'भ्याक्सिन लगाउँदैमा कोरोना सङ्क्रमण हुँदै नहुने भन्ने होइन, भइहालेमा गम्भीर असर नहुने हो'
फाल्गुन १०, २०७७

प्रा.डा. अर्पणा न्यौपाने काठमाडौँ मेडिकल कलेजको मेडिकल डाइरेक्टर र  ‘फ्लु’ अर्थात् भाइरसको विज्ञ हुनुहुन्छ ।   हरेक वर्षजस्तो विभिन्न खालको ‘फ्लु’को आतङ्क सृजना हुने गर्छ । विगत एक वर्षदेखि कोरोना भाइरसले नेपाल मात्र होइन विश्व नै प्रताडित भइरहेको छ । कोरोना भाइरसका विरुद्ध एक मात्र विकल्पको रुपमा अगाडि सारिएको भ्याक्सिन नेपालमा पनि लगाउन थालिएको करिब डेढ महिना वित्तै छ । कसरी नेपाल भ्याक्सिनको पहुँचमा पुग्यो ?  भ्याक्सिन प्रतिकारे भ्रम र आकर्षणमा केन्द्रित रहेर लोकसंवाद डटकमले मेडिकल डाइरेक्टर  प्रा.डा. अर्पणा न्यौपानेसँग अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ, उक्त अन्तर्मन्थनको मूलअंशः  

 एक  विज्ञको हेराइमा कोरोना विरुद्धको भ्याक्सिन नेपालमा यति छिट्टै कसरी सम्भव भयो ?

हामीलाई अलि छिटो पाएको जस्तो चाँडो जस्ता लागेको मात्र हो ।  तर, अक्सफोर्ड जस्ता संस्थाहरू कोरोना यस्तै भाइरसको बारेमा  ले धेरै पहिलेदेखि नै अनुसन्धान गरिराखेका कारण यो चाँडो सम्भव भएको हो । 

अर्को कुरा अक्सफोर्डसँग मिलेर भारतको भ्याक्सिन उत्पादक कम्पनीले उत्पादन गरेका कारण र छिमेकी राष्ट्रका नाताले भारतले हामीलाई मित्रवत् छिमेकीका नाताले निःशुल्क उपलब्ध गराएका कारण यो हाम्रा लागि सहज र छिटो उपलब्ध हुनुको कारण हो । 

फेरी अक्सफोर्ड विश्वसनीयताका हिसाबले पनि र भारतको पनि ठुलो भ्याक्सिन उत्पादक कम्पनीले अक्सफोर्डसँग अनुमति लिएर उत्पादन गरेका कारण पनि यो अलि भरपर्दो र गुणस्तरीय समेत रहेको भएको हो । 

काठमाडौँ मेडिकल कलेज एउटा भ्याक्सिन सेन्टर पनि भएको हुनाले यसको आकर्षण चाहिँ कस्तो पाउनु भएको छ ? 

सुरुको आधा महिना जति मानिसहरूमा यसका बारेमा केही दुबिधा देखिएको थियो । के हुने हो ? कस्तो हुने हो ? भन्ने पनि थियो । र, भ्याक्सिन लगाएका मान्छेहरूमा केही असरहरू पनि देखियो भनेर प्रचार भयो, जसका कारण केही सुस्त जस्तो देखिएको थियो । 

अहिले खोपको दोस्रो मात्रालाई अनिवार्य नै बनाइएको छ । पहिलो खोप लगाएपछि शरीरमा एण्टीबडी बन्ने प्रक्रिया प्रारम्भ हुन्छ । र, केही ढिलो गरी एण्टीबडी बन्ने प्रक्रिया प्रारम्भ भए पनि दोस्रो मात्राको खोपले एण्टीबडी बन्न अझ सहयोग गर्छ भन्ने कारणले पनि दोस्रो मात्रा जरुरी छ । 

तर, पछि सरकारले थप लक्षित समूहलाई भ्याक्सिनेसन गर्दै गएपछि भने यो भ्रम हटेर गयो । अहिले भने यसका प्रति मान्छेमा आकर्षण नै देखिन्छ । केएमसीमै पनि भ्याक्सिनेसनको दिनमा झन्डै नौ सयदेखि हजार जनाले भ्याक्सिन लगाउने गरेका छन् । यसबाट यसको आकर्षण कति छ भन्ने कुरा सजिलैसँग पुष्टि हुन्छ । 

भ्याक्सिनको प्रभावकारिताका बारेमा पनि प्रश्न उठ्ने गरेको छ, यसका बारेमा के पाउनुभएको छ ?

यसको प्रयोग र अनुसन्धानले ६७ देखि ८० प्रतिशतसम्म प्रभावकारी रहेको अध्ययनहरूले देखाइरहेका छन् । न्यूनतम रुपमा ६७ प्रतिशतमा यसले कोरोनाको एण्टीबडी बनाउन मद्दत गरेको नै पाइएको छ । 

वास्तवमा कोरोनाको भ्याक्सिन भनेको कोरोना भाइरसको एक प्रकारको प्रोटिन हो जसले शरीरमा एण्टीबडी बनाउन मद्दत गर्छ । शरीरमा एण्टीबडी बनेपछि त्यसले कोरोनाको जीवाणु पहिचान गरेर त्यस विरुद्ध लड्ने काम गर्छ । 

यदि कोरोनाको जीवाणु शरीरमा प्रवेश गरेको खण्डमा पनि यसले धेरै असर गर्दैन र शरीरमा निर्माण भएको एण्टीबडीले कोरोना विरुद्ध लडेर कोरोनाबाट जोगाउने काम गर्छ । 

भ्याक्सिन लगाएकाहरूलाई पनि कोरोना सङ्क्रमण भयो भन्ने सुनिएको छ नि ?

त्यो हुन पनि सक्छ । तर के बुझ्नुपर्छ भने भ्याक्सिन दिइसकेपछि पनि शरीरले त्यसलाई चिनेर त्यसका विरुद्ध एण्टीबडी बनाउन केही समय लाग्छ । त्यो न्यूनतम दश, पन्ध्र दिनदेखि छ हप्तासम्म पनि लाग्न सक्छ । त्यो चाहिँ शरीरको इम्युनिटी पावरमा पनि भर पर्ने कुरा हो । 

यदि भ्याक्सिन लगाए पनि शरीरमा एण्टीबडी तयार नभइसकेको अवस्था रहेछ भने लाग्न सक्ने सम्भावना पनि रहन्छ । त्यो सामान्य कुरा हो । 

भ्याक्सिन लगाएका कोही मानिसलाई एक दुई दिन अप्ठेरो भएको सुनिएको छ भने कसैलाई केही पनि असर  नदेखिएको  पाइएको छ  यस्तो कसरी  ? 

यो हुन पनि सक्छ । यो भनेको मानिसको आफ्नो शरीरको इम्युनिटी पावरमा भर पर्ने कुरा हो । कुनै पनि औषधिले सबैलाई एकै किसिमले असर गर्ने भन्ने हुँदैन । 

कसैलाई अक्सिजनको लेभल कम भएर गाह्रो भएको छ, कसैलाई ज्वरो पनि आएको छ भने कसैलाई केही पनि भएको छैन । यो सबै शरीरको इम्युनिटी पावरमा भर पर्ने कुरा हो । 

सङ्क्रमण नहुनुलाई भ्याक्सिनको प्रभावकारिता मान्ने कि कुनै असर देखिएन भने त्यसलाई मान्ने ? 

असर देखिनु अथवा नदेखिनुलाई यसको प्रभावकारितासँग जोडेर हेर्न मिल्दैन । कसैलाई असर देखियो भने त्यो प्रभावकारी र असर नदेखिए त्यो कम प्रभावकारी हुने भन्ने कुरो होइन । 

भ्याक्सिन लगाइसकेपछि शरीरमा बन्ने एण्डीबडीको मात्राले यसको प्रभावकारिता मापन हुने हो । र अक्सफोर्डले गरेको अनुसन्धानले तीन महिनासम्म पनि एण्टीबडी रहिरहेको पाइएकोले यसलाई राम्रै प्रभावकारी मानिएको छ । 

र, यस कारण एकै महिनामा यसको यसको दोस्रो मात्रा दिनु नपर्ने हो कि भन्ने खबर पनि बाहिर आइसकेका छन् । अर्थात् दुई महिनामा दोस्रो मात्रा दिँदा पनि प्रभावकारी हुन्छ भन्ने कुरा पनि आएको छ । 

खोपको दोस्रो मात्राको पभावकारीताको बारेमा केही जानकारी आएका छन् ?

पहिलो मात्राको प्रभावकारिता ६७ देखि ८० प्रतिशत भन्ने अनुसन्धानले देखाएको छ । र, पहिलो खोप लगाइसकेको हुनाले पनि यस्तो भएको हो । यसका बारेमा समाचार आएका पनि छन् । तर, दोस्रो खोपको मात्राको प्रभावकारिताका बारेमा भने जानकारी आएको छैन । 

खोपको दोस्रो मात्रा कत्तिको अनिवार्य हो ? 

अहिले खोपको दोस्रो मात्रालाई अनिवार्य नै बनाइएको छ । पहिलो खोप लगाएपछि शरीरमा एण्टीबडी बन्ने प्रक्रिया प्रारम्भ हुन्छ । र, केही ढिलो गरी एण्टीबडी बन्ने प्रक्रिया प्रारम्भ भए पनि दोस्रो मात्राको खोपले एण्टीबडी बन्न अझ सहयोग गर्छ भन्ने कारणले पनि दोस्रो मात्रा जरुरी छ । 

यसको प्रभावकारितालाई सङ्क्रमण नहुने कुरासँग दाँज्न मिल्छ ? 

सङ्क्रमणसँग यसको प्रभावकारितालाई दाँज्न मिल्दैन । सङ्क्रमण हुन पनि सक्ला, तर सङ्क्रमणको असर भने कम भन्दा कम हुने कुरालाई भने यसको प्रभावकारितासँग दाँज्न मिल्ला । सङ्क्रमण हुँदै नहुने भन्ने होइन भइहालेमा पनि कम भन्दा कम  असर अर्थात  गम्भीर असर नहुने  हो । र, मानिसको ज्यानै जाने तथा अन्य गम्भीर असर नहुने कुरोलाई यसको प्रभावकारितासँग दाँज्न सकिन्छ । 

अबको लक्षित समूह भनेको ज्येष्ठ नागरिक हो, यसरी लक्षित समूह तोकेर सबैलाई खोप लाउन सम्भव होला ?  

लक्षित समूह भनेको जोखिमका आधारमा निर्धारण गरिएको हो । वडा तथा गाउँ गाउँमा पनि स्वास्थ्य चौकी छ र स्वयंसेवकहरू पनि छन् जसले गर्दा सबैलाई खोप दिन सम्भव छ, जसरी हामी पोलियो तथा अन्य खोप लगाउँछौँ त्यसो गर्दा सम्भव देखिन्छ । 

कोरोना भ्याक्सिन साँच्चै जरुरी हो, लगाउनै पर्छ ?

यो साँच्चै जरुरी हो र सबैले लगाउनु पर्छ, कारण यसबाट भएको ठुलो नोक्सानी हाम्रो आँखा अगाडि नै छ । अर्को कुरा भ्याक्सिन लगाएको मानिसमा पनि सामान्य असर बाहेक अन्य कुनै गम्भीर समस्या नदेखिएकोले पनि यो सुरक्षित छ र लगाउनै पर्छ । लगाउँदा यसले कुनै किसिमको हानी नोक्सानी गर्दैन ।