तृष्णाको तुच्छ जालोमा स्वर्ग या नर्क हुने मान्यता र नर्वेमा रहेकाे यातायातको त्याे अनुशासन

फर्कलान् र ती दिनहरु

तृष्णाको तुच्छ जालोमा स्वर्ग या नर्क हुने मान्यता र नर्वेमा रहेकाे यातायातको त्याे अनुशासन

हरिविनोद अधिकारी  |  साहित्य  |  फाल्गुन ८, २०७७

यसो सम्झँदा लाग्छ, तृष्णा नभएको भए  संसारमा अहिलेसम्मको विकास वा आजसम्म विनासउन्मुख हुन्थ्यो होला ? तृष्णा विकासका लागि पनि जरुरी हुने रहेछ र विनासको आधार पनि तृष्णा नै रहेछ भन्ने मलाई लाग्न थालेको छ । तृष्णा वा तिर्सना वा प्यास जे भनौँ जीवनमा यो जहिले पनि गाँसिएर आएको हुन्छ । भनिन्छ नि, यो चराचरका प्राणीहरू त्यही तृष्णाको जालमा फसेका हुन्छन् । तृष्णा कति आवश्यक छ या तृष्णा जरुरत नै छैन, यसबारे कसले निर्णय दिने ? श्रीकृष्णले अर्जुनलाई दिने उपदेशभित्र अर्थात् श्रीमद्भागवत गीताभित्र धेरै कुराहरू समावेश छन् भन्ने विद्वानहरूको विचार छ। गीताले स्वयं व्यक्तिमा निहित सार्वभौम अधिकारको स्पष्टोक्ति दिएको छ र ममा समाहित हुनेलाई म रक्षा गर्छु भनेर प्रकृतिको त्यो विराटरुपको सङ्केत गरेको देखिन्छ । 

तृष्णाको मात्रा न त बढी होस् या न त घटी होस् । अहिले हामी बलात्कारको कुरा सुन्छौँ,  भ्रष्टाचारको कुरा देख्छौँ, अन्याय अत्याचार, विद्वेष, रिस रागदेखि गृहयुद्धको ज्वालामा कतिपय देशहरू लपेटिएको देख्छौँ, कुनै पनि बेलामा विश्वयुद्ध हुनसक्ने अनुमान लगाइरहेका छौँ । प्रकृतिप्रति अत्याचार गरेर सबै प्राकृतिक स्रोतहरू दोहन गरेको दोष हामी मानव जातिले नै मानव जातिलाई दिइरहेका छौँ । त्यसमा व्यक्तिमा, हातमा अधिकार भएका व्यक्तिहरूको नचाहिँदो तृष्णाले संसार नष्ट गरेको देखिन्छ । तृष्णा जरुरी छ किनभने त्यो सबैभन्दा पहिले उब्जने विचार हो जसले मानिसमात्रलाई या प्राणी मात्रलाई जीवन सञ्चालन गर्नका लागि प्रेरणा दिन्छ । विचारको फिलिङ्गो हो तृष्णाको सानो बीजाङ्कुरण। विचार एउटा कल्पना हो जसले के गर्न हुन्छ र के गनै हुँदैन भन्ने धारणालाई पहिले छान्छ र कुन तृष्णालाई कार्यान्वयनमा ल्याउने भन्ने नयाँ बाटो मनमा नै पहिल्याउँछ ।

तृष्णा र विवेक । विवेकको पनि परिभाषा कसरी गर्ने ? हामीले बनाएका कृत्रिम नियमहरूमा कति स्वार्थ लुकेको छ भने प्रत्येक नियम वा कानुन भित्र हामीले आफ्नो स्वार्थलाई साकार गराउने तृष्णा समेटेर राखेका हुन्छौँ । विभिन्न शासन प्रणालीको निर्माण गर्‍यौँ र भन्यौँ - हे मानव जाति हो, हे चराचरका प्राणी हो, जीवन र जगतका बारेमा हाम्रो धारणा तिमीहरूले मान्नै पर्छ , नभए यी यी कुराहरूले बन्धनको काम गर्नेछन् । बन्धन भनेको तृष्णाको तुष्टिको माध्यम हो । आफ्ना व्यक्तिगत या सामूहिक तृष्णाको बन्धनमा हामीले आफूलाई र सबैलाई समेट्ने प्रयास गरेका छौँ । 

त्यसैले पूर्वीय मान्यतामा तृष्णालाई सकारात्मक रुपमा पनि लिएको पाइन्छ र नकारात्मक रुपमा पनि लिएको पाइन्छ । कल्पना, रिस, आवेग र  सपना यी तृष्णाका अनेक रुपहरुमध्ये हुन् जसले भावी जीवनको कल्पनामा आजको जीवनको गोरेटो कोरेको हुन्छ । पूर्व जन्मको कमाइ यो जीवनमा र यो जीवनको कमाइ अर्को  जन्ममा पाइने तृष्णाको जालो बिछ्याइएको छ । गर्न हुन र गर्न नहुने कुराको एउटा लामो विवरण तयार गरिएको छ जसले भावी जीवनको रुपरेखा कोरेको हुन्छ । तृष्णालाई त्यसैले हामी सपनाको रुपमा पनि स्वीकार गर्न सक्छौँ र देखिने सम्भावित असम्भावित सपनाले नै तृष्णाको तुष्टिलाई रूप प्रदान गरेको हुन्छ । 

पूर्वाग्रह तृष्णाको एउटा विकृत रूप हो । तृष्णाले सदैव विकृतता मात्र पैदा गर्दैन , त्यसले त भावी अनुसन्धान र जीवनलाई कल्पनाशील पनि बनाएको पाइन्छ । 

पूर्वाग्रहलाई तृष्णाको तुष्टिको उपाय मान्नेहरूले के पनि मानेका छन् भने पूर्वाग्रह अज्ञात कारणले पनि नबुझेर पनि र पहिलेको सम्पर्कले पनि रहन्छ जसलाई तृष्णाको तुच्छ जालोको रुपमा हामीले अर्थ्याउन सक्छौँ । तर तृष्णा त तिर्खा मात्र नभएर भोक पनि हो । ज्ञानको भोक पनि हो । संसारलाई दावानलको रुपमा जलाउने आगो पनि हो र सकारात्मक तृष्णाले जीवन र जगतलाई सदैव भलो गर्ने व्यापक चाहना पनि हो । 

अनि पूर्वाग्रह के हो त ? एउटा नीति कथा छ पूर्वाग्रहका बारेमा ।

हामी पुराना कुरा सम्झेर बदला लिने कुरा गर्छौँ । परिवारमा , समाजमा रहँदा बेला मौकामा विवाद हुुनसक्छ र आफूले भनेको कुरा र अरूले भनेको कुरामा मन नमिल्न सक्छ । तर सधैँभरि एउटै कुरालाई लिएर मतभिन्नता राम्रो हुँदैन । जे समस्या छ, तत्काल छलफल गरेर समाधान गर्नुपर्छ र त्यही समाधानलाई मानेर, आधार बनाएर  सम्बन्ध कायम गर्नुपर्छ । 

पूर्वाग्रह भनेको पहिलेको मत भिन्नतालाई पालेर बस्ने अर्थात् पूर्वकालको आग्रहका आधारमा अहिलेको बदलिँदो समयमा पनि आपसमा दुर्व्यवहार गर्नु हो  । 

एउटा नीति कथा यस्तो छः

एउटा पहाडको दक्षिण तिर नुनको खानी थियो र उत्तरतिर मिस्रीको खानी थियो । ती खानीहरूका वरिपरि कमिलाहरू बस्दथे । ती कमिलाहरू पनि आफ्ना आफ्ना पहाडहरूमा नुन र मिस्री खाएर रमाउँदै थिए । तर तिनीहरूलाई आफ्नो पहाडको अर्कोतिर के छ भन्ने थाहा थिएन । नुनको खानी भएका तिरको कमिलालाई मिस्रीको बारेमा थाहा थिएन भने मिस्रीको पहाडमा बस्नेलाई नुनको बारेमा थाहा थिएन । तर ती फरक फरक पाटोमा बस्ने कमिलाहरूमध्ये दुईटाले भने कुनै बेलामा मित लगाएका थिए । तिनीहरूले एक अर्कालाई आफ्नो पहाडमा निम्ता गरे । सबैभन्दा पहिले मिस्रीको पहाडको कमिलो नुनको पहाडको भ्रमणमा गयो । उसलाई बस्न मन लागुन्जेलसम्म नुनको स्वाद लिँदै बस्यो र मितलाई आफ्नो पहाडमा आउनका लागि निम्तो दिँदै फर्कियो । 

एउटा सीमाबद्ध क्षेत्र या जोनबाट अर्को जोनमा जानुपर्दा मूल्य बढी हुन्छ तर एउटै जोनमा जानेका लागि न्यूनतम मूल्यबाटै जान सकिन्छ । तोकिएको समयभित्र जुनसुकै यातायातको साधनमा यात्रा गर्न सकिन्छ । सामान्यतया कसैले सोध्दैन । टिकट किन्न या त कुनै तोकिएको पसलबाट यन्त्रमार्फत किन्न पाइन्छ या त ठाउँ ठाउँमा स्टेसनहरूमा कार्ड या पैसाबाट किन्न पाइन्छ । पैसा सजिलोको लागि मात्र भनिएको हो, नर्वेमा प्रचलनमा रहेको मुद्रालाई क्रोन या क्रोनर भनिन्छ ।

केही समयपछि निम्तो मान्नका लागि नुनको पहाडको कमिलो पनि मिस्रीको पहाडतर्फ घुम्न गयो । धेरै दिनसम्म घुमेपछि एक दिन त्यो कमिलाले आफ्नो मितलाई भन्यो - मितज्यू मितज्यू , मिस्रीको स्वाद पनि त नुनजस्तै पो हुँदो रहेछ । अनि मिस्रीको पहाडको कमिलाले मितलाई भन्यो- होइन नि मितज्यू,  मिस्रीको स्वाद गुलियो हुन्छ र नुनको स्वाद नुनिलो हुन्छ । अनि मिस्री पनि कहाँ नुनजस्तो हुन्छ र ? केही समस्या छ है तपाईँको जिभ्रोमा । हजुरलाई केही भयो जस्तो छ । अनि त्यस कमिलाको मुख बाएर हेर्दा त घाँटीमा नुनको ढिका अड्केर बसेको रहेछ जसले गर्दा जति मिस्री चाटे पनि घुटुक्क निल्दा नुनिलो नै हुने रहेछ । त्यो नुनको ढिका निकालेर फाले पछि मिस्रीको स्वाद गुलियो आइहाल्यो । 

यो कथाले के सिकाउँछ भने नुन पूर्वाग्रहको प्रतीक हो । त्यो नुनको ढिका घाँटीबाट निकाले पनि मिस्रीको स्वाद जसरी आयो, पुरानो पूर्वाग्रह त्यागे पछि आपसी सम्बन्ध पक्कै नै राम्रो हुन्छ । नुनको ढिका मुखमा रहँदा वा घाँटीमा अड्केर रहँदा मिस्रीको स्वाद पनि नुनिलो नै भएको थियो । 

तृष्णाको स्वरूपलाई नुनले र मिस्रीले प्रतीकात्मक सङ्केत गरेका छन् भने कमिलाले हामी प्राणीहरूका बिचमा देखिने तृष्णालाई पूर्वाग्रहको एउटा स्वरूपमा देखाइएको छ । 

वास्तवमा पूर्वीय संस्कृतिमा तृष्णालाई दुःखको जडको रुपमा लिइन्छ र त्यो तृष्णाबाट पार पाउन स्वधर्म पालनामा जोड दिइएको छ । अनावश्यक सार सङ्ग्रह र अति महत्त्वाकाङ्क्षालाई पनि तृष्णाको तुच्छ जालोको रुपमा माने पनि यदि तृष्णाको भोक लागेन भने सायदै संसारमा नयाँ नयाँ आविष्कार होलान् ।

तृष्णाको तुच्छ जालोले नै जीवनलाई स्वर्ग या नर्क बनाउँछ भनिन्छ । स्वर्ग वा नर्कका कुरा र नदेखिने तर मानव जगतमा आफ्नो वर्चस्व कायम गर्ने ईश्वरका बारेमा फेरि कुनै प्रसङ्गमा चर्चा गरौँला । 

अहिले म युरोपको पनि नर्वे भन्ने देशको कुरा गर्छु । रातको १२ बजे पनि घाम लाग्ने देश भनेर हामीले विद्यालयमा विद्यार्थी हुँदा सुनेका थियौँ र कतिपय बेलामा हाजिरी जबाफका बेलामा भन्ने गथ्यौँ रातको १२ बजे पनि घाम लागिरहेको देख्न पाइने देश भनेको नर्वे हो । वास्तवमा उत्तरी गोलार्द्धको उत्तरको देश भएकोले उत्तरायणमा उज्यालो २४ घण्टा नै देखिन हुनाले त्यसो भनिएको रहेछ । सूर्य दक्षिणायन हुँदाको अवस्था फेरि उज्यालो नै देख्न नपाइने पनि त रहेछ । तर नर्वेको सार्वजनिक यातायात र स्वअनुशासनको उदाहरण मात्र प्रस्तुत गर्नेछु । 

यो यात्रा विवरण लेख्न बस्दा विश्व कोरोना भाइरसको महामारीले ग्रस्त छ । विश्वका २००भन्दा बढी देशमा यो कोभिड- १९का नामले चिनिने विषाणु या भाइरसले करिब करोडौँ मानिसहरूलाई सङ्क्रमित गरिसकेको छ र ठ्याक्कै यही  ओखतीले बिसेक हुन्छ भन्ने थाहा भएको छैन र पनि  अनुसन्धान जारी छ वैज्ञानिकहरूका बिचमा । हालै खोप आएको त छ, त्यसको परिणामका बारेमा यकिनसाथ भन्न सक्ने अवस्था अझै छैन । एक दिन त यो महामारीबाट संसार बाहिर आउने छ र मानिसले अहिलेसम्मका धेरै चुनौतीहरूको  सामना गरेजस्तै अहिले पनि गर्नेछन् भन्ने आशा गरौँ । कुनै खोपको परिणाम कति भन्ने कुराको खासै अनुसन्धान हुन नसके पनि विज्ञानले नयाँ अनुसन्धान गरेको छ र सायद यसबाट कम्तीमा पनि अब यो भाइरसको  सङ्क्रमणको गति तीव्र हुनबाट संसार जोगियोस् र गरिब राष्ट्रहरूमा पनि यो खोपको आवश्यक मात्रा पुगोस् भन्ने कामना गरौँ । अब म आफ्नो नर्वेको यातायातका बारेमा आफ्नो सानो अनुभव प्रस्तुत गर्दछु । 

मेरो यो अनुभव युरोपको नर्वे भन्ने देशको हो । तर पोहोर अर्थात् २०१९को मे महिनादेखि अगस्तसम्म मैले नर्वे प्रवासका बेलाको एउटा अनुभवलाई यहाँ प्रस्तुत गरेको छु ।

नर्वेलाई अनुशासन प्रिय देशको रुपमा लिइन्छ । एक जना नेपाली भुक्तभोगीले मलाई बताए -नर्वेको समाजलाई विघटन हुनबाट जोगाउने यहाँको नियम कानुनलाई कडाइका साथ कार्यान्वयन गर्नु हो । स्वतन्त्र समाज छ, विवाह गरेर बच्चा जन्माउने भन्दा विवाहपूर्व नै बच्चा जन्माउने प्रचलन छ । विवाह त केही समयपश्चात् पनि हुनसक्छ, नहुन पनि सक्छ । विवाह नै नभएपछि कसरी सम्बन्ध विच्छेद हुन्छ र ? सम्बन्ध बन्नु र भत्कनु सामान्य कुरा हो तर पनि नर्वेली समाज शान्त देखिन्छ, कुनै हलचल नभए जस्तो । लैङ्गिक समानता छ, सामाजिक न्यायको प्रत्याभूति छ र आधारभूत आवश्यकताको जोहो सरकारले पनि गर्छ, नागरिक आफैँ पनि आफ्नालागि मिहिनेत गरेर बाँच्ने कुरामा विश्वस्त छन् । करोड पति बाबु वा आमाको सन्तानले  पनि आफ्नू व्यवस्था आफैँले गर्नु जरुरी छ । नाबालिग हुँदा अभिभावक र सरकारको जिम्मा बालक हुन्छ, बालिग भएपछि उसको जिम्मा आफैँले लिन्छ या सरकारले लिन्छ । बेरोजगारी भत्तादेखि सम्पूर्ण सुविधा सरकारले दिनै पर्छ । शिक्षा जति  पढे पनि निःशुल्क छ । 

विकसित देशको भनेर गणनामा परेको नर्वेमा आज सार्वजनिक यातायातको एउटा नियमको बारेमा चर्चा गरिन्छ । टिकट नभए के हुन्छ ? नियम कडा छ । विना टिकट यात्रा गरिन्छ भन्ने कुरा कल्पना पनि  गरिँदैन । यो एउटा खुकुलो नियमभित्रको कडा नियम हो । नर्वेमा एक घन्टे टिकट, २४ घन्टे टिकट, हप्ताभरका लागि टिकट, महिना भरको लागि टिकट र वर्षभरिका लागि टिकटको व्यवस्था गरिएको हुँदो रहेछ । टिकटको मूल्यमा छुट दिँदै मूल्य निर्धारण गरिएको हुँदो रहेछ । यातायातका रुपमा रेल, ट्रिक, बस, फेरी वा बोटको व्यवस्था हुन्छ । एउटै टिकटको समयावधिभित्र यात्रा सम्पन्न गर्नुपर्छ । उदाहरणका लागि यदि १ घण्टाको लागि टिकट लिइएको छ भने त्यो एक घण्टामा जति यात्रा सम्पन्न गर्ने हो गरिसक्नुपर्छ यात्रा सुरु गरेको समयबाट । 

यहाँ पनि इमानको कुरा आउँछ । बसमा या ट्रिकमा चढ्दा त्यहीँ नै टिकटलाई समय रेखाभित्र थाहा पाउने यन्त्र राखिएको हुन्छ । अर्थात् त्यो टिकट त्यो यन्त्रमा छुवाएपछि समयको गणना सुरु हुन्छ । यन्त्रमा नछुवाएसम्म टिकटको समय सुरु हुँदैन । जबसम्म टिकटलाई त्यो स्वचालित यन्त्रमा छुवाइँदैन, त्यो टिकट लिएर हिँड्ने यात्री टिकट नलिएसरह हुन्छ । 

त्यहाँ पनि केही त्यस्ता यात्री  हुने रहेछन् जसले सकेसम्म टिकट स्वचालित यन्त्रमा नछुवाई टिकट बचत गर्ने अर्थात् फेरि  किन्नु नपरोस् । त्यस्ता यात्री सामान्यतया विकासशील देशबाट गएका विद्यार्थी तथा कामदार हुने रहेछन् । अनि त्यस्ता यात्रीहरूलाई सधैँ कन्ट्रोलको डर हुने रहेछ । कन्ट्रोल अर्थात् टिकट चेक गर्ने र टिकट नकिनी चढ्ने या किनेर पनि स्वचालित समय गणना गर्ने यन्त्रमा नछुवाईकन राख्नेहरूलाई कारबाही गर्ने । या टिकटमा तोकिएको समयभन्दा बढी समयको यात्रा गर्ने या पहिलेको टिकट प्रयोग गरेको पत्ता लगाउने र दण्ड गर्ने । कन्ट्रोलको डरले पनि मानिसहरू टिकट किनेर स्वचालित यन्त्रमा टिकटलाई छुवाएर समयको घेराभित्र आफूलाई राख्छन् । 

टिकटको मूल्य यात्रा गर्ने ठाउँको दूरीका आधारमा निर्धारण गरिएको हुँदो रहेछ । एउटा सीमाबद्ध क्षेत्र या जोनबाट अर्को जोनमा जानुपर्दा मूल्य बढी हुन्छ तर एउटै जोनमा जानेका लागि न्यूनतम मूल्यबाटै जान सकिन्छ । तोकिएको समयभित्र जुनसुकै यातायातको साधनमा यात्रा गर्न सकिन्छ । सामान्यतया कसैले सोध्दैन । टिकट किन्न या त कुनै तोकिएको पसलबाट यन्त्रमार्फत किन्न पाइन्छ या त ठाउँ ठाउँमा स्टेसनहरूमा कार्ड या पैसाबाट किन्न पाइन्छ । पैसा सजिलोको लागि मात्र भनिएको हो, नर्वेमा प्रचलनमा रहेको मुद्रालाई क्रोन या क्रोनर भनिन्छ ।

एक , पाँच, दश,बिस क्रोनको मुद्रा पाइन्छ भने ५०, १००, २००, ५०० र १०००को नोट पाइन्छ । क्रोनर नै चल्ती छ । खासै डलर, युरो र पाउन्डको चल्ती छैन । बैङ्कहरूमा साट्न पाइन्छ । औसतपुरमा १ अमेरिकी डलर बराबर ८ या ९ क्रोनर हुँदो रहेछ । युरो र डलरभन्दा पाउन्डको मूल्य यसै पनि बढी नै हुन्छ । मैले ओस्लोको भ्रमण २६ मे २०१९देखि अगस्तको २० तारिख सम्म गरेको थिएँ श्रीमती देवकीदेवी अधिकारीसहित । त्यो बेलामा ओस्लोको सार्वजनिक यातायातको एउटा जोनको लागि अर्थात् ओस्लो सहरभरिको लागि एक घण्टाका लागि ३६ क्रोनर थियो । वृद्ध, अपाङ्गता भएका व्यक्ति र नाबालकहरूका लागि आधा मात्र लाग्थ्यो । त्यहाँ ज्येष्ठ नागरिक भनेको ६७ वर्षका नागरिकलाई मानिँदो रहेछ किनकि त्यहाँको नियमअनुसार पेन्सन पाउनका लागि उमेर ६७ हुनु पर्दो रहेछ । 

ओस्लो विश्वकै महँगो सहरमा पर्दो रहेछ । तर यहाँको कमाई पनि राम्रै रहेछ । श्रमिकका लागि नर्वेलाई राम्रो देशको रुपमा लिइँदो रहेछ । श्रमको मूल्यमा कुनै ठगी हुँदैन भन्ने चलन रहेछ । 

यस पटक मैले सार्वजनिक यातायातको विना टिकटको कुरा गर्न आँटेको हुँ । यो हरफ लेख्दासम्म सार्वजनिक यातायातको सबैभन्दा कम मूल्य भनेको एक घण्टाको ३६ क्रोनर छ जुन कुरो माथि नै मैले लेखेको छु ।बालक, विद्यार्थी, अपाङ्गता भएका नागरिक , ज्येष्ठ नागरिक, सुरक्षा सेवाका व्यक्तिका लागि छुटको व्यवस्था छ । विद्यार्थी जो ३० वर्षभन्दा बढीका छन् तिनका लागि कुनै पनि छुट पाइने रहेनछ । ज्येष्ठ नागरिकका रुपमा उमेर ६७ वर्ष पुगेको हुनु पर्ने रहेछ । यदि कुनै सार्वजनिक यातायातको टिकट लिएको मानिसले तोकिएको समयभन्दा २० मिनेटसम्म पनि सार्वजनिक यातायात खास गरी बस, रेल नआएर काममा बाधा पुगेको सप्रमाण उजुर गरेमा उसलाई ट्याक्सी खर्चबापत ५५० क्रोनर दिनपर्ने रहेछ ।

यदि टिकट नलिई यात्रा गरेको कन्ट्रोलले फेला पारेमा तत्काल नगद दिने भए ९००क्रोनर दण्ड तिर्नुपर्छ , तर दण्ड पछि बिस्तारै तिर्छु भन्नेलाई निश्चित समयसम्ममा तिर्ने गरी १,१००क्रोनरको दण्ड हुँदोरहेछ । एउटा उदाहरण मैले  फेरा पारेँ- एउटै डेरामा बस्ने दुईजना सँगै नेपालीहरु जो ओस्लोमा बसेका थिए, घरबाट निस्केका रहेछन् । एकअर्काले आवश्यकता पर्दा एकअर्काको टिकट प्रयोग गर्नु कुनै ठूलो कुरा भएन , ती साथीहरु विना टिकट यात्रा गर्ने त हुँदै होइनन् तर त्यो दिन फुत्त हिँड्दा पक्कै दुवै टिकट एउटै जनासँग होला भनेर चढेछन् । बसमा चढ्ने बित्तिकै कन्ट्रोलले टिकट सबैसँग माग्यो । जसले थियो देखाए । कन्ट्रोलले टिकटको वैधानिकता जाँच्यो । ती दुईजनामध्ये एकजनासँगमात्र टिकट रहेछ ।

एकजनालाई के कुरामा विश्वास थियो भने मेरो टिकट पनि अर्को साथीसँगै होला किनभने उहाँकै परिवारका अर्को सदस्यले उहाँको टिकट मागेर लगेका थिए । अनि उनले भनेछन् - मेरो टिकट खोइ त ? अर्कोले आफ्नो टिकट त आफूसँग भएको तर उहाँको टिकटचाहिँ आफूलाई थाहा नभएको बताए पछि अर्को साथी अलमल्लमा परेछन् र नेपालीमा कुरा गर्दै भनेछन् - मैले त तपाईँको फलानोलाई प्रयोग गर्न दिएको थिएँ , अब म के गरौँ ? त्यो इमान्दार व्यक्तिले आफ्नो कार्ड अर्कोलाई दिएर आफूसँग कार्ड घरमा  रहेको, केही समयपछि दिनसक्ने बताएछन् । कन्ट्रोलले कुरा त बुझ्यो,समस्या पनि थाहा पायो र अभिलेखमा उसले टिकट अग्रीम किनेको पनि पक्कै होला  तर अचानका निरीक्षणमा आएको निरीक्षकले त्यो इमानदार नेपालीलाई भनेछ- अरु कन्ट्रोल पनि छन् , अरुले दण्ड गरिरहेका छन् , बरु तपाईँ अहिले तिर्ने भए ९०० क्रोनर तिर्नुस्, नभए पछि तिर्नेगरी १,१००क्रोनरको बिल बनाउँछु , आफ्नो पहिले नै पैसा तिरेको कार्डको फोटो कपी या स्कान कपी राखेर यातायात केन्द्रीय सँस्थामा उजुर गर्नुस् मिनाहाका लागि । अनि सबै कुरा राखेर कन्ट्रोलले बिल बनायो र दियो । त्यो बिलसहित आफ्नो पहिले नै बनाएको कार्डको स्क्यान गरेर त्यो साथीले उजुरी गरे भनौँ या निवेदन दिए । करिब ४ महिनापछि दण्ड माफी भएको इमेल आयो तर  अब आइन्दा त्यस्तो भएमा पूरा दण्ड लाग्ने भनेर चेतावनी पनि दियो । 

अर्थात् कन्ट्रोलको त्यो डरले पनि सबैले टिकट किन्छन् , समयको ख्याल गरेर यात्रा गर्छन्, जोनका आधारमा टिकट खरिद गर्छन् र इमानका भरमा सबै सार्वजनिक यातायातको व्यवस्थापन भएको पाइन्छ । मलाई पनि लाग्थ्यो, यति महङ्गो टिकट लाग्छ, तर कहिल्यै पनि कन्ट्रोल त देखिँदैन ? तर ५अगस्त अर्थात् साउनको २० गते म सहित हामी सबै परिवारका सदस्यहरु सोङ्भान गएका थियौँ, भाइ प्रेम परियारको जन्म दिन मनाउन । अनि सँगै रहेको मेरो विद्यार्थी मिसर लामिछानेको फ्ल्याटमा पनि छिर्‍यौँ किनभने मेरो रक्तचापका वारेमा जानकारी लिनु थियो जुन सहयोग ज्ञानु लामिछानेले गरिन् । उनी चिकित्सा विज्ञानकी विद्यार्र्थी हुन् र हामी म, देवकी, छोरी अर्चना, ज्वाईँ नवराज सापकोटा र नातिनी अदिति सबै नै गएका थियौँ । 

त्यहाँको भूमिगत रेललाई टी- बाहन भन्दारहेछन् । जसलाई स्थानीयस्तरमा थेबान भन्छन् । त्यहाँबाट फर्कँदा पहिलो स्टेसनमा नै  (थेबानमा) कन्ट्रोल आयो । हामीले त आफ्नो वैधानिक टिकट देखायौँ तर केही यात्रुहरुलाई त्यहाँ छटपटी भएको हामीले देख्यौँ । सायद त्यस्तै गरे होलान् कन्ट्रोलले, या त नगद लिए होलान्, ९०० क्रोनर या त पछिसम्म तिर्ने गरी ११सय क्रोनरको बिल दिए होलान् । 

हल्का हरियो ओस्लो बसमा टिकटको कन्ट्रोल स्वयं ड्राइभरले गर्नेरहेछन् । यात्रुहरु ड्राइभरनेरबाट चढ्नु पर्ने अनि ड्राइभरले टिकट चेक गर्ने रहेछ । समयावधि वैध भएको वा  नभएको, पासको रुपमा पहिले नै रकम तिरेको, मोबाइलबाट टिकट किनेको सबै चेक गरेरमात्र भित्र प्रवेश दिने रहेछ । 

सामान्यतया महिनाको कार्ड किनेर हिँड्नेहरु धेरै हुँदा रहेछन् किनभने कहिलेकाहिँ टिकट किन्न नपाउँदा या हतारमा कतै जानुपर्दा मुस्किल पर्ने हुनाले कुसैले केही टिकट लिइराख्ने या महिना, तीन महिना या छ महिनाको टिकट किनेर राख्नेरहेछन् । निश्चित समयका लागि लिइएको टिकटका वारेमा त टिकट रिन्यु गर्ने कुरामात्र रहेछ । तर किनेको टिकट नछुवाएपछि हुने कुरामा त्यो हरियो बसमा भने यदि विना टिकट कुनै यात्री फेला परे ड्राइभरलाई दण्ड हुने रहेछ किनभने उसले चेक नगरेको अर्थमा लिइँदो रहेछ ।

कन्ट्रोल त कहिलेकाहिँ मात्र हुने हो तर कन्ट्रोलको डरले सबैले टिकट लिने रहेछन् किनभने फेला परेपछि त ९००क्रोनर पो तिर्नुपर्छ भनेर । यसरी सार्वजनिक यातायात रेल, थेबान, ट्रिक , बस , फेरी यसैगरी सञ्चालित भएका छन् र नाफामा चलेका छन् । निर्वाध यातायात सञ्चालनमा छन्, मिनेटको फरक पर्दैन । यतिबजे आउने र यतिबजे पुग्ने भन्ने समयसारिणी छ, त्यसका फरक पर्दैन तर विदामा दिनभने समय सारिणीमा केही परिवर्तन हुन्छ तर पनि सट्टा वाहनको व्यवस्था गरिएको हुन्छ । कुन रुटमा कुन बस वा ट्रिक वा रेल चल्ने छ भन्ने सूचना दिइएको हुन्छ ।

हामी नर्वेजियन नबुझ्नेका लागि कहिलेकाहिँ अप्ठेरो पर्ने रहेछ तर सूचनाचाहिँ हुँदोरहेछ । कतिपय व्यापारिक संस्थाहरुले सहरबाट आफ्नो पसलसम्मका लागि बसको सेवा निःशुल्क गरेका हुँदा रहेछन् जस्तो कि इकिया भन्ने व्यापारिक संस्थाले ओस्लोको मध्यभाग जहाँबाट सम्पूर्ण यातायातको परिचालन हुन्छ,सेन्ट्रमबाट आफ्ना पसल जहाँ जहाँ छन्, त्यहाँसम्मका लागि बस सेवा विदाका दिनबाहेक सञ्चालन गरेका रहेछन् । त्यस्ता अरु पनि होलान्, तर मलाई जानकारीमा आएकोलाई मात्र मैले यहाँ प्रस्तुत गरेको हुँ । एकातिर खुकुलो देखिन्छ जो जहाँबाट चढे पनि हुने , टिकट काटेर चढ्नै पर्ने तर कसैले चेक गरेको नदेखिने , यदि विना टिकट चढेको पाइए दण्ड पनि कडाइका साथ असुल्ने । अनि जायज तर्कको पनि सुनुवाइ हुने र गरिएको दण्डको पनि मिनाहा हुनसक्ने । सायद ! त्यसैलाई भनेका होलान्, नर्वे नियमले बाँधिएको समाज हो, नियमले नै सबैलाई संयमित र अनुशासित बनाएको अनि सामाजिक  नियम मान्नैपर्ने अनुशासनको पाठ पढाएको र त विकसित देशको रुपमा चिनिएको छ । क्रमशः