अराजकता र अनुशासनहीनतामा मुलुक: अधिकारको खोजीमा कतै कर्तव्य त भुली रहेका छैनौ‌ ?
फाल्गुन १३, २०७७

स्वदेशी बस्तुको आपूर्तिका लागि देशमा उत्पादन नगण्य, ठप्प जस्तै छ । बजार बस्तु खरिद विक्री व्यापार व्यवसाय  ट्रेडिङ्गमा चलेको छ । प्रायः सबै उपभोग्य बस्तु विदेशबाटै खरिद गर्ने  गरिएको छ ।  जस्तै वार्षिक ३२ अर्बको त धान मात्रै खरिद गरिरहेका छौँ । चर्को भाषण र नारा, शिलान्यास देशमा  भइरहन्छन्  । तर त्यस्ता योजना दीर्घकालीन दिगो रुपमा हासिल गर्न दशकौँसम्म  पनि कार्यान्वयनमा हुन सकिरहेको छैन । भएका स्वदेशी उद्योग धन्दाहरू प्राय धराशायी बन्दै गएका छन् ।  

विश्वव्यापीकरण, विश्व बजारी प्रतिस्पर्धामा नेपाली उत्पादनको बजार ज्यादै न्यून हुँदै छ । यद्यपि बजारमा माग बढी भए तापनि, स्वदेशी उत्पादन भन्दा विदेशी उपभोग्य बस्तुमा जनचासो बढ्दो छ ।  देशको ७० प्रतिशत भन्दा बढी आर्थिक भार रेमिटेन्सले चलिरहेको छ  । कूल उत्पादनको ०.६ प्रतिशत मात्र निर्यात गर्दछौँ जो साह्रै नगण्य हो । उद्योग र औद्योगिकीकरण एवं विदेशमा रहेका नेपालीहरू स्वदेश फर्काउन एवं उचित संरक्षण रोजगारी एवं ती नेपालीहरूलाई स्वदेश फर्किसकेपछि उपयुक्त वातावरणमा राखी उनीहरूको सीप, जाँगर ऊर्जा अनुभव एवं मानव पुँजीको परिचालन र व्यवस्थापन के कसरी गर्न सकिन्छ भन्ने विषयमा दीर्घकालीन सोच र योजना एजेन्डा कुनै पार्टी सरकारमा रहेकाहरूसँग नरहेको देखिन्छ । भएका व्यापार व्यवसाय पनि धराशायी  हुँदै गएका छन् । कोरोनाको कहर पछि त अझ बेसी आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रमा अन्यौलता सिर्जित भएको छ । 

अधिकार, अधिकार  त भनियो तर अधिकार र अधिकार बिचमा नै द्वन्द भई रहेको छ । तर देशमा नैतिकता, सिद्धान्त, राजनीति भनेको यस्तो किसिमको हुनु पर्दछ भन्ने 'स्कुल अफ थट'को विकास  हुन सकिरहेको छैन ।  कर्तव्य गरेमा अधिकार मिल्छ वा जिम्मेवारी बोध पनि मानिसको नैतिकता र विवेकमा भर पर्दछ । आज देशमा अधिकारका बारे थुप्रै बहस भए तर नागरिकको कर्तव्य के के हो ? नेपाली नागरिक भई सकेपछि के के कर्तव्य पूरा गर्नु पर्दछ ? देशको नागरिक भई सकेपछि आफ्ना र अरूलाई गर्ने व्यवहार कस्तो हुनु पर्दछ ?  भन्नेबारे खासै चासो र विचार विमर्श र बहस भएको हामी पाउँदैनौँ ।

तसर्थ अधिकारसँगसंगै कर्तव्य के कति भन्नेबारेमा सरल भाषामा, सहज ढंगका व्यवहारिक नागरिकका कर्तव्यबारे पाठ्य पुस्तकमा व्यवहारिक ज्ञान राज्यद्वारा आफ्ना नागरिकमा दिनु वर्तमान तथा भावी पुस्ताको लागि आवश्यक देखिन्छ ।  हामीले बाल आधिकार, महिला आधिकार, मानव अधिकारका बारेमा लेख्यौ बोल्यौ ? अधिकारमा आधारित थुप्रै चेतना मूलक जानकारी मूलक शिक्षा त दिईन रहेछौ । तर कतै अधिकार, अधिकार मात्र भन्दै जाँदा हाम्रा नागरिक कर्तव्य के हो ? बालकको कर्तव्य के हो ? महिलाको कर्तव्य के के हुन ? नागरिकको कर्तव्य के के हुन ? यस विषयमा पनि समाजमा अन्तरक्रिया, बहस, बैठक, छलफल र सूचना जानकारी आदान प्रदान हुनु आवश्यक देखिन्छ । नागरिकको अधिकारसँगै कर्तव्य पनि हुन आउँछ । नागरिकको अधिकार र कर्तव्य बिच समाजमा  शान्ति विकास र समुन्नतीका लागि सन्तुलन हुनका लागि  पनि आवश्यक छ । 

लोकतन्त्रको संरक्षण संस्कृतिको विकासभन्दा त्यसको अपमान गरी रहेछौ । देशमा आज जनसमन्वय, अनुशासन, मर्यादा र आफूले अन्य प्रति गरिने कार्य सम्मान र कर्तव्य निष्ठाको कदरको खाँचो छ । दलको नाममा हुल र भिड तन्त्रको विकास भएको छ । भीडकै आधारमा आफ्नो आफ्नो पार्टीको कार्यकर्ता र समर्थक हो भन्ने भ्रममा कतिपय दलहरू आफ्नो  सफल र सक्षमता भएको अनुभूति गरी रहेछन् ।

लाग्दछ आज भोलि देशमा सिद्धान्त, नैतिकता र इमानदारिताको लागि राजनीति गरिएको होइन, हिजोको हजारौँको सङ्ख्याका सहिदको रगत र बलिदान वा हिजो जनयुद्ध नै नभएको जस्तो सारा बिर्सिए जस्तो नौटङ्की नाटकहरू आज नेताहरू यहाँ 'हामी सडकमा छौ' भनी रहेछन् ।  त्यसो त जोगी हुनका लागि राजनीतिमा लागेको होइन भनी सिधै  नेताहरुले भन्ने गरेका  छन् । 

नेपालमा दलभित्रै प्रजातान्त्रिकता, आवधिक निर्वाचन समयमै हुने, चुनावी प्रक्रियाद्वारा प्रत्येक पार्टीमा नेतृत्व चयन कम्तीमा पाँच पाँच वर्षमा हुने स्थिर प्रजातान्त्रिक पद्धति संस्कार संस्कृतिको विकास ज्यादै न्यून वा  छैन केवल टिको लगाई दिने र सत्ता र शक्ति एक पटक प्राप्त गरेपछि नयाँलाई दिनु पर्छ उमेर भैसकेका पाका नेताले नयाँ पीढीलाई सिकाउने र सत्ता हस्तान्तरण सहज तरिकाले छोड्ने तयार भएको देखिदैन्  । 

नेताहरू आफू नमरुन्जेल अर्कोले नपाउने परिपाटीको विकास हरेक अधिकांश पार्टीमा देखिएको  छ  । यस्तै खालको संस्कार, परिवार घर सङ्घसंस्था चारैतिर यस्तो प्रवृत्ति हाबी छ । स्वतन्त्र र संबैधानिक आयोगहरू भन्दा पनि कुनै कुनै पार्टीको साँठगाँठ र पार्टीको नेता कार्यकर्ताको भर्ती केन्द्र बन्ने र बनाइने पाइएको छ ।  केवल नेपाल र नेपाली हामी एक हौ,  हाम्रा साझा समस्याहरूमा साझा सवालहरूमा एक भई हामी हाम्रा अधिकारको सुनिश्चितता र कर्तव्य बोधमा किन सधैँ हिचकिचाहट हुने गरेको छ ।  

 सडक आन्दोलन, विद्रोहमा सधैँ जीवनभर अलमलिनु पर्ने, ढुलमुले राजनीतिको विकास किन भई रहेछ ?  प्रजातान्त्रिक व्यवस्था आएको पनि ४० वर्ष भई सक्यो यद्यपि  बहुदलीय, व्यवस्थामा किन भ्रष्ट्राचार, नातावाद, चाकडी र चाप्लुसी, नीतिगत भ्रष्ट्राचार, दलगत स्वार्थ भन्दा माथि किन उठ्न नसकेका नेपाली पार्टीहरू, अव जनताले जनतालाई जनताले प्रश्न गर्ने बेला भइसकेकाे छ ।  अस्थिर र अन्योलको राजनीतिक भुमरीमा जकडिएर हाम्रा आर्थिक सामाजिक विभेदहरूलाई कसरी निमिट्यान्न पार्न सक्छौ ? र हाम्रा आर्थिक समृद्धिहरू सपना मात्रै हुने हुन की ? नागरिक समाजले गर्ने आन्दोलनहरू पनि निष्पक्ष, स्वतन्त्र भन्दा पनि पार्टीगत विचारगत गुटबादीता हाबी देखिन्छ । जसले गर्दा नागरिक समाजका आवाजहरू पनि विगतका आन्दोलनहरूमा घनिभूत र जनताद्वारा सुनिएका भए पनि हाल आएर नागरिक समाजमा सक्रियता एकतामा  समेत कमी आएको र अभियन्ताहरूमा पनि खासै उल्लेख्य वृद्धि भएको पाइँदैन । 

देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका उपलब्धिलाई सुरक्षित र सुनिश्चित गर्न थुप्रै आयोग, सङ्घसंस्था परिषद् गठन भएका छन् ।  यद्यपि संस्कार पद्धति सोच, व्यवहार भने दलदलको भागबन्डा, तह पिच्छे हरेक क्षेत्रमा आ-आफ्ना दलका 'दले' हर्को हुकुमी प्राप्ति भने उही तत्कालीन दर बाह्रको भारदारी संस्कार कायम छ । हरेक क्षेत्र र तह संघसंस्थाहरुमा आ‌-आफ्ना पार्टी र त्यसका संघसंगठन व्याप्त छन् । चुनावी प्रक्रियाबा जाने भन्दा एक पटक भई सकेपछि बारबार सोही पदमा बस्न रुचाउने पद लोलुपित संस्कार र कुर्ची बचाउ अभियानमा मात्र पदमा पुगेकाहरूले गर्ने गरेका छन् ।   देशमा  आवधिक निर्वाचन, सुशासन, संस्थागत विकास आर्थिक संवृद्धि भन्दा पनि राजनीतिक घन चक्करमा सदा पिसिँदै र पिल्सिँदै आएको अवस्था छ । जनतामा निराशा, कुण्ठा बढी छ 'जुन जोगी आए पनि कानै चिरेका' भन्ने जस्ता शब्दहरू भन्न  जनता बाध्य छन् ।

तसर्थ अवका दिनमा जनताले जनताद्वारा जनताकालागि गरिने प्रजातान्त्रिक संस्कार नीति निर्माण, आफ्नो घर परिवार र समाजबाटै उदाहरणीय कार्य गर्ने हो कि  जनता र नेता विवेकशील हुन पनि नितान्त आवश्यक छ । वर्तमान अवस्थामा देश निक्कै कठिन मोडमा उभिएको छ । यहाँ थरी थरीका आवाज घन्किएका छन् । कोही राजतन्त्र, कोही ओली तन्त्र,  कोही प्रचण्ड नेपाल, खनाल,  कोही  नयाँ युवा विचार, नयाँ पुस्ता, नयाँ प्रविधि र विकास बुझेको । बास्तावमा  आज देशले सही देशभक्त कर्मठ स्वदेशमै उत्पादित नेता खोजी रहेछ न कि विदेशबाट बुझेको सिकेको । आफ्नै नेपाली परम्परा संस्कृति र आफ्नै माटोमा भिजेको नेता खोजी रहेछ । देशलाई उत्पादकत्व बढाउन सक्ने, ऊर्जाशील उद्यमी चाहिएको छ । बेरोजगारहरूलाई रोजगारी दिलाउने स्वदेशी उद्योगहरूको निर्माण र विस्तारमा टेवा पुर्‍याउने नेता चाहिएको छ  । 

 

सही त्याग इमानदार र मेहनती व्यक्ति र पार्टी मात्र रोज्न जरुरी छ । देशलाई चिनेको आपत् विपद् सहयोग समझदार व्यक्ति जसले नजिकबाट नेपाल नेपाली समाज चिनेको बुझेको भिजेको सक्षम ऊर्जाशील राष्ट्रियता अनुशासन र इमान्दारीता बोकेको व्यक्ति पार्टी रोज्न आवश्यक छ ।  आक्षेप र पटाक्षेप, पूर्वाग्रही ढङ्गको गाली गलौजको राजनीतिक संस्कार र आफ्ना विचार र फरक मत सिद्धान्त प्रति आस्था राख्ने प्रति निषेधको प्रतिशोध राजनीति पद्धतिलाई हामी प्रजातन्त्र, लोकतन्त्र र सङ्घीय गणतन्त्रको अभ्यास र परिपाटीको विकास त कतै गरी रहेका छैनौ ?

प्रजातन्त्र त आयो भनियो तर हामीले राजनीतिक संस्कार र परिपाटी भने हिजोको राणाहरूको भन्दा पनि यस आराम र मस्ती  रमाउँदै  त छैनौँ ? सत्तामा पुगेपछि हिजो जनताका लागि गरिएको बाचा, घोषणापत्र,  विकास र अवधारण, सिद्धान्तलाई नै तिलाञ्जलि दिई सत्ता सुखले हिजोका दुःख सबै बिर्सिरहेका छौ ।  सहिदको रगतलाई कुल्चिएर, उनका भावना र सपनाहरूलाई भुलेर आडम्बरी, ढोगी, नौटङ्की र नाटक प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाम मात्रमा फसिरहेका त छैनौ ?  हाम्रा सांस्कृतिक मूल्य मान्यता जीवनशैली परिवर्तनको नाममा विदेशी शक्तिलाई सुम्पिएका त छैनौ ? प्रत्येक नेपालीले आफैले आफैलाई सोध्नु जरुरी छ  । आफैलाई बुझ्ने बेला आएको छ, आफै सचेत बन्ने र निगरानी गर्ने, भएका उपलब्धि र अधिकारको जगेर्ना गर्ने बेला आएको छ, बैलैमा सचेत होऊ ।  

हामीले तीन तहको राज्य प्रणाली सङ्घीय व्यवस्था त बनायौँ । त्यसमा लाग्ने पूर्वाधार र संरचनागत खर्च बजेट राख्यौँ । सुशासन, पूर्वाधार,  सम्बृद्धिका कुरा गर्यौें ? अल्पविकसित मुलुकबाट सन् २०२२ सम्ममा विकासोन्मुख मुलुकमा फड्को मार्ने जमर्को गर्‍यौ ।  तर देशमा विपद् आई पर्दा जहिल्यै विदेशीलाई गुहार गर्नुपर्ने सहयोग लिनु पर्ने, स्वनिर्भर भन्दा परा लम्बी दिन प्रति दिन र पुस्ता पुस्ता सम्म पनि यस्तै अवस्थाबाट गुज्रँदै जानु पर्ने अवस्थाको निर्माण गरिरहेका छौँ  ।  सहयोगको नाममा परा लम्बी संस्कृतिले हाम्रो सार्वभौमिकता, स्वावलम्बी एवं स्वाभिमानमा क्रमशः बाह्य शक्तिको प्रभाव बढ्दै देश उठ्नै नसक्ने दलदलमा क्रमशः भासिँदै जा नलागेको अनुभूत हुन्छ । कतै आफ्नै पार्टी आफ्नै नेताहरूको घुर्की गाली गलौच चरित्र र लम्पसारबादलाई नै प्रजातन्त्र भनि प्रजातन्त्रको धज्जी र खिल्ली उडाएका त  छैनौँ ?

सङ्घीयतामा थुप्रै चुनौतीहरू छन् र चुनौतीसँग अवसरहरु पनि त्यति कै छन् । प्राकृतिक स्रोत साधनाको प्रयोग, प्रदेश क्षेत्र अनुसारका आ- आफ्नै विशेषता, भौगोलिकता, सांस्कृतिक परम्परा, क्षेत्रीय चालचलन काम काज गर्ने तौर तरिका, उत्पादन, उपभोग, गर्ने तरिकामा विविधता हुन सक्छ ।  सङ्घीय प्रणालीमा राज्य सञ्चालनमा खर्च धेरै लाग्ने गर्दछ । सोही अनुसारको योजना बजेट बाँंडफांड, तलब भक्त, मानव स्रोत साधन र वित्तीय व्यवस्थापनमा निक्कै खर्च लाग्ने र हाम्रो जस्तो अल्प विकसित मुलुकमा  विदेशीले चाहेको जस्तो सङ्घीयता त बन्ला तर देशको आवश्यकता अनुरूपको सङ्घीय स्वदेशी हावापानी माटो सुहाउँदो दिगो बन्न सक्ला भन्ने अवस्था हाल सम्मको स्थितिलाई हेर्दा त्यस्तो छनक देखिन् ।
लोकतन्त्रको संरक्षण संस्कृतिको विकासभन्दा त्यसको अपमान गरी रहेछौ । देशमा आज जनसमन्वय, अनुशासन, मर्यादा र आफूले अन्य प्रति गरिने कार्य सम्मान र कर्तव्य निष्ठाको कदरको खाँचो छ । दलको नाममा हुल र भिड तन्त्रको विकास भएको छ । भीडकै आधारमा आफ्नो आफ्नो पार्टीको कार्यकर्ता र समर्थक हो भन्ने भ्रममा कतिपय दलहरू आफ्नो  सफल र सक्षमता भएको अनुभूति गरी रहेछन् ।

समयसँगै खराव कुतसित विचार राख्ने दल र दलका नेता तथा तीनका कार्यकर्ताहरू राज्य सञ्चालन, संरचना र नीतिगत तहमा हाबी हुन नसक्ने परिस्थिति र अवस्था सिर्जना नभएसम्म नेपालमा, प्रजातन्त्र लोकतन्त्र, सङ्घीयताको दिगो विकास हुन सक्दैन  ल्याउनु पर्नेछ । हामी जुन ठाउँ जहाँ छौ त्यहीबाट देश, राष्ट्र राष्ट्रिय प्रजातन्त्र, लोकतन्त्रलाई सहयोग पुर्‍याउनु आवश्यक छ । तसर्थ, अव बेलैमा सचेत भएर नेताले जनता र जनताले नेता बुझ्ने र चिन्ने बेला आएको छ । बेलैमा सचेत र जागरूक हुन नसके पछुताउनु बाहेक केही छैन र भएका उपलब्धीहरु पनि गुम्ने हुँदा बेलैमा होस पुर्‍याएर प्रजातन्त्र  र लोकतन्त्रको संरक्षण संवर्द्धन  गरी सही पार्टीको र नेता चुन्नु  सक्नु पर्दछ ।

भवतु सर्व मंगलम् ।
अस्तु ।