आकाङ्क्षा र असन्तुष्टि:पद फालाफाल भनिएका दुबै नेकपामा कार्यकर्ता व्यवस्थापन 'फलामको चिउरा' !

लोकस‌ंवाद टिप्पणी

आकाङ्क्षा र असन्तुष्टि:पद फालाफाल भनिएका दुबै नेकपामा कार्यकर्ता व्यवस्थापन 'फलामको चिउरा' !

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ११, २०७७

 काठमाडौँ । ३ जेठ, २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यतिबेला दुई चिरामा विभाजित छ । पार्टी एकता भएको साढे दुई वर्षभन्दा लामो समय हुँदा समेत नेकपाका कतिपय कमिटीले  पूर्णता पाउन सकिरहेका थिएनन् । उता पार्टीका जनवर्गीय संगठनहरुमा समेत एकता प्रक्रिया टुंगिएको थिएन । यसबिचमा कतिपय संगठनमा पूर्वएमाले र पूर्वमाओवादीको त कतिपयमा पूर्व एमालेकै ओली समूह र माधव नेपाल समूहबीचको विवादका कारण एकता प्रक्रिया अघि बढ्न सकेको थिएन । 

५ पुसमा प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपा राजनीतिक रुपमा विभाजित बनेको छ । नेकपा विभाजनसँगै दुवै समूह आफ्ना पक्षमा नेता तथा कार्यकर्तालाई तान्न व्यस्त रहिरहेका छन् । यसबिचमा धेरै नेताहरुले समूह परिवर्तन गरेको जानकारी दिने क्रम जारी छ । समूह परिवर्तन गर्नुमा विचारप्रति सहमति/ असहमतिभन्दा पनि पदीय भागबण्डा मुख्य कारक देखिदै आएको छ । 

नेकपाका दुवै समूहमा यतिबेला विभिन्न कमिटीहरुलाई पूर्णता दिने क्रमले तिव्रता दिइरहेका छन् । प्रधानमन्त्री केपी ओली समूहले पुसको पहिलो सातामा नै आफू पक्षको केन्द्रीय कमिटीको बैठक राखेर १ हजार ५ सय सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको  थियाे । जसलाई निर्वाचना आयाेगले अबैध भने पनि केन्द्रीय सदस्यका रुपमा अतिथि आशन ग्रहणा गर्ने क्रम जारी  छ भने तल्लो स्तरका सबै कमिटीमा ठूलो संख्यामा नेता कार्यकर्ताहरुलाई जिम्मेवारी दिएको  बताइएकाे छ । 

प्रचण्ड–नेपाल समूहले भने केन्द्रीय कमिटीमा संख्या थप गरिसकेको छैन । तर अन्य कमिटी तथा जनवर्गीय संगठनहरुलाई पूर्णता दिइरहेको छ । सोही क्रममा सोमबारमात्रै ६५ जिल्ला र काठमाडौं, ललितपुर र भक्तपुर महानगरमा नयाँ नेतृत्व चयन गरेको छ । तर नयाँ नेतृत्व चयन गरिएसँगै त्यसप्रति असन्तुष्टिको स्वर बाहिर आउन थालेकाे छ । 

नेकपाको ओली समूहमा पनि पदीय रडाको कम छैन । ओली समूहमा धेरै नेता कार्यकर्तालाई माथिल्ला कमिटीमा जिम्मेवारी दिएर थापथुम पारिएको छ । अझैपनि पूर्वमाओवादीबाट ओली समूहमा लागेका केही नेताहरु बरियतालाई लिएर असन्तुष्ट रहेको बताइन्छ । पूर्वमाओवादीका रामबहादुर थापा बादल निकट युवाहरुले ओली समूहको युवा संघको भेला बहिस्कार गरेका थिए ।

सोमवार दिउँसो अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेर सातवटै प्रदेशका विभिन्न जिल्लाका अध्यक्ष र सचिव चयन गरी जिम्मेवारी दिइएको सूची विभिन्न सञ्चारमाध्यम मार्फत सार्वजनिक गरिको थियो ।

माघ १ र २ गते बसेको स्थायी कमिटीको बैठकले केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरेअनुसार नियुक्ति सार्वजनिक गरिएको भएको पत्रमा उल्लेख छ । तर कतिपय नेताले यो सूची अन्तिम नभएको र त्यसलाई परिमार्जन गर्ने काम भइरहेको भन्दै नयाँ कार्यविभाजनलाई घुमाउरो भाषामा विरोध जनाएका छन् ।  अथवा भनौ कार्यकर्ता तानातान हुँदा पदीय आकाङ्क्षा कारण नेता तथा कार्यकर्ता व्यावस्थापन जटिल मात्र होइन 'फलामकाे चिउरा' सावित हुँदै गएकाे छ । पदीय आकाङ्क्षा पुरा नहुने बितिकै अर्काे समूहमा रहेकाे सार्वजनिक रुपमा जानकारी  दिएर असन्तुष्टि प्रकट भइरहेको छ । 

नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’ मा हस्ताक्षर भएको छ । 

सो मापदण्ड अनुसार नेकपाका कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत हुनेगरी कमिटीहरु निर्माण हुनेछन् । मापदण्डअनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सह-इन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिनेछ । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने’ मापदण्डमा उल्लेख छ । 

यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुल सदस्य संख्यामा पनि ५०–५० प्रतिशत हुनेगरी पदपूर्ति गर्ने सहमति छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा ६०–४० को अनुपातमा कमिटीहरु निर्माण भएका थिए । 

यस्तो त प्रचण्ड–माधव समूहको कमिटी निर्माणको मापदण्ड

१. प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा सामान्यतया साबिकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षवाट पूर्ति गर्ने । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने । पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने ।

२. सामान्यता पार्टी कमिटीहरु तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य संख्यामा ५०÷५० प्रतिशत हुनेगरी गर्ने, विशेष परिस्थितिमा विशेष व्यवस्था गर्न सकिनेछ ।

३.पार्टी कमिटी तथा जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति गर्दा साविक घटकको कमिटी र जनसंगठनमा वरियतामा अगाडि रहेकालाई प्राथमिकता दिने । वरियतामा ध्यान दिँदा साविक संगठनको सम्बन्धित कमिटी वा संगठनभित्रबाट व्यक्तिको चयन गर्ने र महिला सहभागिता तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने । विशिष्ट स्थितिमा कमिटी वा संगठनमा नरहेको भएपनि विगतमा पार्टी कमिटी वा संगठनमा काम गरेको वरियताको दृष्टिबाट योग्य व्यक्तिलाई जिम्मेवारी दिन सकिने ।

४. एकीकरणको काम वा रिक्त पदको पूर्ति गर्दा सम्बन्धित घटकभित्र सामान्यतया वरियताको आधारमा जिम्मेवारी दिनुपर्ने भएपनि विशिष्ट स्थितिमा स्थानीय आयश्यक्ता अनुसार प्रदेश कमिटीले निर्णय गर्नै । यसो गर्दा सक्रियतालाई ध्यान दिनुका साथै फुट र  गुटमा लागेका अर्को पक्षबाट सिर्जित समस्याको समाधान र चुनौतीको सामना गर्नसक्ने विशेष ध्यान दिने । प्रमुख नेतृत्वलाई माथिल्लो जिम्मेवारी दिनुपर्ने पर्ने अवस्थामा उपयुक्त र सक्षम व्यक्तिलाई सो स्थानको जिम्मेवारी दिने ।

५. पार्टी केन्द्रीय कमिटी सदस्यको रिक्त रहेको ठाउँमा सदस्यहरूको चयन नहुँदासम्म केन्द्रीय निकायले गर्नुपर्ने जिम्मेवारीका लागि केन्द्रीय प्रतिनिधिको रूपमा उपयुक्त ब्यक्तिको मनोनयन गरी सम्बन्धित जिल्ला वा क्षेत्रको जिम्मेवारी दिने ।

६. साविक नेकपा एमाले पक्तिमा रहेको गुट तथा फुटपरस्तहरूले कार्यकताहरुलाई भ्रमित तुल्याउने प्रयास बढी गरिरहेकाले जिम्मेवारी प्रदान गर्दा उक्त भ्रमलाई चिर्नसक्ने कुरामा विशेष ध्यान दिने ।

७. पार्टीका केन्द्रीय कमिटी र केन्द्रीय निकाय तथा जनवर्गीय संगठनका केन्द्रमा बाहेक प्रदेश कमिटीका सदस्यहरुको पूर्ति प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने, जिल्ला कमिटीको पूर्ति जिल्ला कमिटीको सिफारिशमा प्रदेश कमिटीले गर्ने र मातहत अन्य कमिटीमा रिक्त रहेका सदस्यको स्थान पूर्ति सम्बधित जिल्ला कमिटीले गर्ने । यसरी पूर्ति गर्दा म मापदण्डहरु अनुरुप गर्ने । (संख्या थप गर्नुपर्ने भएमा पार्टी र जनवर्गीय संगठनको विधान अनुरूप सदस्यहरूको मनोनयन गर्ने । त्यसबाट पनि अपुग हुने स्थितिमा केन्द्रमा सुझाव प्रस्ताव पठाउने ।)

८. पार्टी पक्ति उत्साहित हुने, जिम्मेवारी औचित्यपूर्ण देखिने र विद्यमान चुनौतीको सामना गर्नसक्ने स्थिति निर्माण हुनसक्ने गरी नेतृत्व चयन गर्ने कुरामा विशेष ध्यान दिने ।

९. उपयुक्त मापदण्ड र आधारको अवलम्बन गर्दै यथाशीघ्र रिक्त स्थानहरूको पूर्ति गर्ने ।

यसो त नेकपाको ओली समूहमा पनि पदीय रडाको कम छैन । ओली समूहमा धेरै नेता कार्यकर्तालाई माथिल्ला कमिटीमा जिम्मेवारी दिएर थापथुम पारिएको छ । अझैपनि पूर्वमाओवादीबाट ओली समूहमा लागेका केही नेताहरु बरियतालाई लिएर असन्तुष्ट रहेको बताइन्छ । पूर्वमाओवादीका रामबहादुर थापा बादल निकट युवाहरुले ओली समूहको युवा संघको भेला बहिस्कार गरेका थिए ।

सो समूह नै अहिले छिन्नभिन्न भएर अहिले कतिपय एक्लाएक्लै ओली निकट युवा संघमा र केही प्रचण्ड–नेपाल समूहमा आबद्ध हुन थालेको बताइन्छ । नेकपा विभाजनले सिंगो देशलाई त संकटको भूमरीमा फसाएको छ नै ठूलो संख्यामा इमान्दार नेता कार्यकर्ता समेत वल्लो घाट न पल्लो तिर भएका छन् । पार्टी विभाजनमा फाइदा देख्नेहरु भने यतिबेला कुन समूहमा ठूलो भाग पाइन्छ भनेर थुकी–सुकी गर्दै दौडिरहेको घिनलाग्दो दृश्य देखिन्छ । विचार र संगठनात्मक योजना र नीति बिना नै दौडिने यस्तो परिपाटीले निम्त्याउने सांगठनिक अराजकताले आगामी दिनमा नेकपाका दुवै समूहलाई कता पुर्‍याउँछ भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।