नेपाल अडिटर्श एसोसिएसन : पाँचौँ केन्द्रीय परिषद् २८ फागुनमा

नेपाल अडिटर्श एसोसिएसन : पाँचौँ केन्द्रीय परिषद् २८ फागुनमा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १०, २०७७

 काठमाडौँ । नेपाल अडिटर्श एसोसिएसन (अडान) को पाँचौँ परिषद् देश व्यापी रुपमा भइरहेको छ । लेखा परीक्षकहरूको पेसागत सङ्गठन अडान विगत झन्डै दुई दशक देखि क्रियाशील रहेको छ । नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका सदस्यहरू मात्र यस संस्थामा सदस्य हुन पाउने व्यवस्था छ ।

विगतमा राष्ट्रिय अधिवेशन पछि क्षेत्रीय परिषद् गरिन्थ्यो तर सङ्घीयताको कार्यान्वयन पछि साङ्गठनिक रुपमा पनि परिवर्तन भएको छ । जिल्ला, प्रदेश र केन्द्र गरी तिन तहमा सङ्गठन चलायमान भएको छ । 

पाँचौँ परिषद् गर्ने संस्थाको निर्णय बमोजिम यस पटक प्रदेश नं २ को जनकपुर, बाग्मती प्रदेशको चितवन र कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश परिषद् सम्पन्न भैसकेका छन् भने आगामी फाल्गुण १५ गते लुम्बिनी प्रदेशको बुटवल, गण्डकी प्रदेशको पोखरा, सुदुर पश्चिम प्रदेशको धनगढीमा प्रदेश परिषद् हुँदै छ । त्यस्तै यही फाल्गुण १९ गते काठमाडौँ अल्फा हाउसमा उपत्यका प्रदेशको र फागुन २२ गते प्रदेश नम्बर १ को विराटनगरमा प्रदेश परिषद् सम्पन्न गरी २०७७ फागुन २८ गते काठमाडौँको कार्की बैंकटमा केन्द्रीय परिषद् हुने कार्यक्रम रहेको । 

केन्द्रीय परिषद्मा विधान बमोजिम सबै प्रदेश तथा जिल्लाका प्रतिनिधिहरू, र पर्यवेक्षकहरूको उपस्थिति रहने छ । अडानका ६५ जिल्ला कार्य समिति र ८ वटा प्रदेश समिति छन् । 

परिषद्मा पाँचौँ राष्ट्रिय महाधिवेशन भइसके पछिका १८ महिना भित्र गरेका साङ्गठनिक एवं आर्थिक गतिविधिका प्रतिवेदनहरू र जल्दा बल्दा पेसागत मुद्दाहरूमा छलफल गरी पारित गर्ने कार्यक्रम रहेको संस्थाका प्रचार विभागका संयोजक एवं उपाध्यक्ष डोल प्रसाद दाहालले जानकारी दिनु भएको छ ।