‘अर्जुनधारा जलेश्वरधाम’मा यस वर्ष  ‘एक साँझ शिवका माझ’ हुने

‘अर्जुनधारा जलेश्वरधाम’मा यस वर्ष  ‘एक साँझ शिवका माझ’ हुने

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १३, २०७७

झापा । पूर्वको पशुपतिनाथ ‘अर्जुनधारा जलेश्वरधाम’मा यस वर्षको महाशिवरात्रि पर्वका अवसरमा प्रदेश नं १ स्तरीय एकल ताण्डव नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ । यही फागुन २७ गते महाशिवरात्रिका दिन ‘एक साँझ शिवका माझ’ कार्यक्रमअन्तर्गत सो प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः  ५१ हजार,  ३१ हजार र २१ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही  पाँच हजार पुरस्कार प्रदान गरिने धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो ।  उहाँका अनुसार एकल शिव भजन गायन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार क्रमशः ३१ हजार, २१ हजार र  ११ हजार तथा सान्त्वना हुने दुई जनालाई जनही  दुई हजार प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी हुने प्रतियोगीले ताण्डव नृत्यका लागि  एक हजार र शिव भजनका लागि  ५०० शुल्क बुझाउनुपर्ने समितिका कोषाध्यक्ष मनोज जोशीले बताउनुभयो । दुवै प्रतियोगिताको अडिशन ९प्रारम्भिक छनोट० फागुन २५ र २६ गते हुने बताइएको छ । दुवै विधामा ५०/५० जना सहभागी हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

अडिसनबाट अन्तिम १० जनालाई छनोट गरिने तथा तीमध्ये पाँच जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस कार्यक्रम सम्पन्न गर्न कम्तीमा पाँच लाख खर्च हुने कोषाध्यक्ष जोशीले बताउनुभयो । धाममा फागुन २५ गते बिहान ९ बजे यज्ञ समुद्घाटन, २६ गते यज्ञ, पूजा, पाठ, हवन, रुद्राभिषेक, प्रवचन, भजन कीर्तन र २७ गते भक्तजनद्वारा जलेश्वर नाथको पूजा आराधना, जलाभिषेक, तिलक प्रसाद, धार्मिक प्रवचन साथै चार प्रहर पूजा, विशेष रुद्राभिषेक, श्रृङ्गार, आरतीलगायत हुने बताइएको छ ।