औद्योगिक क्षेत्र निर्माणले गति लिने भएपछि खुशी स्थानीय बासिन्दा

औद्योगिक क्षेत्र निर्माणले गति लिने भएपछि खुशी स्थानीय बासिन्दा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १०, २०७७

कञ्चनपुर । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र निर्माणले गति लिने भएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । विसं २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । नौ अर्ब लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने भएको हो । 

पूर्व सांसद नरबहादुर धामी औद्योगिक क्षेत्र स्थापनाका लागि प्रतिबद्धता अनुसार शिलान्यासको कार्यक्रम अगाडि बढेको देख्दा खुशी लागेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,“विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) र इआइए प्रतिवेदनको स्वीकृतिको काम सम्पन्न पश्चात निर्माणका लागि बाटो खुलेको छ ।”
 
औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल चार सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ । औद्योगिक क्षेत्रको डिपिआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन् जसबाट ३० हजार बढीले रोजगार पाउने छन् ।

 यस अघिनै जनचेतना सामुदायिक वनको दुई सय हेक्टर र बेदकोट सामुदायिक वनको ४५० हेक्टर जग्गााको भोगाधिकार बालाजु औद्योगिक लिमिटेडको नाममा गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकोे उच्च्स्तरीय टोलीले दुई पटक अनुगमन गरी विसं २०५२ र २०६६ सालमा बेदकोटको छेलामा औद्योगिक क्षेत्र बनाउन उपयुक्त ठहर गर्दै मन्त्रालयमा राय पेश गरेको थियो ।

 दुई सय ९३ बिघा जग्गामा तीन सय साना, मझौला र ठूला गरी तीन सय उद्योग सञ्चालन गर्न सकिने त्यही बेलाको प्रस्तावमा उल्लेख थियो । त्यसपछि आव २०७१÷७२ को बजेटमा सुदूरपश्चिम क्षेत्रको विकासका लागि औद्योगिक क्षेत्र स्थापनाको कार्यलाई उच्च प्राथमिकतामा राखिएपछि अध्ययनको कार्य गरिएको थियो ।