अनुदानको लाखौं मूल्यको उपकरण  तीन वर्षदेखि प्रयोगविहीन

अनुदानको लाखौं मूल्यको उपकरण  तीन वर्षदेखि प्रयोगविहीन

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १३, २०७७

सल्यान । नेचा सल्यान गाउँपालिकामा वितरण गरिएको लाखौं मूल्यको उपकरण तीन वर्षदेखि प्रयोगविहीन बनेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ९अदुवा र बेसार० जोनले अनुदानमा वितरण गरेको बेसार पिस्ने, धुने, पखाल्ने, सुकाउने र तौलने उपकरण प्रयोगविहीन बनेको हो । 

परियोजनाको  १६ लाख बजेटबाट पकेट क्षेत्रका पाँच  समूलाई उक्त मेसिन वितरण गरिएको थियो । “प्रत्येक समूहलाई वितरण गरिएको स–साना उपकरण प्रयोगमा आएको छ”, सञ्चारकर्मी डिल्ली शर्माले भन्नुभयो, “कृषकले सङ्कलन गरेर ल्याएको ठूलो परिमाणको कच्चा पदार्थलाई पिस्ने, सुकाउने, धुने र तौलने उपकरण भने विद्युत् अभाव हुँदा सञ्चालन भएको छैन ।”
    
मेसिन सञ्चालन गर्नका लागि जेनेरेटर ल्याएको भए पनि विद्युत् सुविधा नपुगेको शर्माको भनाइ छ । स्थानीयस्तरमा उत्पादित बेसारलाई औद्योगीकरण गर्नका लागि २०७४ सालमै सो उपकरण वितरण गरिएको भए पनि अहिलेसम्म थन्किएर बसेको स्थानीयवासी चित्रप्रसाद कटेलले बताउनुभयो ।  
    
जिल्लाको नेचा क्षेत्रलाई अदुवा, बेसार प्रशस्त मात्रामा उत्पादन हुने क्षेत्रको रुपमा लिइन्छ । कृषकलाई सजिलाका लागि वितरण गरिएको उपकरण लामो समयसम्म सञ्चालन नहुनु दुःखद् भएको कटेलको भनाइ छ ।

प्रयोगविहीन अवस्थामा रहेको मेसिन खिया लागेर नचल्ने अवस्थामा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ । गाउँमै बेसार पिसानीको लागि उपकरण आएपछि खुशी भएका स्थानीयवासीले उपभोग गर्न नपाउँदा सरकारी सम्पत्तिको दुरुपयोग भएको अनुभूति गर्न थालेका छन् । बेतघारीका स्थानीवासी बालकृष्ण कट्टेलले बिना अध्ययन उपकरण वितरण गरिँदा कृषि क्षेत्रमा उल्लेखीय उपलब्धि नभएको बताउनुभयो । विद्युतीय अवस्थालाई ध्यान नदिँदा समस्या भएको स्थानीयवासीको भनाइ छ । 

परियोजनाले  १६ लाख बजेटबाट पकेट क्षेत्रका कृषक समूहलाई पाँच वटा जेनेरेटर, चार कटिङ मेसिन ९स्लाइसर०, एउटा सुकाउने मेसिन ९सोलार ड्रायर०, एउटा धुने र पिस्ने मेसिन र डिजिटल तौलिने मेसिन वितरण गरेको थियो ।  

विद्युत् अभाव हुँदा उक्त उपकरण सञ्चालनमा ल्याउन कठीनाइ भएको तत्कालीन जोन सञ्चालक समितिका अध्यक्ष लोचनकुमार शर्माले बताउनुभयो । “नेचा सल्यानको वडा नं १ र २ मा विद्युत् थियो । अन्य वडामा थिएन, अब त्यहाँ पनि बत्ती आइसकेको छ” अध्यक्ष शर्माले भन्नुभयो, “सबै उपकरण सञ्चालन हुन्छ, यहाँका कृषकले लाभ लिन सक्ने छन् ।”