'निजी अस्पताल भन्ने बित्तिकै यिनीहरू लुटेरै खान बसेका हुन भन्ने धारणा छ'

'निजी अस्पताल भन्ने बित्तिकै यिनीहरू लुटेरै खान बसेका हुन भन्ने धारणा छ'

लोकसंवाद संवाददाता  |  लोकसंवाद  |  फाल्गुन १२, २०७७

डा. शैल रुपाखेती  स्टार हस्पिटल को मेडिकल डाइरेक्टर  हुनुहुन्छ । निजी अस्पतालका बारेमा भिन्न खालको सोच जनमानस  रहँदै आएको छ । वास्तवमा  निजी अस्पतालका सञ्चालक के कस्ता चुनौतीको सामना गर्नु परिरहेको छ ? निजी अस्पताल प्रति किन नकारात्मक धारणा विकास भएको हो ? निजी अस्पतालमा काम गर्ने स्वास्थकर्मीहरुले उचित पारिश्रमिक  नपाएको गुनासो लगायतमा केन्द्रित रहेर लोकसंवाद डटकमले स्टार हस्पिटलका  मेडिकल डाइरेक्टर डा. शैल रुपाखेती सँग  छोटो अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ, उक्त अन्तर्मन्थनको मूलअंशः  

निजी अस्पतालका चुनौतीहरू के के हुन ? 

निजी अस्पताल भन्ने बित्तिकै यिनीहरू लुटेरै खान बसेका हुन भन्ने  विभिन्न माध्यमबाट धारणाहरू आइरहेको पाइन्छ । यो के कारणले बन्यो त्यतातिर नजाऊँ । अहिले ठुलाे र पहिलाे चुनौती यही हो ।  तर, निजी अस्पताल बिना चिकित्सा सेवा सम्भव छैन भन्ने कुरा यो कोभिडको बेलामा पनि देखिएको छ । 

निजी अस्पताल बिना चिकित्सा सेवा असम्भव नै भन्न सकिन्छ त ? 

नेपालमा झन्डै ६० प्रतिशत बेड निजी अस्पतालको पहुँचमा छन् । निजी अस्पताल प्रतिको नकारात्मक धारणा बन्नुको कारण भनेको शुल्क नै हो ।  सरकारी अस्पतालमा भने धेरै कुरा सरकारले लगानी गरेको हुन्छ । धेरै कुरा अनुदानमा आउँछ । भवनदेखि उपकरण सबैमा सरकारको लगानी रहन्छ ।  तर, निजी अस्पताल भनेको नाफामूलक संस्था  पनि हो । नाफा बिना अस्पताल चल्दैन । जब कोही व्यक्तिले आफ्नो गोजीबाट झिकेर लगानी गर्छ भने त्यो स्वभाविक पनि हो । 

अर्को स्वाभाविक कुरो के हो भने संसारमा निजी स्वास्थ्य सेवा सबैतिर महँगा नै छ र हुन्छ । अनि जब मान्छेलाई आफ्नो खल्तीबाट झिकेर खर्च गर्नुपर्छ तब उसलाई रिस उठ्न थाल्छ । 

रेस्टुरेन्टमा गएर अर्थात् खाएर महँगो तिर्दा मान्छेलाई रिस उठ्दैन । र, एउटै खानाको मूल्य पनि रेष्टुरेण्टको स्तर अनुसार फरक हुन्छ नि । तर, अस्पतालको हकमा भने मूल्य उस्तै हुनुपर्छ भन्ने कुरो  आफैमा अमिल्दो  छ । 

स्टार हस्पिटल र सरकारी अस्पतालबिच मूल्यमा के कस्तो अन्तर रहेको छ ?

सरकारी अस्पताल भन्दा त निश्चय पनि केही महँगो हुन्छ नै । तर, स्टार हस्पिटलले सहुलियतमा नै सेवा प्रदान गर्ने गरेको छ । र, पन्ध्र प्रतिशतदेखि ३५ प्रतिसतसम्म छुट पनि दिने गरिएको छ । यो पब्लिक लिमिटेड कम्पनी पनि हो । 

यहाँ स्वास्थ्य सेवा महँगो हुनुको कारण भनेकै स्वास्थ्य बिमा नभएका कारणले हो । सरकारले स्वास्थ्य बिमा लागू त गरेको छ । तर, यो ज्यादै सानो रकमको भएका कारण सरकारी अस्पतालमै पनि पुग नपुगको छ । त्याे पनि सिमित अस्पताल नै जानु पर्ने अवस्था छ ।  निजीमा त्यसले पुग्ने कुरै भएन । निजी बिमाको खासै प्रचलन छैन हामीकहाँ । 

स्टार हस्पिटलले भने स्टार इन्सुयुरेन्स भनेर हामीले आफ्नै बिमा सुरु गरेका छौँ । जसबाट अस्पतालका कर्मचारी अहिले लाभान्वित भएका छन् । यो एक लाख देखि पाँचखाल सम्मको रकमको छ । र, यसले उपचारको शतप्रतिशत नै भुक्तानी दिने गरेको छ । 

उमेर अनुसारको प्रिमियम उठाउने गरिएको छ यसमा पनि । तन्नेरी उमेरकालाई दुई तीन हजारदेखि उमेर समूह हेरी वर्षको पन्ध्र हजारसम्मको प्रिमियम रहेको छ । यसले पाँचलाख रुपैयाँसम्मको खर्च व्यहोर्ने गरेको छ । यसले तपाईँ जतिसुकै महँगो अस्पतालमा गए पनि केही फरक पर्दैन । जब मानिसले बिमाको प्रयोग गर्न थाल्छ तब यो समस्या रहन्छ जस्तो लाग्दैन । 

निजी अस्पतालले अनावश्यक ल्याब परीक्षण देखि अपरेसनसम्म गर्ने गरेको कुरामा सत्यता छ कि छैन ? 

यसमा सबैलाई सामान्यीकरण गरेर हेर्न मिल्दैन । कसैले गरेका होलान् पनि । तर, नाम चलेका अस्पतालले गरेका होलान् भन्ने मलाइ लाग्दैन ।  कहिले काहीँ सामान्य मानिसले बुझ्ने र अस्पतालले गर्ने परीक्षणमा फरक हुनसक्छ । पेट दुखेर आएको मानिसलाई किन इसिजी गरियो भन्ने सोच पनि मानिसको रहेको पाइन्छ । कहिलेकाहीँ पेट दुख्ने लक्षण हार्टअट्याकको कारण पनि हुनसक्छ । अब परीक्षणका लागि इसिजी त गर्नै पर्‍यो । अनि जब यो कुरो बाहिर आउँछ । बाहिर आउँदा बुझाइमा फरक पर्छ । तर, स्टार हस्पिटल भने यस्ता कुराबाट पहिले देखि नै टाढा रहँदै आएको छ । 

निजी अस्पतालमा विशेषज्ञहरूलाई भने विशेष सुविधा दिने अन्य कर्मचारीमाथि भने विभेद गरिन्छ भन्ने सुनिन्छ, सत्यता के हो ?

होला, यसमा होइन भन्न सकिँदैन । तर, स्टार हस्पिटलमा भने त्यो विभेद छैन । यहाँ नर्सिङदेखि अन्य स्टाफले पनि त्यही अनुसारको सुविधा पाएका छन् । कोभिडको बेलामा थुप्रै अस्पतालले डाक्टरको समेत तलब काट्ने काम गरे । तर, स्टार हस्पिटलले त्यसो गरेन । चैतमा हामीले केही काटे पनि पछि त्यसलाई भरपाई गर्‍यौं ।  भवन, उपकरण जे जति भए पनि ती सबैलाई सञ्चालन गर्ने भनेको जनशक्ति नै हो । त्यसैले पनि हामीले जनशक्तिमा  विभेद कहिले पनि गरेनौँ । 

अहिले अस्पतालमा पनि आउट सोर्सिङ गर्ने चलन छ यसले कम्पनीले कर्मचारीमाथि र कर्मचारीले बिरामी माथि विभेद गर्ने देखिएको छ, स्टार हस्पिटलले आउट सोर्सिङ गर्ने गरेको छ कि छैन ? 

अस्पताल जस्तो संवेदनशील संस्थामा युनियनका कारण हुने बन्द हडताल र अन्य गतिविधिका कारण आउट सोर्सिङ फस्टाएको हो । स्टार हस्पिटलले भने गार्ड र हाउस किपिङमा मात्र आउट सोर्सिङ गर्ने गरेको छ । 

आउट सोर्सिङबाट राखिएको कर्मचारीद्वारा बिरामीमाथि विभेदको व्यवहार हुने गरेको सुनिन्छ नि ? 

होला, हुनसक्छ । तर, हामीकहाँ भने आउट सोर्सिङ नभएका कारण कोभिडको बेलामा बिरामीलाई अन्यत्र नर्सिङ स्टाफले छुन नमान्दा पनि यहाँ भने अगाडि गएर राम्रै व्यवहार गरेर सेवा दिइएको थियो, त्यसैले त्यो समस्या यहाँ छैन । त्यसैकारणले स्टार अस्पताल कोभिडमा राम्रो उपचार गर्ने अस्पतालमा पर्यो । 

स्वास्थ मन्त्रीले अस्पतालले राज्यले तोकेको न्यूनतम तलब नदिएको कुरो उठाउनु भएको थियो, तपाइकोमा के छ ? 

अरु अस्पतालले के गर्छन् त्यसबारेमा मैले भन्न सक्न कुरो भएन, तर हामीले स्टार अस्पतालको  व्यवस्थापन सम्हालेदेखि अन्य अस्पताल तथा सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा यहाँको तलब भने केही बढी नै छ । 

अहिले उपचारमा आधुनिक प्रविधिको प्रयोग गरिन्छ अनि यो महँगो पनि छ भनिन्छ, यसलाई यसलाई कसरी व्यवस्थापन गरिरहनु भएको छ ?

अस्पतालमा प्रविधि नभई पनि हुँदैन र यो खर्चिलो पनि छ, यो दुवै सत्य हो । यहाँ किन्ने सामान र उपकरण विदेशमा पनि त्यत्तिकै पैसा पर्छ । विदेशमा उसले आफ्नो मूल्य लगाउँछ । त्यस कारण विदेशमा उपचार महँगो छ नेपालको तुलनामा । 

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सरकारले भन्सार, भ्याट तथा सेवा शुल्क समेत लगाउने गरेको छ जसका कारण पनि मूल्य एकदमै धेरै हुने गरेको छ । सिटी स्क्यान तथा एमआरआइ कुनै विलासिताका वस्तु त होइनन् नि ?  त्यस कारण यस्ता अत्यावश्यक अन्य कुरामा पनि  र करमा सरकारले पुनर्विचार गर्ने हो भने मूल्य स्वतः कम हुन जान्छ, जसको प्रत्यक्ष लाभ बिरामीले पाउँछन् । 

सरकारले निजी तथा सरकारी नभनी सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन के गर्नुपर्ला ?

पहिला कुरो र निजी अस्पताल पनि मेरै हो भन्ने अनुभूति गर्नुपर्छ राज्यले । यो व्यक्तिले लगानी गरेका कारण उसको मात्र हो भन्ने अवधारणा छोड्नु पर्छ । 

नीति नियम पनि व्यवहारिक बनाउनु पर्‍यो । जस्तै अहिले काठमाडौँमा दुई सय शैयाको अस्पताल बनाउन बिस रोपनी जग्गा चाहिन्छ । अब काठमाडौँमा हामीले कहाँबाट बिस रोपनी जग्गाको अस्पताल बनाउन सकिन्छ । 

अर्को भनेको सहुलियत र अनुदान । कृषि तथा अन्य क्षेत्रमा राज्यले अनुदान दिने गरेको छ । के अस्पताललाई चाहिँ अनुदान दिन नमिल्ने हो र ? निजी अस्पताल त धेरै मारमा परेको छ त्यस कारण पनि सहुलियतको व्यवस्था गर्नुपर्छ । जस्तो मेदान्त अस्पतालको कुरा गर्दा मेदान्तलाई हरियाणा सरकारले सय वर्षको लागि एक रुपयाँमा लिजमा जग्गा उपलब्ध गराएको छ । जसका कारण उसको जग्गामा हुने लगानी कम भयो र खर्च घट्न गयो । शायद यस्तो नीति यहाँ पनि भएको भए खर्च घट्न जान्थ्यो ।  

स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष बाह्य लगानी पनि आउन नखोजेको होइन । तर, यहाँको झन्झटिलो कानुनी प्रावधानका कारण आउन सकिराखेको छैन । शायद, यसलाई सहज बनाउने हो भने हामी उपचारका लागि भारत तथा बैंकक जाने क्रम रोकिन्छ होला । 

तपाईँको अनुभवमा निजी अस्पतालले आफूलाई सुधार गर्नुपर्ने पक्ष के हो ?

हाल भइरहेका विविध प्रकारका सिन्डिकेट हट्नु पर्छ । जस्तो अहिले एम्बुलेन्सको सिण्डीकेटका बारेमा सुनिएको छ । हामीले त्यसो गरेका छैनौँ र हामीलाई त्यसो गर्नु आवश्यक पनि छैन । अर्को भनेको स्वास्थ्य बिमालाई व्यापक बनाएर हरेक अस्पताल यसको पहुँचमा हुनुपर्छ भन्ने हो । यसो हुँदा अस्पतालले बिरामी नपाउने तथा उपचार महँगो भन्ने सबै समस्या समाधान हुन्छ ।