प्रदेश नं २ का पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन अभियान सञ्चालन

प्रदेश नं २ का पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन अभियान सञ्चालन

लोकसंवाद संवाददाता  |  पर्यटन  |  फाल्गुन १३, २०७७

सिरहा । कोभिड–१९ का कारण चहल पहल घटेका प्रदेश नं २ का पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक ल्याउन सरोकारवालाहरूले अभियान शुरु गरेका छन् । प्रदेश नं २ सरकारको समन्वयमा प्रदेशका होटेल व्यवसायीसँगै सरोकारवालाहरूले आन्तरिक पर्यटन पुनरोत्थान समिति बनाएर अभियान शुरु गरेका हुन् । 
    
अभियानअन्तर्गत समितिले प्रदेशभरिका प्रमुख पर्यटकीय क्षेत्रहरूका वृत्तचित्र तयार गरी प्रचारप्रसारसँगै पर्यटकलाई आकर्षित गर्ने अन्य गतिविधिहरू सञ्चालन गरिने समितिका सदस्य शैलेश चौधरीले जानकारी दिनुभयो । 

कोभिड–१९ र लकडाउनका कारण ओझेलमा परेका प्रदेशको आठवटै जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक धरोहरका साथै प्रमुख पर्यटकीय क्षेत्रहरूलाई लिपिबद्ध गर्न एकीकृत दस्ताबेज तयारी गरिरहेको छ । 

आन्तरिक र बाह्य पर्यटक भित्र्याउने प्रदेश २ मा व्यापक पर्यटकीय क्षेत्रहरु रहे पनि एकीकृत दस्ताबेज नहुँदा प्रदेश नं २ कै एक जिल्लाको पर्यटकीयस्थलबारे अर्को जिल्लावासीलाई थाहा नभएकाले एकीकृत दस्ताबेज तयार गर्न लागेको जनाएको छ । 

प्रदेश नं २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा सयौँ सङ्ख्यामा धार्मिक र पर्यटकीय क्षेत्रहरू छन्, तर वास्तविक सङ्ख्या नहुँदा त्यस्ता पर्यटकलाई लोभ्याउन सकिने पर्यटकीय क्षेत्रहरू समेत ओझेलमा परेको छ । 

पर्यटकलाई लोभ्याउन सकिने व्यापक पर्यटकीय क्षेत्रहरू रहे पनि एकीकृत दस्ताबेज र प्रचारप्रसारको अभावमा पर्यटकहरू भित्र्याउन नसकिएको कुरालाई मनन गरी अभियान सञ्चालन गरिएको चौधरीको भनाइ छ ।