अस्तित्व उभ्याउन,
फेरी उठाऊ चारकुना !
तेस्र्याऊ बलियो दलिन !
छाइदेऊ दृढताको छाना !
फेरी पोत सिकुवा
तिम्रो आफ्नो छातिको रातो माटोले !
र,
फेरी लिप चारै भित्ता
सुरम्यताको श्वेत कमेरोले,
अनि,
टाँसिदेऊ,
कहिल्यै नमेटिनेगरी
तिम्रा हत्केलाका चव्रmचिन्हहरु !
ए,
हिड्नै आटेको परदेशी !


   खोटाङ्ग
 tejkurai9815@gmail.com

७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ का उपलक्ष्यमा आज फागुन ७ गते प्रज्ञा भवन, कमलादीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित ‘साहित्यिक तथा सांस्कृतिक कार्यक्रम’मा तेस्रो स्थान प्राप्त कविता