डोटीमा चितुवा आतङ्क

डोटीमा चितुवा आतङ्क

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन १२, २०७७

डोटी । जिल्लामा एक हप्तादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ । शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्तामा कम्तीमा  आठ चौपाया मारेको छ । सोही वडाका खगेन्द्र बोगटीको गाईको बाच्छो, कलुदेवी बोगटीको गाई, शेरबहादुर बोगटीका चार बाख्रा र करी पार्कीका दुई बाख्रा चितुवाले मारेको उहाँले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “केही दिनयतादेखि चितुवाले आतङ्क मच्चाउन थालेको छ, हाम्रै गाउँमा आठ चौपाया मारिसक्यो ।” 

चितुवाले दिनहुँ गाउँ तथा जङ्गलमा त्रास उत्पन्न गराउन थालेपछि यहाँका स्थानीयवासी आतङ्कित। प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले चितुवाले आतङ्क मच्चाइरहेको भन्ने खबर पाएपछि सो क्षेत्रमा प्रहरी टोली खटाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “चितुवाले आतङ्क मच्चाउन थालेको भन्ने खबर आएको छ, क्षतिका बारेमा बुझ्न प्रहरी टोली पठाएका छौँ, चितुवा नियन्त्रणमा लिने प्रयास गर्ने छौँ ।” स्थानीयवासी रामबहादुर बोगटीका अनुसार गाउँ नजीकै पर्ने कुयपानी सामुदायिक वनभित्र पर्ने जङ्गलमा लामो समयदेखि एउटा चितुवा बस्दै आएको र अपराह्न वनमा डुल्ने र राति गाउँभित्रै पसेर गाउँमा आतङ्क मच्चाइरहेको छ । सम्भावित मानवीय जोखिमलाई ध्यानमा राखी उक्त चितुवालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयलाई गाउँवासीले आग्रह गरेका छन्् ।

भरुवा बन्दूकसहित पक्राउ 
केआइसिंह गाउँपालिका–१ गणेशकाँडाबाट एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार पक्राउ पर्नेमा ३७ वर्षीय डिलबहादुर भनिने दीपेन्द्र शाही छन् । शाहीले घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीचौकी वायलबाट प्रहरी सहायक निरीक्षक भाष्करदत्त पन्तका नेतृत्वमाखटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

अभियुक्त शाहीलाई अवैध हातहतियार खरखजानासम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा प्रहरीले अवैध हातहतियार राख्नेहरुको सूचना सङ्कलन गर्ने तथा पक्राउ गर्ने कार्यलाई तीव्र रुपमा अगाडि बढाएको छ । विनाइजाजत अवैध हातहतियार ९बन्दुक ० राख्नेहरुलाई यहाँको स्थानीय प्रशासन कार्यालयले तत्काल बुझाउन पनि आग्रह गर्दै आएको छ ।